»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















Press Release
  
नेउवामहासंघ र वर्ल्ड ट्रेड सेन्टर एसोसिएसन बीच अमेरिकामा सहमतीपत्रमा हस्ताक्षर (२०६७/९/२९)
 2011-01-13 01:12:55
  
नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिका स्थित वर्ल्ड ट्रेड सेन्टर एसोसिएसन (World Trade Centre Association), नेपाल र अमेरिका बीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका लागि सहमत भएका छन् । आपसी आर्थिक एवं व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्य सहित दुवै संस्था बीच यही पौष २८ गते अमेरिकाको न्यूयोर्कमा एक सहमतीपत्र (MoU) मा हस्ताक्षर भएको छ । सहमतीपत्रमा महासंघका तर्फबाट अध्यक्ष कुशकुमार जोशीले हस्ताक्षर गर्नुभयो ।

सहमती अनुसार दुवै संस्थाले आगामी दिनमा सहकार्यका सम्भाव्य क्षेत्रको पहिचान सहित लगानी तथा व्यवसाय विस्तारका दिशामा सहकार्य गर्ने छन् । यसका लागि सूचना तथा तथ्यांकको आदान प्रदान, व्यवसायिक भ्रमण, मेला महोत्सवको एकअर्का देशमा आयोजना गर्ने लगायत उल्लेख गरिएको छ । साथै सहमतीपत्रमा अमेरिकामा नेपाली वस्तुहरुको निर्यात सम्भाव्यता एवं वस्तु पहिचानमा पनि सहकार्य गर्ने उल्लेख छ । सहमतीपत्रमा हस्ताक्षर पश्चात कार्यक्रमलाई सम्वोधन गर्नुहुदै महासंघका अध्यक्ष जोशीले एमओयू दुई देश बीच निजीस्तरबाट आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका लागि एक महत्वपूर्ण माध्यम हुने विश्वास प्रकट गर्नुभयो ।

त्यसअघि पौष २६ गते सोमवार महासंघको प्रतिनिधिमण्डल र अमेरिकी व्यापार विभागका पदाधिकारीहरु बीच रोनाल्ड रेगन भवनमा दुई पक्षीय वार्ता सम्पन्न भयो । अमेरिकाका लागि नेपाली राजदुत डा. शंकरप्रसाद शर्माको समुपस्थितिमा भएको वार्तामा अमेरिकी व्यापार विभागका पदाधिकारी, अमेरिकास्थित वर्ल्ड ट्रेड सेन्टर एसोसिएसनका अध्यक्ष जोन डिकसन (John Dickson, President, World Trade Centre Association), एनआरएन-आइसीसी अमेरिकाका सदस्य राजेन्द्र बहादुर श्रेष्ठ र नेपालसंग व्यावसायिक सम्बन्ध भएका अमेरिकी व्यावसायिक समुदायको सहभागिता रहेको थियो ।

वार्तामा नेपालको निजी क्षेत्रबाट दुई देश बीचको आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तारको लागि भएको प्रयासको सराहना गरियो । सो अवसरमा नेपाली राजदुत डा. शर्माले आगामी अप्रिलको अन्तिममा अमेरिकामा द्विपक्षीय व्यावसायिक सम्बन्ध विस्तारका लागि केही कार्यक्रमहरु गर्ने तयारी भइरहेकोले उक्त कार्यक्रमलाई सफल पार्न महासंघबाट सहयोगका लागि आग्रह गर्नु भयो ।

साथै भेटवार्ताका अवसरमा अमेरिकी पदाधिकारीहरुले नेपाल व्यापार रणनीति २०१० (Nepal Trade Integration Strategy-NTIS-2010) अन्तरगत पहिचान गरिएका प्रमुख निर्यातयोग्य वस्तुहरुको प्रतिनिधित्व हुने गरि छिट्टै नेपालबाट अर्को व्यवसायिक भ्रमणका लागि आग्रह गर्नुभयो । एनटीआइएस-२०१० अन्तरगत औद्योगिक उत्पादन र कृषि उत्पादन गरि जम्मा १९ वटा वस्तु तथा सेवाहरु प्रमुख निर्यातयोग्य वस्तुका रुपमा सूचीकृत गरिएको छ ।

भ्रमणका क्रममा महासंघको प्रतिनिधिमण्डलले अमेरिकाको वालटिमोरमा प्रि्रन्टिङ, प्याकेजिङ, काठजन्य उद्योगहरुको निरीक्षण समेत गरेको थियो । त्यसैगरि भ्रमणका क्रममा प्रतिनिधिमण्डलले नेपाली राजदुतावासमा नेपाली राजदुत डा. शंकरप्रसाद शर्मासग भेटगरि नेपाल अमेरिका बीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार सम्भाव्यता विषयमा छलफल गर्žयो ।

स्मरणीय छ-नेपाल अमेरिका बीचको आर्थिक व्यवसायिक एवं लगानी विस्तारको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले महासंघ र अमेरिकास्थित नेपाली राजदुतावासको आयोजना तथा एनआरएन अमेरिकाको व्यवस्थापनमा महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा महासंघको छ सदस्यीय प्रतिनिधिमण्डल साताव्यापी भ्रमणका क्रममा अहिले अमेरिकामा रहेको छ । भ्रमणदलका सदस्यहरुमा महासंघको कार्यकारिणी समितिका सदस्यहरु गुणनिधि तिवारी र अम्मरराज आचार्य, महासंघको सदस्य वाग्लुङ उवासंघका अध्यक्ष वसन्तकुमार श्रेष्ठ र वुटवल उवासंघका अध्यक्ष शंकर श्रेष्ठ तथा महासंघका उपनिर्देशक रतिश बस्न्यात हुनुहुन्छ । पौष २४ देखि प्रारम्भ भएको महासंघको अमेरिकाको व्यावसायिक भ्रमण टोली भोली स्वदेश र्फकने कार्यक्रम छ ।

थप फोटोको लागि कृपया यहाँ क्लिक गर्नु होला ।


 
  
सम्पत्ति शुद्धिकरण निवारण विषय कार्यक्रम सम्पन्न (२०६७/९/२१)
 2011-01-10 11:42:06
  
नेपाल सरकार अर्थ मन्त्रालय, राजश्व प्रशासन तालिम केन्द्र सम्पत्ति शुद्धिकरण निवारण समन्वय समितिद्वारा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा सम्पत्ति शुद्धिकरण निवारणका विषयमा हिजो महासंघ सचिवालयमा आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा अर्थमन्त्रालयका सहसचिव टंकमणि शर्माले सम्पत्ति शुद्धिकरण निवारणको सैद्धान्तिक अवधारणा र अन्तराष्ट्रिय मापदण्डहरु, नेपाल राष्ट्र बैंक वित्तिय सूचना इकाइका धर्मराज सापकोटाले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा वित्तिय जानकारी, इकाई र यसका गतिविधिहरु र राजश्व अनुसन्धान विभागका महानिर्देशक महेशप्रसाद दहालले सम्पत्ति शुद्धिकरण निवारण ऐन/नियमका प्रावधानहरु र विभागबाट भएका प्रयासहरुका विषयमा कार्यपत्र मार्फत विस्तृत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सभापतिको आशनबाट अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि वांस्कोटाले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै सम्पत्ति शुद्धिकरण निवारण गर्ने अर्थमन्त्रालयको अभियानमा निजी क्षेत्रका महासंघ जस्ता संस्थाहरुबाट पूर्ण सहयोग हुने विश्वास प्रकट गर्दै यस प्रकारको अभिमुखीकरण कार्यक्रमलाई विस्तार गर्दै लैजाने र सम्पत्ति शुद्धिकरणका सम्बन्धमा अन्तराष्ट्रिय प्रतिवद्धताहरुलाई छिट्टै अनुमोदन गर्ने तयारी भैरहेको जानकारी गराउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले सम्पत्ति शुद्धिकरण व्यवस्था लागु हुनु भन्दा पहिलेदेखिनै विधिको शासन, भ्रष्टाचारको नियन्त्रण, स्वच्छ र स्वस्थ व्यवसायको प्रवर्द्धन भएको भए आज मुलुक यस्तो अवस्थामा नपुग्ने बताउंदै यस्ता ऐनको व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन भएमा शान्ति सुरक्षा सुदृढ हुने तथा लगानी आर्कषण एवं अन्तराष्ट्रिय रुपमा नेपालको साख जोगाईराख्न सकिने विश्वास प्रकट गर्नुभयो । अध्यक्ष जोशीले आपराधिक कृयाकलाप नियन्त्रण गर्न समेत उपयोगी हुने यस्तो ऐनका प्रावधानहरु लागु गर्नुपर्ने कुरामा महासंघको दृढ समर्थन रहेको जनाउनु भयो । साथै अध्यक्ष जोशीले सरकारले लागू गर्ने ऐन कानून स्वच्छ र पारदर्शी बनाउन आग्रह गर्दै यसलाई तर्साउने धम्काउने औजारको रुपमा प्रयोग नगर्न पनि आग्रह गर्नुभयो ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारले अर्काको दवाव र लहैलहैमा भन्दा पनि यस्ता ऐन कानूनका विषयमा जनमानसमा पर्याप्त प्रचार प्रसार गरेर मात्र लागू गर्न सुझाव दिनुभयो । त्यसअघि कार्यक्रमको प्रारम्भमा राजश्व प्रशासन तालीम केन्द्रका प्रमुख राजेन्द्र प्रसाद नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।

सो कार्यक्रममा सहभागी उद्यमी व्यवसायीहरुले सम्पत्ति शुद्धिकरण निवारण ऐनमा बेनामी उजुरीको आधारमा कारवाही अगाडि बढाउंदा विना आधारमा निरअपराध व्यक्तिले समेत अनावश्यक झंन्झट व्यहोर्नुपर्ने भएकोले कम्तिमा पनि उजुरीकर्ताले पूर्ण विवरण खुलाउनु पर्ने, उजुरीकर्ताको नाम गोप्य राख्न सकिने व्यवस्था हुनु पर्ने, अनुसंन्धान गर्ने व्यक्तिलाई अत्यन्तै बढि अधिकार भएकाले अनुसंन्धान गर्ने व्यक्तिले बद्नियत ढंगले कारवाही अगाडि बढाएको देखिएमा कसुरदारलाई हुने सजायभन्दा दोब्बर सजाय हुने व्यवस्था हुनु पर्ने, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण सम्बन्धि व्यवस्था फरक फरक देखिएकोले सम्पत्ति शुद्धिकरण सम्बन्धी छुट्टै विभागको स्थापना हुनु पर्ने, यस सम्बन्धमा छलफल अन्तरक्रिया एवं जनचेतनामुलक कार्यक्रम मुलुकभर चलाउनु पर्ने लगायतका सुझावहरु राख्नु भएको थियो ।


 
  
दीपेन्द्र खत्री महासंघको कार्यकारिणी समितिमा सदस्यमा मनोनित (२०६७/९/१६)
 2010-12-31 06:43:54
  
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले महासंघको विधानको दफा ६७ (ख) १ को प्रावधान अनुसार महासंघको कार्यकारिणी समिति सदस्यमा मध्यपश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका सभापति एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र कुमार खत्रीलाई पौष १५ गते मनोनित गर्नु भयो ।

महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णिकार एवं कार्यकारिणी समितिका सदस्यहरुको उपस्थितिमा अध्यक्ष जोशीले श्री खत्रीलाई महासंघको कार्यकारिणी समिति सदस्य पदको सपथ गराउनु भयो । श्री खत्री सहित अव महासंघको का.स. सदस्य संख्या ६९ पुगेको छ । महासंघको विधान अनुसार क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्षलाई महासंघको कार्यकारिणी समिति सदस्यमा मनोनित गर्ने प्रावधान छ ।


 
  
सिण्डिकेट लागू गर्ने माथि कारवाही गर - नेउवामहासंघ (२०६७/९/७)
 2010-12-22 12:34:49
  
सरकारबाट कानूनी रुपमै ढुवानीमा सिण्डिकेट प्रथा खारेज भई सकेको तथा नेपाल सरकारको आर्थिक वर्ष २०६६/०६७ र चालु आव २०६७/०६८ को वाषिर्क बजेटमा समेत स्पष्ट उल्लेख गरिएको आलोपालो प्रथा (सिण्डिकेट प्रणाली) लाई ढुवानी व्यवसायीका संस्थाहरुले पूर्वदेखि सुदुरपश्चिमबाट पुन शुरु गरेको भन्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

ढुवानी सेवामा आलोपालो प्रथा लगाई उद्यमी व्यवसायीहरुलाई स्वतन्त्र रुपमा आफनो मालसामान ढुवानी गर्न नदिई जवरजस्ती आलोपालोमा लाग्न बाध्य पार्ने, रकम लिई काटा तौल गराउने, संघको पर्चा काटेर मात्र ढुवानीका साधनहरु चलाउन बाध्य पार्ने, व्यवसायीहरुलाई आलोपालो पद्धतिमा लाग्न माइकिङ तथा समाचारका माध्यमहरुबाट धम्क्याउने जस्ता गैर कानूनी कार्य भैरहेको प्रति यस महासंघ चिन्तित भएको छ ।

विगतमा पनि यसै व्यवसायसंग सम्बन्धित व्यवसायीहरुले विभिन्न नाउमा गैरकानूनी रुपमा सिण्डिकेट प्रणाली लागू गर्दा निजी क्षेत्र चरणवद्ध आन्दोलनमा उत्रनु परेको, तत्तपश्चात तीन महिना लामो संर्घष पछि गृह मन्त्रालय र सम्माननीय सर्वोच्च अदालतबाट उक्त गैर कानूनी कार्य रोक्न आदेश भएको स्मरण गर्दै आम उपभोक्ता विरोधी यस्ता प्रणालीको पुनरावृत्ती गर्ने सो प्रयासको महासंघ निन्दा एवं भत्र्सना गर्दछ ।

सार्वजनिक परिवहन साधन प्रतिस्पर्धाको आधारमानै चल्नु/चलाउनु पर्ने प्रचलित कानूनी व्यवस्था विपरित ट्रक तथा ट्यांकर व्यवसायीहरुका संघ, महासंघहरुले चक्र प्रणाली, क्यू प्रणाली, डायल प्रणाली वा आलोपालो प्रणाली चलाई आएकोले व्यवसायको प्रतिस्पर्धात्मक क्षमतामा प्रतिकूल असर पुर्žयाएको निजी क्षेत्रको ठहर छ । मुलुकको आर्थिक अवस्था अत्यन्त संकट तर्फउन्मुख भैरहेको र मुल्यवृद्धि उच्चहुंदा जनताको दैनिक जीवनयापननै निकै कष्टकर बन्दै गएको अवस्थामा प्रतिस्पर्धा विरोधी यस्ता गैरकानूनी अवरोधहरुले थप मुल्य वृद्धिको चपेटामा जनताहरु पर्ने पक्का छ ।

यर्सथ, सिण्डिकेटका कारण उत्पन्न समस्याका विषयमा निजी क्षेत्रबाट माननीय अर्थमन्त्री तथा सम्बन्धित पदाधिकारीहरुसंग वारम्वार अनुरोध गर्दा प्राप्त आश्वासन एवं सरकारले वाषिर्क वजेट २०६७/०६८ मा कानून विपरित सिण्डिकेट लागू गर्ने कुनै पनि संघ/संस्थाको दर्ता खारेजसम्मको कारवाही गर्ने सम्बन्धमा घोषित प्रतिवद्धतालाई व्यवहारमा लागू गर्न आग्रह गर्दै कानून विपरितका कार्यमा संलग्न जो सुकैलाई पनि कानूनको दायरामा ल्याई कारवाही गर्न महासंघ नेपाल सरकार समक्ष गम्भीर आग्रह गर्दछ ।


 
  
नेपाल र श्रीलंकाली व्यवसायी बीच महासंघमा छलफल - दुई देश बीच सिधा हवाई सम्पर्क विस्तारमा जोड (२०६७/९/२)
 2010-12-18 07:57:48
  
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी र काठमाडौंमा संचालित दशौं सार्क मेलामा सहभागी हुन आएका श्रीलंकाली व्यवसायीहरु बीच महासंघ सचिवालयमा द्विपक्षीय व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनका विषयमा विस्तृत छलफल भयो । छलफलको दौरानमा नेपाल र श्रीलंका बीच आर्थिक तथा व्यापारिक सम्बन्ध अभिवृद्धि गर्न दुई देशबीच सिधा हवाई सम्पर्क हुनु पर्ने कुरामा जोड दिइयो ।

महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेको पनि सहभागिता रहेको सो छलफल कार्यक्रममा श्रीलंकाली व्यवसायिक प्रतिनिधिमण्डलको स्वागत गर्नु हुंदै महासंघका अध्यक्ष कुशकुमार जोशीले महासंघ र श्रीलंकाली निजी क्षेत्रबीच विगतमा भएका सहकार्यहरुको स्मरण गर्दै दुई देश बीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ सुदृढ पार्नु पर्ने विचार व्यक्त गर्नु भयो ।

उहांले सार्क राष्ट्रका अन्य मुलुकहरुसंग नेपालको सिधा हवाई सम्पर्क रहेको बताउंदै नेपाल र श्रीलंका बीच पनि व्यापार र लगानी अभिवृद्धि गर्न सिधा हवाई सम्पर्क स्थापना हुनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष जोशीले श्रीलंकाले साना तथा मझौला उद्योगहरुको विकास तथा प्रवर्द्धन र द्वन्द्ध एवं संक्रमणकालको समयमा समेत हासिल गरेको आर्थिक विकासको अनुभव नेपालका लागि पनि उपयोगी हुने बताउनु भयो ।

अध्यक्ष जोशीले नेपाल र श्रीलंकाली उद्यमी व्यवसायीहरु बीच बहुमूल्य पत्थर तथा रत्न प्रशोधन, पर्यटन प्रवर्द्धन, जडिबुटी प्रशोधन जस्ता क्षेत्रहरुमा सहकार्य हुन सक्ने प्रबल संभावना रहेको बताउदै श्रीलंकाली प्रतिनिधिमण्डललाई यस क्षेत्रमा लगानी गर्न आह्वान समेत गर्नु भयो ।

श्रीलंकाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएका नेपालका लागि श्रीलंकाली राजदूत खोसापाला हेवागे (Khosapala Hewage) ले नेपालसंगको आर्थिक तथा व्यवसायिक सम्बन्ध बढाउन श्रीलंकाली निजी क्षेत्र इच्छुक रहेको बताउदै दुई देशबीच सिधा हवाई सम्बन्ध स्थापना गर्न आफू तल्लिन रहेको र निकट भविष्यमा नै यस सम्बन्धमा सफलता मिल्ने विश्वास दिलाउनु भयो ।

राजदूत हेवागेले परापूर्वकालदेखि धर्म र संस्कृतिमा आधारित रहेको नेपाल र श्रीलंकाबीचको सम्बन्ध आर्थिक तथा व्यापारिक रुपमा अझ सुदृढ गर्नु पर्नेमा जोड दिदै पर्यटन प्रवर्द्धनको क्षेत्रमा सहकार्य गर्नु पर्ने धारणा राख्नु भयो ।

सो अवसरमा नेपाल र श्रीलंकाका पर्यटन, जडिबुटी, चिया, इलेक्ट्रोनिक क्षेत्रसंग सम्बन्धित व्यवसायीहरुबीच आपसी सम्बन्ध विस्तारका विषयमा समेत छलफल भएको थियो । सो छलफल कार्यक्रममा दुवै देशका व्यवसायीहरुको सहभागिता रहेको थियो ।


 
 
 
46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 
 
 



 © Copyright 2005-2013. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.
Designed and Maintained by Yomari