»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















Press Release
  
आ.व. २०६७।०६८ को बजेटमाथि नेपाल उद्योग वाणिज्य महासंघको धारणा (२०६७/८/८)
 2010-11-25 12:25:09
  
नेपाल सरकारबाट आर्थिक वर्ष २०६७/०६८ को वाषिर्क बजेट अध्यायदेश मार्फत यही मंसिर ४ गते ल्याइएको छ । सरकारको वाषिर्क बजेटका सम्बन्धमा निजी क्षेत्रको संघीय संस्था नेपाल उद्योग वाणिज्य महासंघको धारणा यस प्रकार छः

१. आ.व. को एक चौथाई समय सकिई सकेपछि, त्यो पनि अध्यादेशबाट र नीति/कार्यक्रमको प्रस्तुति विना आएको बजेटबाट धेरै आशा गर्नु र उत्साहित हुनु पर्ने कारणहरु छैनन् । बजेट नै नआउला र सरकारको सञ्चालनमै अवरोध आउला भन्ने डर रहेको बेला बजेट आउनुलाई सकारात्मक मान्ने हो भने यस घटना क्रमलाई सकारात्मकनै मान्नु पर्दछ ।

२. बजेट वक्तव्यमा उल्लेख भएका पू्र्वाधार निर्माणमा जोड, जलाशययुक्त आयोजनाको निर्माण, भूमिको वर्गिकरण, व्यापार घाटा कम गर्ने आयात प्रतिस्थापन र अर्थतन्त्रलाई औद्योगिकीकरण तर्फ लैजाने जस्ता कतिपय सकारात्मक कुराहरु छन् । उल्लेख भएका नीति एवं घोषणा समयमानै पुरा भएमा निश्चयनै नेपालको द्रुततर प्रगति सम्भव हुनेछ ।

३. आगामी दिनहरुमा बजेट पेश गर्ने समय आ.व. को कुनै निश्चित दिन तोक्ने कानूनी व्यवस्था ल्याउने प्रस्ताव स्वागत योग्य छ । महासंघले नीति र कार्यक्रम सहित पूर्ण बजेटको माग गर्दै आएकोमा छुट्टै नीति र कार्यक्रम नआए पनि पूर्ण आकारसम्मको बजेट आएको छ । बजेट पूर्ण रुपमा कार्यान्वयन होस् भन्ने हाम्रो भनाई हो ।

४. महासंघले जनता एवं उद्योग प्रतिष्ठान र उद्यमी व्यवसायीको सुरक्षाको राम्रो प्रत्याभूति हुने गरी बजेटको विनियोजन हुनु पर्ने धारणा राख्दै आएकोमा ठूला र धेरै रोजगारी दिने प्रतिष्ठानमा प्रहरी वीट राख्नेसम्मको बाचा बजेट वक्तव्यमा गरिएको छ । निजी क्षेत्रबाट महासंघले वर्षौदेखि उठाउदै आएको औद्योगिक सुरक्षा वलका विषयमा बजेट मौन देखिनु दुःखद छ ।

५. निर्यातको प्रोत्साहनका लागि माग गर्दै आएकोमा धेरै मुल्यअभिवृद्धि भएका वस्तुको निर्यातका लागि नगद अनुदान दिने जस्ता कार्यक्रम स्वागतयोग्य छन् । कार्यान्यवनमा सुनिश्चितता हुनुपर्छ । सेवा उद्योग र अन्य निर्यातमुलक उद्योगहरुलाई पनि यो सुविधा दिन आवश्यक छ ।

६. बजेट वक्तव्यमा पूर्वाधारलाई निकै महत्व दिन खोजेको देखिन्छ । यो निश्चयनै सकारात्मक पक्ष हो । धेरै जसो पूर्वाधारका परियोजनाको कार्यान्वयनलाई धेरै समय लाग्ने भएकोले यसको अर्थतन्त्रमा असर थाहा पाउन पनि समय लाग्ने छ । तर पूर्वाधारको निर्माण सुरु भएमा अर्थतन्त्र र आर्थिक क्रियाकलापमा सकारात्मक असर पर्नेछ ।

७. कफि, चिया, मह प्रशोधन केन्द्रको विकास र विस्तारमा लाग्ने मेशिनको खरीदमा भन्सार छुटको व्यवस्था सकारात्मक छ । सहुलियत ऋण, रासायनिक मलमा अनुदान बृद्धि, कृषि उत्पादनमा जोड, कृषि औजारको आयातमा अनुदानको व्यवस्था, व्यावसायिक कृषि खेती र पशुपालनमा सुविधा, कृषि सामग्री, मल, बीऊ तथा उपकरण खरीदमा सहुलियत दिने व्यवस्थाले अन्ततः कृषि क्षेत्रको उत्पादकत्व बढाउने आशा गर्न सकिन्छ ।

८. यस वर्षको बजेटले नेपाल पर्यटन वर्ष २०११ लाई सहयोग गर्न खोजेको छ । MICE Tourism का लागि १०० भन्दा बढीको संख्यामा विदेशी पर्यटक ल्याएमा रु. ५ लाख अनुदान दिने व्यवस्था सकारात्मक छ । जनकपुर, लुम्बिनी र काठमाडौं (पर्यटकीय क्षेत्र) मा ५ तारे होटल खोल्नेलाई प्रोत्साहन गर्ने Package लाई पनि हामीले सकारात्मक रुपमा लिएका छौं ।

९. साना जलविद्युत योजनाको लागि अनुदान दिइने उल्लेख छ । यस व्यवस्थाले जलविद्युतको क्षेत्रको विकासले केही गति लिने आशा गर्न सकिन्छ । तर जलविद्युतको विकास हुने र नेपालमा विद्युत लोडसेडिङ कटौती हुने प्रष्ट प्रत्याभूति अझै हुन सकेको छैन ।

१०. पूर्वाधार विकासको लागि पूर्वाधार विकास बैंकको स्थापनाका लागि निजी क्षेत्रसंग सहकार्य गर्ने राम्रो पक्षको रुपमा लिएका छौं । भंसार दरका तहहरु ७ वाट ६ तहमा ल्याएको सकारात्मक भएपनि वस्तुहरु समायोजनको प्रक्रिया वैज्ञादिन देखिएन ।

११. महासंघले माग गर्दै आएको जनतालाई प्रत्यक्ष आर्थिक भारथोपर्ने सिण्डिकेट, कार्टेलिङ जस्ता गैर कानूनी कार्यहरुलाई निस्तेज गर्नुपर्ने लगायत महासंघले दिएका कतिपय सुझावलाई संवोधन गरिएकोमा स्वागत गर्दै गरिएका घोषणाहरु यथाशीघ्र कार्यान्वयन हुन आग्रह समेत गर्दछ ।


 
  
मेलवर्न अष्ट्रेलियामा नेपाली प्रदर्शनी सम्पन्न (२०६७/८/५)
 2010-11-21 12:47:18
  
नेपाल अष्ट्रेलिया दौत्य सम्बन्ध स्थापनाको पचासौं वर्षको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको पहलमा अष्ट्रेलियाको मेलवर्नमा नेपाल फेष्टिवल-२०१० सम्पन्न भयो । महासंघ, गैरआवासीय नेपाली संघ-अष्ट्रेलिया, नेपाली राजदुतावास अष्ट्रेलिया र नेपाली कन्सुलेट अफिस मेलवर्नको संयुक्त पहलमा मंसिर ३-४ गते आयोजित उक्त महोत्सवमा नेपाली कम्पनीहरुले भाग लिएका थिए ।

महोत्सवमा महासंघको मेला तथा प्रदर्शनी समितिका सभापति एजी शेर्पाको नेतृत्वमा ५ वटा कम्पनीहरुले हस्तकलाका सामग्री (गरगहना) पश्मिना, तयारी पोशाक, अर्गानिक कफी लगायतका उत्पादनहरुको प्रदर्शनी गरेका थिए । कार्यक्रममा महासंघको मेला समितिका सभापति शेर्पालाई सम्मान समेत गरिएको थियो भने सो अवसरमा नेपाली खाना महोत्सव एवं नेपाली कलाकारहरुबाट नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

महोत्सवको पहिलो दिन आयोजित औपचारिक समारोहलाई अष्ट्रेलियाका लागि नेपाली राजदुत योगेन्द्र ढकाल, भिक्टोरियन मल्टीकल्चरल कमिसन मेलवर्नका कमिसनार मेलवर्नका इलिनी वेरिडेड स्यामुल (Elleeni Bereded-Samuel, VMC Commissioner), मेलवर्न अष्ट्रेलियाका एनआरएन अध्यक्ष ध्रुव सुवेदी, एनआरएन भिक्टोरियाका वम योन्जन, भिक्टोरियाका लागि नेपाली वाणिज्यदुत चन्द्र योन्जन लगायतले नेपाल अष्ट्रेलिया बीचको दौत्य सम्बन्ध, आर्थिक तथा व्यापारिक सम्बन्धका विषयमा चर्चा गर्दै दुई देश बीचको व्यापार विस्तारमा नेपाली महोत्सव महत्वपूर्ण रहने विश्वास प्रकट गर्नुभयो ।


 
  
मंसिरको पहिलो साता पोखरा राष्ट्रिय औद्योगिक व्यापार मेला-२०६७ (२०६७/७/३०)
 2010-11-17 12:59:14
  
सो सम्बन्धमा जानकारी गराउने उद्देश्यले आज नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । पत्रकार सम्मेलनलाई सम्वोधन गर्नुहुदै महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले क्षेत्रीय राष्ट्रियरुपमा आयोजित मेला महोत्सवबाट स्थानीय आर्थिक गतिविधि विस्तारमा सहयोग गर्ने, नयाँ वस्तुको पहिचान गर्ने, स्थानीय जनतालाई आर्थिक गतिविधिको मूल प्रवाहमा समाहित गर्ने र पर्यटन प्रवर्द्धनमा समेत विशेष सहयोग गर्ने हुदा महासंघले नेपाल सरकार समेतको सहयोगमा आफना सदस्यहरुलाई सक्रिय सहभागी गराई मेला महोत्सवको आयोजनालाई विशेष प्राथमिकता दिएको र यस वर्ष करिव तीन दर्जन जति मेला महोत्सव मुलुकभर आयोजना हुने जानकारी गराउनु भयो ।

महासंघको मेला आयोजक समितिका संयोजक एवं महासंको मेला तथा प्रदर्शनी समितिका सभापति एजी शेर्पाले महासंघले आफना सदस्यहरुलाई सक्रिय रुपमा संलग्न गराई आयोजना गर्दै आएको मेला महोत्सव स्थानीय आर्थिक विकास र भौतिक पूर्वाधार निर्माण तथा जनताका आयस्तर बढाउने महत्वपूर्ण माध्यम भएको वताउनु भयो ।

मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला तथा प्रदर्शनी समितिका सभापति एजी शेर्पा अध्यक्ष रहेको मूल समारोह समिति र पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णमोहन श्रेष्ठको अध्यक्षतामा संघका सम्पूर्ण पूर्व अध्यक्षहरु सल्लाहकारमा रहने गरी २८ सदस्यीय कार्य सम्पादन समिति एवं १६ वटा विभिन्न उपसमिति मार्फत मेलालाई सफलता पूर्वक सम्पन्न गर्न निरन्तर कार्य भैरहेको जानकारी पत्रकार सम्मेलनमा पोखरा उवासंघका अध्यक्ष कृष्णमोहन श्रेष्ठ गराउनु भयो ।

पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने उद्देश्यले मेलाको आयोजना गरिएको जानकारी पत्रकार सम्मेलनमा गराइयो । संघले पोखराका अग्रणी संस्थाको दायित्व पूरा गर्नकै लागि राष्ट्रिय औद्योगिक ब्यापार मेला-२०६७ को मूल नारा "पोखरा प्रवर्द्धनः हाम्रो दायित्व" भन्ने तय गरेको र यो पटकको मेलामा पोखराको उत्पादन तथा सेवाहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान दिलाउन 'पोखरा मण्डप' समावेश समेत गरिने भएको छ । पोखरा मण्डपमा पोखरामा उत्पादित बस्तुहरु प्रदर्शनीको साथै ति बस्तुहरुको बारे जानकारी प्रदान गरिने ब्यवस्था समेत गरिने छ ।

राष्ट्रिय औद्योगिक व्यापार मेला २०६७ पोखराको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री वितरण रहेका छन् साथै मेलाको थप आकर्षण तर्फ लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, प्रवेश टिकटमा दैनिक रुपले पुरस्कारको व्यवस्था, उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृहको व्यवस्था, बालउद्यान तथा साथमा स्थापित हाँस्य कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिने छन् ।

संघको आयोजनामा विगतका वर्षरुमा आयोजना भएका मेला प्रदर्शनीहरुमा डोम (Hanger) सहितका स्टलहरुको प्रयोग गरिँदै आएकोमा अहिले पनि मेलामा अत्याधुनिक डोम (Hanger) मा निर्मित विशेष प्रकारका स्टलहरु सहित २ सय ७३ वटा स्टल रहने छन् । ती मध्ये डोममा ७८, रेष्टुरेष्ट १३, अटो ४५, पोखरा मण्डपमा ३३, कृषि तथा हस्तकलामा १७, फ्लोरिकल्चरमा ८ र बाँकी साधारण स्टल रहने छन् । मेला २ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । पोखरा सबै मौसमको लागि उपयुक्त पर्यटकिय गन्तब्य हो । झन यो मौसममा र्छलङ्ग खुलेको माछापुच्छ्रे र अन्नपूर्ण र धौलागिरी हिमश्रृंखलाले आन्तरिक पर्यटकहरुलाई मोहित पार्ने विश्वास जारी विज्ञप्तिमा गरिएको छ । संघले यहाका पर्यटनसग सम्बन्धित संघ/संस्थासगको सहकार्यमा मेला अवधिमा पोखरा आउने पर्यटकहरुलाई आवास तथा पदयात्रामा विशेष छुटको ब्यवस्था गर्नका लागि आवश्यक पहल भैरहेको जानकारी समेत गराइएको छ ।

मेलाबाट अनुमानित आम्दानी रु. ८७,७५,०००।०० (अक्षरुपी रु. सतासी लाख पचहत्तर हजार मात्र) मा अनुमानित खर्च रु. ५२,६८,०००।०० (अक्षरुपी रु. बाउन्न लाख अठसठ्ठी हजार मात्र) कटाउँदा रु. ३५,०७,०००।०० (अक्षरुपी रु. पैतिस लाख सात हजार मात्र) बचत हुने अनूमान आयोजकको छ । उक्त बचत रकमबाट पोखरा प्रदर्शनी केन्द्रमा स्थायी रुपमा जडान भएको डोममा जस्तापाताले छाउने लगायत नेपाल सरकारको ५ विकास क्षेत्रमा १/१ वटा क्षेत्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने अवधारण अनुरुप पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरामा निर्माण हुन लागेको क्षेत्रिय स्तरको प्रदर्शनीस्थल पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने जनाइएको छ ।

त्यस्तै मेलाको प्रवेश टिकट दरको हकमा विद्यार्थीहरुको लागि रु २५।०० र अन्य र्सवसाधारणका लागि रु ३५।०० कायम गरिएको छ । टिकट विक्रीबाट प्राप्त रकमबाट विगतका वर्षरुमा पोखरामा दमकल खरिदका लागि प्रति टिकट रु. २।०० छुट्याउने गरिएकोमा यस पटक २।५० पैसा, रु. १।०० बालश्रम न्यूनिकरण कार्यक्रमका लागि र गत वर्षमहेन्द्रपूल स्थित पूरानो काठेपुल भएको ठाउँमा स्थानीय जनसमूदायको पहलमा सेती नदीलाई सहज रुपमा अवलोकन गराई पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले निर्माण हुन लागेको झोलुङ्गे पुल निर्माणका लागि गत वर्षरु. ५० पैसा सहयोग गरिएकोमा यस पटक बढाएर ७५ पैसा सहयोग गरिनेछ । यसैगरी यस पटक नेपाल पत्रकार महासंघको भवन निर्माण सहयोगार्थ पनि प्रति टिकट बिक्रीबाट ७५ पैसा छुट्याउने निर्णय गरिएको यहाँहरुको जानकारीको लागि सत्त निवेदन गर्दछु ।

यस अगाडी नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ लगायत अन्य संघ/संस्थाहरुसंग मिलेर संघको आयोजनामा औद्योगिक व्यापार मेला २०४१ र २०४९, पोखरा महोत्सव २०५२, हस्तकला मेला - २०५३ पुष्प प्रदर्शनी- २०५५, हस्तकला तथा पुष्प मेला-२०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला-२०५९, औद्योगिक व्यापार मेला-२०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा-२०६२, राष्ट्रिय औद्योगिक व्यापार मेला २०६३ , २०६४, २०६५ र २०६६ पोखरा सफलतापूर्वक सम्पन्न भैसकेका छन् ।

पत्रकार सम्मेलनमा महासंघको कार्यकारिणी समितिका सदस्य एवं पोखरा उवासंघका पूर्व अध्यक्ष आजाद श्रेष्ठ र पोखरा उवासंघका प्रथम उपाध्यक्ष विन्दूकुमार थापाको पनि सहभागिता रहेको थियो ।


 
  
महासंघका अध्यक्ष जोशी नैरोवी प्रस्थान (२०६७/८/१)
 2010-11-17 01:03:13
  
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी र उपाध्यक्ष भाष्करराज राजकणिर्कार ग्लोवल पीस फेस्टीवल फाउण्डेशन (Global Peace Festival Foundation) को आयोजनामा यही मंसिर १ देखि ५ गतेसम्म केन्याको राजधानी नैरोवीमा आयोजना हुने विश्व शान्ति सम्मेलन (Global Peace Convention-2010) मा भाग लिन हिजो राती केन्याको राजधानी नैरोवीतर्फप्रस्थान गर्नु भयो ।

ईश्वरको अधिनमा एक परिवारः द्वन्द समाधान, शान्ति र विकास (One Family under God: Conflict Resolution, Peace and Development) मुख्य विषय वस्तु रहेको विश्व सम्मेलनमा महासंघका अध्यक्ष जोशीले नेपालमा शान्ति र विकास सन्दर्भमा निजी क्षेत्रले गरेको पहलका विषयमा विशेष प्रस्तुती गर्नुहुने कार्यक्रम छ । ग्लोवल पीस फेस्टीवल फाउण्डेशनको आव्हानमा महासंघको अगुवाईमा हालै नेपालमा सम्पन्न कार्यक्रमका विषयमा पनि सम्मेलनमा महासंघको प्रतिनिधिमण्डलले प्रस्तुत गर्ने कार्यक्रम छ ।


 
  
बजेट नआउंदा भैरहेको राष्ट्रिय क्षतिमाथि निजी क्षेत्रको धारणा बनाउन आइतवार काठमाडौंमा वृहद कार्यक्रम (२०६७/७/२६)
 2010-11-12 01:23:07
  
अर्थतन्त्रका परिसूचकहरु निरन्तर नकारात्मक हुंदै मुलुकको अर्थतन्त्र धरासायी हुन लागेको तर्फ जिम्मेवार राजनीतिक दलहरुलाई ध्यानाकर्षा गराउंदै बजेट जस्तो अर्थतन्त्रको मुख्य आधारमाथि खेलवाड नगर्न नेपाली निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बारम्बार सजग गराउंदै आएको हो । सिंगो अर्थतन्त्रसंग प्रत्यक्ष गाँसिएको संस्था महासंघका तर्फबाट विनाविलम्व बजेट ल्याउन राजनीतिक दल र नेपाल सरकार समक्ष पटक पटक आग्रह गर्दा समेत समयमा बजेट नआउदा अर्थतन्त्रको संवेदनशीलता माथि खेलवाड हुने काम भएको छ । निजी क्षेत्र यसप्रति अत्यन्त चिन्तित छ । चाडैनै बजेट नआएमा कुनै पनि बेला अर्थतन्त्र धरासायी हुने खतरा छ ।

विगतदेखिनै विभिन्न समयमा राष्ट्रलाईनै गम्भीर अवस्थामा लैजाने गतिविधि संचालन हुंदा महासंघले त्यस्ता गतिविधि रोक्न निरन्तर दवाव दिंदै आएको सम्पूर्ण देशवासीमा अवगतनै छ । यतिखेर बजेट जस्तो राष्ट्रिय अर्थतन्त्रको अस्तित्वसंग गाँसिएको विषयलाई यथोचित ध्यान नदिंदा फेरी राष्ट्रले ठूलो क्षति भोग्नु पर्ने अवस्था आउंदैछ । बजेट नआउंदाका प्रत्यक्ष असर उद्योग संचालन गर्ने उद्यमीदेखि दैनिक काम गरेर आफनो गुजारा चलाउने सामान्य जनतासम्मलाई पर्न गएको छ । बजेट नआउंदा राष्ट्र सेवकले आफूले पाउने तलव सुविधा पाउने छैनन् भने अस्पतालमा भर्ना भएका विरामीहरुले औषधि नपाउने अवस्था आउने छ । विकास निर्माणका कुनै पनि क्रियाकलाप अगाडी बढ्ने छैनन् । यसबाट आम मानिसको दैनिक जीवनयापनमा समेत प्रत्यक्ष असर पर्नेछ । यस्तो संवेदनशील विषयमा सहमती हुन नसक्नु कुनै पनि हालतमा न्याय संगत, तर्क संगत हुदैन भने राष्ट्रिय अन्तराष्ट्रिय रुपमा हाम्रा राजनीतिक दल र तीनका नेताहरुको कार्य क्षमतामा प्रश्न चिन्ह लाग्न जानेछ । यस तर्फसमयमै सचेत हुन महासंघ गम्भीर अपिल गर्दछ ।

मुलुकलाई पूर्ण संकटबाट बचाउन अवको केहि दिनमानै बजेट ल्याउनै पर्छ । बजेट नआउंदा मुलुकको समग्र अर्थतन्त्रमा पर्न गएको गम्भीर असर माथि विभिन्न पेशा व्यवसायमा आवद्ध उद्यमी व्यवसायीहरु तथा अन्य सरोकारवालाहरु बीच व्यापक छलफल गरि निजी क्षेत्रले लिने पहल वारे ठोस निष्कर्षमा पुग्न यही कार्तिक २८ गते आइतवार काठमाडौंमा एक वृहद कार्यक्रमको आयोजना गरिदैछ । साथै उक्त वृहद कार्यक्रममा सक्रिय रुपमा सहभागी भई कार्यक्रमलाई सफल पार्न महासंघ सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछ ।


 
 
 
48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 
 
 



 © Copyright 2005-2013. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.
Designed and Maintained by Yomari