»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















Press Release
  
सार्क यूवा उद्यमी मंचको पहिलो बैठक काठमाडौंमा आयोजना (२०६७/७/२५)
 2010-11-11 10:40:20
  
नेपाल उद्योग वाणिज्य महासंघ, सार्क उद्योग वाणिज्य संघ र नेपाली यूवा उद्यमी मंचद्वारा संयुक्त रुपमा जर्मन संस्था फेडरिक नौमान स्टिफटुङ (Friedrich-Naumann-Stiftung) को सहयोगमा सार्क यूवा उद्यमी मंचको पहिलो बैठक (First SAARC CCI Young Entrepreneurs Forum) आज काठमाडौंमा आयोजना गरियो ।

सार्क क्षेत्रका यूवा उद्यमीहरुको सहभागितामा आयोजना भएको उक्त बैठकलाई सम्वोधन गर्नुहुंदै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले क्षेत्रीय व्यापार प्रवर्द्धनका माध्यमबाट दक्षिण एशियाका जनताको जीवनस्तर उकास्ने सार्क उद्योग वाणिज्य संघको लक्ष्यलाई पुरा गर्न सार्क यूवा उद्यमी मंचको यो बैठक महत्वपूर्ण हुने बताउनु भयो । अध्यक्ष जोशीले मंच यस क्षेत्रका यूवा उद्यमीहरुलाई एकै ठाउँमा भेला गराई क्षेत्रीय व्यापार विस्तार, आपसी चुनौतीको निराकरण गरी यस क्षेत्रको आर्थिक व्यापारिक अवस्थालाई अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धी गराउन समेत सफल हुने विश्वास प्रकट गर्नुभयो ।

सार्क क्षेत्रीय व्यापार अत्यन्त धिमा गतिमा अघि बढेको अहिलेको अवस्थामा क्षेत्रीय व्यापारलाई बढावा दिन, यस क्षेत्रका सम्भाव्यतालाई उजागर गर्न अत्यन्त आवश्यक भैसकेको सन्दर्भमा आयोजित सार्क क्षेत्रका यूवा उद्यमीहरुको यो भेला यस क्षेत्रका समस्या, चुनौतीहरुको निराकरणका उपायहरुको पहिचानमा कोशेढुंगा हुने विश्वास गरिएको छ । एक तथ्यांक अनुसार सन् १९८० मा ३ दशमलव २ प्रतिशत रहेको दक्षिण एशियाको क्षेत्रीय व्यापार सन् २००८ मा ५ दशमलव ५ प्रतिशत मात्र पुगेको छ । व्यापार विस्तारको यो तथ्यांक (NAFTA), यूरोपियन यूनियन (European Union), आशियान (ASEAN) तथा कमसा (Common Market for East South Africa - COMESA) जस्ता क्षेत्रीय व्यापारका तुलनामा अत्यन्त कम हो । यसलाई अभिवृद्धि गर्नु अहिले सार्क क्षेत्रको लागि अत्यन्त चुनौती रहेको छ ।

सार्क यूवा उद्यमी मंच सार्क उवासंघको प्रत्यक्ष पहलमा स्थापना गरिएको सार्क क्षेत्रका यूवा उद्यमीहरुको सामूहिक संस्था हो । यस मंचमा सार्क उवासंघका सदस्य राष्ट्रका उद्योग वाणिज्य संघ महासंघद्वारा प्रवर्द्धित यूवा उद्यमी मंचहरु सदस्य रहने छन् । नेपालबाट महासंघद्वारा प्रवर्द्धित नेपाली यूवा उद्यमी मंच यसको सदस्य रहेको छ ।

सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठले यस क्षेत्रमा विद्यमान गरिवी, अदक्षता, अशिक्षा जस्ता विकासका अवरोधहरुलाई चुनौतीको रुपमा नभई अवसरको रुपमा लिएर अगाडी बढेमा आर्थिक समृद्धि गर्न सकिने धारणा राख्नुभयो । यसका लागि सार्क क्षेत्रका यूवा उद्यमीहरुले एउटा साझा अवधारणा वनाई अगाडी बढ्नु पर्ने उहाँको सुझाव थियो । उहाँले यसका लागि यूवा उद्यमीहरु बीच निरन्तर सम्पर्क विस्तार, साझा एजेण्डाका विषयमा नियमित अन्तरक्रिया, छलफल बैठकका माध्यमबाट एउटा निष्कर्षमा पुगी कार्यान्वयन हुनु पर्ने धारणा राख्नु भयो । अहिलेको यूग यूवाहरुको यूग भएकाले यूवाहरुको एकताबाट नै केही परिवर्तन सम्भव भएकाले सहकार्य र सहयात्रामा जोड दिनु भयो ।

सार्क उवासंघका महासचिव इकवाल तावीस (Iqbal Tabish, Secretary General, SAARC CCI) ले सार्क यूवा उद्यमी मंच सार्क उवासंघको एक रणनीतिक पहल भएको र यस मंचले भविष्यमा यस क्षेत्रका यूवा उद्यमीहरुलाई दक्षिण एशियाका उदियमान व्यवसायिक नेताको रुपमा विकास गर्ने बताउनु भयो ।

अन्तर्राष्ट्रिय श्रम संगठनको सन् २००९ को एक सर्भेक्षण अनुसार सन् २००९ को अन्त्यसम्म दक्षिण एशियामा यूवा वेरोजगारी संख्या १ करोड ५३ लाख रहेको छ । यो तथ्यांक पूर्वी एशिया र दक्षिण पूर्वी एशिया र प्याशिफिक क्षेत्रको तुलनामा निकै बढी हो । पूर्वी एशिया १ करोड २८ लाख, दक्षिण पूर्वी एशिया र प्याशिफिक क्षेत्रमा यूवा वेरोजगारी संख्या ८३ लाख रहेको थियो । यस क्षेत्रका यूवा उद्यमीहरुले यस क्षेत्रको यस प्रकारको चुनौतीलाई बुझेर यस क्षेत्रमा बढी भन्दा बढी रोजगारी सृजना हुने कार्यक्रम ल्याउनु पर्ने टड्कारो आवश्यकता रहेको कार्यक्रममा औल्याइएको थियो ।

यूवाहरु कुनै पनि राष्ट्रको मेरुदण्ड हो । यूवाहरुले राष्ट्रको भविष्यलाई परिवर्तन गर्न सक्ने हुदा सार्क यूवा उद्यमी मंच यस दिशामा सफल हुने विश्वास सो कार्यक्रममा गरियो । यूएनडीपीको एक अध्ययन अनुसार दक्षिण एशियाका यूवा उद्यमीहरुले दक्ष जनशक्ति, आर्थिक श्रोत, मागको असन्तुलन, करका बिभिन्न तहहरु, न्यून मुनाफा, सरकारी नीति नियम, व्यवस्थापन शीप आदिमा बिभिन्न व्यवधानहरु झेल्नु परेको छ भने यस क्षेत्रका यूवा उद्यमीहरुले संसारका अन्य समकक्षी क्षेत्रिय राष्ट्रका यूवा उद्यमीहरुको तुलनामा बढी समस्याहरुको भोग्नु परेको छ ।

बैठक उद्घाटन कार्यक्रममा फेडरिक नौमान स्टिफटुङ क्षेत्रीय निर्देशक सुवोध कुमार (Subodh Kumar, Regional Directro, Friedrich-Naumann-Stiftung) सार्क यूवा उद्यमी मंचका अध्यक्ष साहारुख मल्लिक (Shahrukh Malik, Chairman, SYEF) नेपाली यूवा उद्यमी मंचका अध्यक्ष अनुजकुमार श्रेष्ठले मंचको काठमाडौं बैठक क्षेत्रिय व्यापार विस्तार, लगानी प्रवर्द्धनका माध्यमबाट यस क्षेत्रका जनताको जीवनस्तर उकास्ने सार्क उवासंघको लक्ष्यलाई हासिल गर्ने दिशामा महत्वपूर्ण हुने विश्वास प्रकट गर्नुभयो । साथै उहाँहरुले परिवर्तनका वाहक नै यूवाहरु भएकाले यूवाहरुलाई राष्ट्रको आर्थिक विकासमा अग्रसर हुने वातावरणको निर्माण राज्यले गरिदिएमा यस क्षेत्रमा निकै ठूलो परिवर्तन आउने दावी समेत गर्नुभयो ।

एकदिने सो बैठकमा दुई वटा व्यवसायिक शत्र संचालन हुने ती शत्रमा दक्षिण एशियामा यूवा उद्यमशीलताको अनुभव आदान प्रदान (Youth Entrepreneurship in South Asia: Experience Sharing) र दक्षिण एशियामा यूवा उद्यमशीलताको महत्व (Importance of Youth Entrepreneurship in South Asia) विषयमा कार्यपत्र प्रस्तुत हुने छन् । व्यवसायिक शत्रको क्रमशः सार्क उवासंघका उपाध्यक्ष प्रदिपकुमार श्रेष्ठ र सार्क उवासंघका पूर्व अध्यक्ष पद्म ज्योतिले अध्यक्षता गर्नुहुने छ । व्यवसायिक शत्र पश्चात सार्क यूवा उद्यमी मंचको बन्द शत्र आयोजना हुने छ ।


 
  
राष्ट्रलाई बन्धक नवनाऊ, छिटो बजेट ल्याऊः नेउवामहासंघ (२०६७/७/२४)
 2010-11-10 01:31:58
  
आर्थिक वर्षको ४ महिना वितिसक्दा समेत समयमा पुर्ण बजेट आउन नसकेकोमा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । राज्यको दैनिक गतिविधिसंग प्रत्यक्ष गांसिएको यस्तो संवेदनशील विषयमा कसैले पनि हलो अड्काउने काम गर्न हुंदैन भन्ने धारणा महासंघको छ ।

संविधान सभाको निर्वाचन पछि नियमित समयमा कुनै पनि वर्ष वाषिर्क बजेट नआउनुले नेपालको शासन व्यवस्थाको प्रभावकारिता माथिनै प्रश्न चिन्ह उठन थालेका छन् । यसतर्फ सम्पूर्ण राजनीतिक दलहरुलाई यथाशिघ्र ध्यान दिन महासंघ आग्रह गर्दछ । गणतन्त्रलाई संस्थागत गरी मुलुकलाई समृद्धिको मार्गमा लैजान तीव्ररुपमा आर्थिक क्षेत्रमा सुधारका कार्यक्रम ल्याउनु पर्नेमा सरकारी बजेट समेत समयमा ल्याउन नसक्नुले सरकार, राजनीतिक दलहरु तथा व्यवस्थापिका संसदको कार्य क्षमता माथि गम्भिर प्रश्न चिन्ह लाग्न गएको छ ।

सरकारी बजेटले आर्थिक नीतिको मार्गदर्शन तथा समायोजन मार्फत लगानी विस्तार, दीर्घकालिन आर्थिक विकासको आधार पूर्वाधारको विकास, औद्योगिकरण, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन गर्नु पर्ने हो । बजेट नआउनाले तरलताको संकट, दीर्घकालिन आयोजनाहरुको काममा अवरोध, राजस्व संकलनमा नकारात्मक प्रभाव, ग्रार्हस्थ उत्पादनमा कमि, निर्यातमा तिब्र ह्रास, पूंजीको पलायन, लगानीकर्ताहरुमा निराशालाई वलदिएको छ । साथै सरकारी दैनिक कामकाज, शान्ति सुरक्षा, विकास निर्माण जस्ता आधारभूत आवश्यकतामा समेत गम्भिर संकट आएको छ । राष्ट्र आर्थिक रुपमा संकटग्रस्त भैसकेको तथ्यांकहरु सार्वजनिक हुंदा समेत समयमा बजेट नआउंदा राज्यको अस्तित्वमाथिनै संकट उत्पन्न हुने हो कि भन्ने तर्फ निजी क्षेत्र चिन्तित हुन थालेको छ ।

यसर्थ, यस किसिमको अन्योलता तथा अनिश्चितताको निराकरण गरी तत्काल वजेट ल्याउन सरकार तथा सबै राजनीतिक दलहरुमा महासंघ पुन हार्दिक अपिल गर्दछ तथा आगामी दिनमा जुनसुकै अवस्थामा बजेट आउने मिति निश्चित हुने कानूनी व्यवस्था गर्न समेत महासंघ सम्बन्धित सबैसंग जोडदार माग गर्दछ ।


 
  
नेउवामहासंघद्वारा अमेरिकी राजदुतसंग छलफल आयोजना (२०६७/७/२४)
 2010-11-10 01:11:57
  
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नेपालका लागि अमेरिकी राजदुत स्कट एच. डेलिसी (Scott H. DeLisi, US Ambassador to Nepal) संग आज महासंघ सचिवालयमा नेपाल अमेरिकी सहयोग, नेपालको विद्यमान आर्थिक वस्तुस्थिति लगायतका विविध विषयमा छलफल भयो ।

महासंघका अध्यक्ष कुशकुमार जोशी, निवर्तमान अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष सुरज वैद्य, उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार, भाष्करराज राजकर्णिकार, कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरुको सहभागितामा सम्पन्न उक्त छलफलमा महासंघको तर्फबाट अमेरिकी राजदुतको स्वागत गर्नुहुंदै अध्यक्ष जोशीले नेपालमा लगानी प्रवर्द्धन गर्न र नेपालमा अमेरिकी व्यापारलाई बढावा दिने गरि व्यापार लगानी सम्झौता (Trade and Investment Framework Agreement - TIFA) को प्रतिरुप तयार भैसकेकोले यसलाई मूर्तरुप दिन आग्रह गर्नुभयो ।

साथै बैठकमा अध्यक्ष जोशीले नेपाल र महासंघको अमेरिकी सरकार तथा राजदुतावाससंगको सम्बन्ध ऐतिहासिक रहेको जिकीर गर्नुहुंदै नेपालको कृषि, जलविद्युत, वातावरण लगायतका क्षेत्रमा अमेरिकी लगानी र सहयोगको प्रचुर सम्भावना रहेकाले आर्थिक सम्बन्ध विस्तारका लागि मिलेर काम गर्न राजदुतलाई आग्रह गर्नुभयो ।

संविधान निर्माणमा भएको ढिलाई, सरकार बन्न भएको विलम्व, राजनीतिक पार्टीमा देखिएको खिचातानीका कारण अर्थतन्त्रमा परेको प्रत्यक्षमार, सुशासनको अभाव, बढ्दो व्यापार घाटा, उर्जा अभाव, मजदुर समस्या लगायतका विविध विषयमा सो अवसरमा विस्तृत छलफल भयो । महासंघका पहलहरु वारे प्रस्तुती गर्नुहुंदै महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष सुरज वैद्यले आगामी आठ महिनाभित्र नयाँ संविधान निर्माण नभएमा सृजना हुन सक्ने असहज अवस्था, राजनीतिक अस्थिरता, सुशासनको अभाव, समयमा वजेट आउन नसकेको, व्यापार घाटा निरन्तर बढी रहेको, अर्थतन्त्र निरन्तर ओरालो लागि रहेको, दक्ष जनशक्तिको अभाव जस्ता मुलुकका सामुन्ने निकै ठूला चुनौतीहरु रहेकाले यी चुनौतीहरुबाट सकुशल अगाडी बढाउन राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग सहकार्यको आवश्यकतामा जोड दिनुभयो ।

सो अवसरमा अमेरिकी राजदुत डेलिसिले राजनीतिक अवस्था जे जस्तो रुपमा भएपनि मुलुकको अर्थतन्त्र निरन्तर अगाडी बढ्ने वातावरण निर्माण गर्न सरकार तथा राजनीतिक दलहरुबाट सहयोग हुनु पर्नेमा जोड दिनु भयो । अमेरिकी सरकार तथा अमेरिकी जनताले नेपाल एक शान्त, समृद्ध, निरन्तर आर्थिक प्रगतिको पथमा लम्किरहेको र जनताको प्रत्यक्ष साशन व्यवस्था अंगिकार गरेको राष्ट्रको रुपमा हेर्न चाहेको स्पष्ट पार्दै जनतालाई बढी भन्दा बढी अर्थतन्त्रको मूल प्रवाहमा समाहित गर्ने वर्ग निजी क्षेत्रनै भएकाले निजी क्षेत्रलाई निरन्तर रुपमा काम गर्ने वातावरणमा कहि कतैबाट पनि व्यवधान हुन नहुनेमा जोड दिनु भयो । राजदुत डेलिसीले नेपालको तयारी पोशाक लगायतका वस्तुको अमेरिकी बजारमा निर्यात सुनिश्चितता गर्न प्रतिस्पर्धी क्षमता विकास गर्नु पर्ने सुझाव दिनुभयो । नेपालमा जलुविद्युत, पर्यटन, व्यवसायिक कृषि विकासका क्षेत्रमा संयुक्त लगानीको पर्याप्य सम्भाव्यता भएतापनि हालसम्म ठोस प्रगति हुन नसकेकोले यस्तो सम्भाव्यतालाई यथार्थतामा रुपान्तरण गर्नुपर्ने वेला आएको पनि वताउनु भयो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले अमेरिकी सरकारको सहयोगमा कृषि उद्यम केन्द्र स्थापना भएको र विविध क्षेत्रमा अमेरिकाको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताउनु भयो । बैठकमा तयारी पोशाक, स्थानीय उद्यमशशीलता विकास, शिप अभिवृद्धि, उर्जा विकास वारे वृहद छलफल भएको थियो ।

थप फोटोको लागि कृपया यहाँ क्लिक गर्नु होला ।


 
  
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष गिरीको निधनप्रति शोक प्रस्ताव पारित (२०६७/७/१६)
 2010-11-03 01:24:56
  
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरज वैद्यको सभापतित्वमा आज महासंघमा बसेको शोक सभा महासंघका पूर्व अध्यक्ष पशुपति गिरीको ७८ को वर्षको गत शनिवार निधन भएकोमा नेपालका तमाम निजी क्षेत्रलाई मर्माहत एवं स्तब्ध तुल्याएको महसूस गर्दछ र यो सभा यस दुःखद घडिमा गहिरो दुःख व्यक्त गर्नुका साथै शोक प्रस्ताव पारित गर्दछ ।

आजभन्दा ८७ वर्षअघि औद्योगिक एवं व्यापारिक शहर वीरगंजमा जन्मनु भएका स्व. गिरीले वि.सं. २०२८ देखि ३२ र वि.सं. २०३८ देखि ४४ सम्म दुई पटक नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भई महासंघलाई सबैभन्दा बढीसमयसम्म नेतृत्व प्रदान गर्नुभएको थियो । स्व. गिरीले वि.सं. २०२४ देखि २०२६ सम्म उपाध्यक्षको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । स्व. गिरी वि.सं २०२२ सालमा गठित तत्कालिन नेपाल उद्योग वाणिज्य संघ एडहक कमिटिका सदस्य समेत हुनुहुन्थ्यो ।

नेपाल उद्योग वाणिज्य महासंघलाई राष्ट्रिय अन्तराष्ट्रिय जगतमा विस्तार गर्न स्व. गिरीको महत्वपूर्ण योगदान रहेको छ । स्व. गिरीकै कार्यकालमा महासंघ र बंगलादेश उद्योग वाणिज्य महासंघ बीच पहिलो पटक सन् १९८३ मा आपसी आर्थिक व्यवसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले सहमतीपत्र (MoU) मा हस्ताक्षर भएको थियो । यो नै महासंघको अन्तर्राष्ट्रिय समकक्षी संस्थाहरुसंग भएको पहिलो सम्झौता थियो ।

महासंघको उन्नतीमा निरन्तर लाग्नु भएका स्व. गिरीले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा नेपालको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार तथा महासंघको छवी विस्तारमा ठूलो योगदान दिनु भएको थियो । मुलुकको उद्योग व्यवसायको विकासमा स्व. गिरीले विशेष योगदान पुर्žयाउनु भएको थियो ।

उहांको निधनबाट राष्ट्रले एक पुराना अनुभवी उद्यमी व्यवसायी गुमाउनु परेको छ भने महासंघले आफ्ना अग्रज । यस दुःखद घडिमा यो शोक सभा महासंघ परिवार तथा सम्पूर्ण निजी क्षेत्रको तर्फबाट स्वर्गिय गिरीको शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरसंग प्राथना गर्दछ । शोक सभामा स्वर्गिय आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो ।


 
  
वीरगंजका व्यवसायी क्याल माथिको आक्रमणको महासंघद्वारा भत्र्सना (२०६७/७/१५)
 2010-11-03 01:16:49
  
वीरगंजको मध्य भागमा अवस्थित महावीर स्थान नजिकै रहेको लक्ष्मी इम्पोरियमका संचालक कपडा व्यवसायी गोपी क्याल माथि यही कार्तिक ११ गते सांझ ७:३० बजे उहाँकै पसल नजिक अज्ञात समूहद्वारा गोली प्रहार गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

उद्योगी व्यवसायीका कार्यस्थल, वासस्थान वा उनीहरु आवतजावत गर्ने स्थानहरुमा यस्ता आपराधिक मनसायका गतिविधि संचालन गरेर आतंकित पारी आफनो स्वार्थपूर्ति गर्न खोज्ने गलत तत्वहरुको यस्ता गतिविधिहरुको महासंघ निन्दा एवं भत्र्सना गर्दछ । लामो समयदेखि मुलुकमा राजनीतिक अस्थिरता कायम रहेकाले अपराधीहरुको मनोवल उच्च हुन गई मुलुक कतै आपराधिक गतिविधि संचालन गर्ने सुरक्षित क्रिडास्थल त बन्दैछैन भन्ने शंका उत्पन्न हुंदा महासंघ अत्यन्त चिन्तित भएको छ ।

यसर्थ, आपराधिक मनोवृत्तिका व्यक्ति, समूहका सबै प्रयासलाई निस्तेज गर्ने कार्यमा सरकार, प्रमुख राजनीतिक दल तथा तीनका नेताहरु सहित सम्बन्धित सबैमा गम्भीर आग्रह गर्दै राष्ट्रिय अर्थतन्त्र माथिनै प्रतिकुल असर पार्ने यस्ता क्रियाकलापमा संलग्न जो कोहीलाई पनि चाँडो भन्दा चाँडो कानूनी दायरामा ल्याई शान्ति शुरक्षाको व्यवस्थालाई प्रभावकारी पार्न महासंघ नेपाल सरकार गृह प्रशासन समक्ष जोडदार आग्रह गर्दछ ।


 
 
 
49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 
 
 



 © Copyright 2005-2013. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.
Designed and Maintained by Yomari