»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















Press Release
  
क्यानेडियन व्यवसायीहरुसंग भेटवार्ता सम्पन्न (२०७०/१/२३)
 2013-05-07 01:16:24
  
Canadian Delegation

नेपाल भ्रमणमा आएको क्यानेडियन लगानीकर्ताहरु सम्मिलित उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली उद्यमी व्यवसायीहरु बीच नेपालमा क्यानेडियन लगानी प्रवद्र्धन तथा नेपाल क्यानेडिया आर्थिक सम्बन्ध विस्तारका विषयमा आज महासंघ सचिवालयमा द्विपक्षीय व्यवसायिक भेटवार्ता भयो । वार्तामा नेपालको तर्फबाट महासंघका अध्यक्ष सुरज वैद्य र क्यानेडियन प्रतिनिधिमण्डलको नेतृत्व नेपालका लागि क्यानेडियन राजदूत स्टिवार्ट वेक (H. E. Mr. Stewart Beck - Canadian Ambassador to Nepal) ले गर्नुभएको थियो ।

सोही क्रममा नेपाल र क्यानेडा बीचको व्यवसायिक सम्बन्ध विस्तार गर्न दुवै देशका व्यवसायीहरु सम्मिलित नेपाल—क्यानेडा व्यवसायिक समिति (Nepal-Canada Business Executive Committee) को स्थापना गरिएको छ । सो मंचमा नेपालका तर्फबाट ज्ञानेन्द्रलाल प्रधान, ओमबहादुर राजभण्डारी, चन्द्र प्रसाद ढकाल र रितुसिंह वैद्य हुनुहुन्छ भने क्यानेडाको तर्फबाट इण्डो क्यानेडियन विजनेश चेम्वर (Indo Canadian Business Chamber -ICBC) का प्रमोद राधाकृष्ण (Pramod Radhakrishnan IRD Inc.), डा. एम.पी. राजु (Dr. M.P. Raju, Lea Associates), एलिसा क्रिनेस (Alisa Kreynes, Manitoba Hydro International) हुनुहुन्छ ।

Canadian Delegation

त्यसैगरी सोही अवसरमा नेपाल, भारत र क्यानेडा बीच आर्थिक एवं त्रिपक्षीय एवं वहुपक्षिय सम्बन्ध विस्तारका माध्यमबाट आपसी लाभ उठाउने उद्देश्यले महासंघ र इण्डो क्यानेडियन विजनेश च्याम्वर (Indo Canadian Business Chamber-ICBC) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । इण्डो क्यानेडियन विजनेश च्याम्वर क्यानेडा र भारत बीच आर्थिक प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित मंच हो । महासंघका अध्यक्ष वैद्य र क्यानेडियन राजदूत स्टिवार्ट वेकको समुपस्थितिमा महासंघका महानिर्देशक डा. हेमन्त दवाडी र आइसीवीसीका सिओओ नदिरा हमिद (Nadira Hamid, COO –ICBC) ले हस्ताक्षर गर्नुभयो । सहमती अनुसार आइसीवीसी मार्फत महासंघले नेपाल, भारत र क्यानेडा बीच आर्थिक तथा वहुपक्षिय आर्थिक सम्बन्ध विस्तारमा भरपुर प्रयोग गर्नेछ ।

नेपालका लागि क्यानेडियन राजदूत स्टिवार्ट वेकको नेतृत्वमा आएको क्यानेडियन लगानीकर्ताहरु सम्मिलित उच्चस्तरीय १३ सदस्यीय क्यानेडियन व्यावसायिक प्रतिनिधिमण्डलमा महानगरको यातायात विकास, शहरी डिजाइन तथा विकास, (विशेषगरी अस्पताल, शैक्षिक क्याम्पस, विमानस्थल, वृहद वस्ती विकास, रिजोर्ट तथा होटल निर्माण), जलविद्युत उत्पादन, राजमार्ग ट्राफिक व्यवस्थापन, पूर्वाधार विकास, खानेपानी परियोजनाका लागि आवश्यक उपकरणहरु सप्लाई, इन्धन आपूर्ति गर्ने कम्पनीहरुको प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले नेपालमा लगानीका लागि यो सवैभन्दा उपयुक्त समय भएको बताउंदै लगानीका लागि क्यानेडियन लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष वैद्यले नेपाल क्यानाडा व्यवसायिक समितिको स्थापना र महासंघ र आइसीवीसी बीचको सहमती कोशेढुंगा हुने र नेपालले यसबाट निकै धेरै फाइदा उठाउन सक्ने वताउनु भयो । महासंघको निकै लामो प्रयासको परिणाम स्वरुप सम्पन्न कार्यक्रमलाई निकै ठूलो उपलव्धीको रुपमा लिएको र सोही वमोजिम कार्य गर्न महासंघ प्रतिवद्ध रहेको विश्वास दिलाउनु भयो ।

क्यानेडियन राजदूत स्टिवार्ट वेकले नेपाल—क्यानेडा बीच प्रगाढ सम्बन्ध रहेको र यो सम्बन्धलाई आर्थिक प्रगतिका रुपमा रुपान्तरण गर्न आवश्यक भएको भन्दै उच्चस्तरीय व्यवसायिक भ्रमण दुवै देशका लागि परिणामदायी हुने विश्वास प्रकट गर्नुभयो । यो भ्रमणले लगानीको नयां ढोका खोल्ने आशा पनि व्यक्त गर्नुभयो ।

नेपालको तर्फबाट लगानी वोर्डका प्रमुख कार्यकारि अधिकृत राधेश पन्तले नेपालमा अवसरहरु विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । नेपाल सरकार विदेशी लगानीप्रति प्रतिवद्ध रहेको वताउंदै जलविद्युत र पूर्वाधार विकासमा लगानी भित्रयाउन नेपाल तयार रहेको विश्वास दिलाउनु भयो । त्यसैगरी क्यानेडियन कम्पनीहरु Bombardier, Arcop Associates, Manitoba Hydro, IRD, Lea Associates, Ballard Power / Premiertech का तर्फबाट ती कम्पनीहरुको नेपालमा सहकार्यका सम्भाव्यता विषयमा प्रस्तुती भएको थियो । कार्यक्रममा वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइराला र महासंघको उर्जा विकास फोरमका सभापति ज्ञानेन्द्र लाल प्रधानले पनि वोल्नु भएको थियो ।

महासंघमा उपलव्ध तथ्यांक अनुसार सन् २०१२ को जुलाई अन्तसम्म नेपालमा २५ क्यानेडियन लगानीका उद्योगहरुले स्वीकृत प्राप्त गरेका छन् । ती उद्योगहरु मार्फत नेपालमा रु. २ अर्व १६ करोड ६५ लाख ४० हजार लगानी भित्रिने छ, जसबाट लगभग २ हजार जनाले रोजगारी पाउने छन् । सन् २०११—१२ को तथ्यांक अनुसार नेपालले सो आर्थिक वर्षमा रु. ७८ करोड मुल्य वरावरको सामान क्यानेडा निर्यात गरेको थियो भने रु. ९० करोडको सामान आयात गरेको थियो । बैठकमा आपसी व्यापार बढाउन दुवै पक्षबाट विशेष जोड दिइएको थियो ।

त्यसअघि आज विहान उच्चस्तरीय क्यानेडियन प्रतिनिधिमण्डलले परराष्ट मन्त्री माधव प्रसाद घिमिरे, भौतिक योजना तथा निर्माण मन्त्री छविराज पन्त, उर्जा, विज्ञान प्रविधि, वातावरण तथा सिंचाई मन्त्री उमाकान्त झालाई सम्बन्धित मन्त्रालयमा भेट गर्‍यो । सो अवसरमा नेपाल र क्यानेडा बीचको आर्थिक सम्बन्ध विस्तारमा कुराकानी भयो ।

For other photographs, please click here


 
  
नेउवामहासंघको गम्भीर ध्यानाकर्षण (२०७०/१/२०)
 2013-05-03 06:35:45
  
यही वैशाख १९ गते, विहीवारका दिन संचार माध्यमहरुमा आन्तरिक राजश्व विभागका एक जिम्मेवार अधिकारी मार्फत आएको सार्वजनिक वक्तव्यप्रति यस नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

मुल्य अभिवृद्धि कर, आयकर, अन्त:शुल्कको सही परिचालनका लागि बजार अनुगमन गर्नु एक नियमित प्रक्रिया हो । बजारमा हुने खरिद विक्रीमा मु.अ.करको वील लिने दिने प्रचलनलाई स्थापित गर्नुपर्दछ भन्ने महासंघको मान्यता रहि आएको छ । व्यवसायीहरुले विषम परिस्थितिमा पनि व्यवसाय संचालन गर्दै सरकारको राजश्व पनि तिर्दै आएको यथार्थता हाम्रो सामु छ । हामी मुलुकमा कर राजश्व तिरेर स्वच्छ व्यवसाय गर्नेले प्रोत्साहन पाउनु पर्दछ र कर राजश्व छली गर्नेले सजाय पाउनु पर्दछ भन्ने कुरामा विश्वास गर्दछौं ।

यस्तोमा करको निर्धारित लक्ष्य (टारगेट) नपुगेको र लक्ष्य पुर्‍याउनकै लागि कडाईका साथ बजार अनुगमन गर्छौं भन्ने बक्तव्य आउंदा यस क्षेत्रमा नकारात्मक संदेश गएको छ । यसबाट अधिकृतरुपमा व्यवसाय गर्नेहरु समेत हतोत्साहित हुने र व्यवसायीहरु बीच आतंकको वातावरण सृजना हुने कुरातर्फ सवैको ध्यानाकृष्ट गर्दछौं । साथै अनधिकृत व्यापारलाई हतोत्साहित गरी अधिकृत व्यापारलाई प्रोत्साहित गर्ने वातावरण बनाई उद्योगी व्यवसायीलाई विश्वासमा लिएर सहज र सरल रुपमा करदातामैत्री वातावरण बनाई राजश्व बढाउनेतर्फ अग्रसर हुन सरकार लगायत सबैमा आग्रह गर्दछौं ।


 
  
यूएनडीपीसंग निजी क्षेत्रको विकासका सम्बन्धमा छलफल (२०७०/१/१९)
 2013-05-02 07:21:31
  
Meeting with UNDP Resident Representative

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, यूएनडीपी (UNDP) का नवनियुक्त आवासीय प्रतिनिधि टेरेन्स डि.जोन्स (Terence D. Jones, UNDP Resident Representative) बीच नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका सम्बन्धमा हालै विस्तृत छलफल भयो ।

सो अवसरमा अध्यक्ष सुरज वैद्यले नवनियुक्त आवासीय प्रतिनिधि टेरेन्सको स्वागत गर्नुहुंदै आगामी दिनमा नेपाली निजी क्षेत्रले यूएनडीपीसंग अझ बढी सहकार्यको अपेक्षा गरेको बताउनु भयो । आवासीय प्रतिनिधि जोन्स्लाई महासंघले गतदुई वर्षमा सम्पन्न गरेका कार्यहरुको बारेमा जानकारी दिदैं महासंघका अध्यक्षले हालै सम्पन्न महासंघको ४७ औं वार्षिक साधारण सभाको अवसरमा नेपालका मुख्य राजनीतिकदलका नेताहरुलाई मुलुकको जलविद्युत विकासका लागि महासंघले तयार पारेको साझा आर्थिक एजेण्डामा हस्ताक्षर गराउन सफल भएको जानकारी दिनु भयो ।

उहांले विश्व आर्थिक मञ्चमा नेपाल जस्ता कम विकसित मुलुकहरुको मुद्दालाई प्रभावशाली रुपमा सुनुवाई गरी समाधान गर्न तथा कम विकसित मुलुकहरुको उद्योग वाणिज्य संघ स्थापनाका लागि महासंघ निरन्तर रुपमा लागिरहेको जानकारी गराउंदै यस कार्यमा सहयोगका लागि अनुरोध गर्नु भयो ।

अध्यक्ष वैद्यले महासंघले नेपालको विभिन्न जिल्लाहरुको स्थानीय आर्थिक विकासका लागि एक जिल्ला एक उत्पादनको अवधारणालाई अगाडी सारेको, विभिन्न जिल्लाहरुमा सार्वजनिक निजी साझेदारीका आधारमा ती उत्पादनहरुको विकास तथा प्रवद्र्धनका लागि कार्य गरिरहेको जानकारी दिंदै यसमा युएनडिपिको सहयोग आवश्यक रहेको बताउनु भयो ।

यसैगरी अध्यक्ष वैद्यले बहुपक्षीय विश्व मञ्चहरुमा निजी क्षेत्र र सरकारी क्षेत्र बीच देखिएको दूरीलाई कम गर्न युएनडिपिको सहयोगको अपेक्षा गर्नु भयो ।

सो अवसरमा आवासीय प्रतिनिधि जोन्स्ले महासंघले प्रस्तुत गरेको कमविकसित मुलुकहरुको उद्योग वाणिज्य संघ स्थापनाको कार्यदिशाले यस्ता मुलुकहरुको स्तरोन्नतिमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दै यस कार्यमा आफू सकारात्मक रहेको बताउनु भयो ।

साथै उहांले नेपालको जलविद्युत विकासका लागि महासंघले गरेको कार्यको सराह्रना गर्नुहुदै नेपालमा उर्जा विकासका लागि स्थानीयतहसम्म त्यसको प्रतिफल पुग्नु पर्ने सुझाव दिनु भयो । साथै उहांले एक जिल्ला एक उत्पादन जस्ता कार्यक्रमले स्थानीय परिचय र स्थानीयतहमा आम्दानी प्रवद्र्धन (Income generaion) मा सहयोग पुर्‍याउने बताउनु हुदै यसको सफलताका लागि value chain मा समेत ध्यान सुझाव दिनु भयो ।


 
  
नेपाल र इटली बीचको आर्थिक व्यापारिक सम्भाव्यता वारे छलफल (२०७०/१/१९)
 2013-05-02 07:11:13
  
Meeting with Italian Ambassador

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य र नेपालका लागि नयांदिल्लीस्थित इटलीका राजदुत ड्यानीयल म्यानसिनी (H.E. Daniele Mancini, Ambassador of Italy) बीच आज महासंघ सचिवालयमा द्विपक्षीय आर्थिक सम्बन्धका विषयमा विस्तृत छलफल भयो । इटलीका लागि अवैतनिक वाणिज्यदुत एवं महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, Mr. Joel Melchiori, Consul General of Italy, Kolkata, India, महासंघका महानिर्देशक डा. हेमन्त दवाडीको समेत सहभागिता रहेको उक्त भेटघाटमा नेपाल र इटलीको निजी क्षेत्र बीच आपसी सम्बन्ध विस्तारका माध्यमबाट नेपालमा इटलियन लगानी तथा प्रविधि आकर्षणमा विशेष जोड दिइयो ।

सो अवसरमा राजदुत म्यानसिनीको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले नेपाली पश्मिनाका उत्पादन तथा कृषि उत्पादनमा इटलियन प्रविधि भित्र्याउन सकिएमा ती उत्पादनको मुल्य अभिवृद्धि गरी बाह्य देशहरुमा निर्यात गर्न सक्ने ठूलो सम्भाव्यता रहेकाले यसतर्फ कुटनीतिक तवरबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष बैद्यले महासंघको आयोजनामा प्रत्येक वर्ष काठमाडौंमा हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा इटलीको सहभागिताका लागि आग्रह गर्दै मेला महोत्सवमा इटलीको सहभागिता हुन सकेमा नेपालमा इटलीका वारे वुझ्ने तथा व्यापार व्यवसाय बढाउन सहयोग पुग्ने स्पष्ट पार्नुभयो । अध्यक्ष वैद्यले दुई देशका निजी क्षेत्र बीच सम्पर्क विस्तारमा सहयोगका लागि राजदुतसंग आग्रह समेत गर्नुभयो । यसका लागि व्यवसायी व्यवसायी बीच भेटघाट एवं बैठक (B2B Meeting) तथा आपसी सहमती (MoU) हस्ताक्षर समेतमा जोड दिनु भयो ।

साथै उहांले ठूला परियोजना मार्फत भन्दा पनि घरोलु तथा साना उद्यममा इटलीको प्रविधि ल्याएर काम गर्न सकेमा नेपाली उत्पादनहरुलाई अन्तराष्ट्रिय वजारमा पुर्‍याउन सहज हुने भन्दै यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा राजदुत ड्यानियलले महासंघको सुझावबाट आफू निकै प्रभावित भएको र आपसी आर्थिक सम्बन्ध विस्तारका लागि कुटनीतिक तवरबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो । साथै उहांले व्यावसायिक प्रतिनिधिमण्डलको भ्रमण आदान प्रदान, आर्थिक व्यापारिक सूचनाको आदान प्रदान तथा दुवै देशका व्यावसायिक नेताहरुको भ्रमणमा विशेष जोड दिनु भयो ।


 
  
अन्तर्राष्ट्रिय मे दिवसका अवसरमा नेउवामहासंघका अध्यक्ष सुरज वैद्यको शुभ-कामना (२०७०/१/१८)
 2013-04-30 07:49:10
  
सर्व प्रथम १२४ औं मे दिवसको उपलक्ष्यमा यहाँ र यहाँ मार्फत सम्पूर्ण श्रमिक/कामदार साथीहरुमा बधाई एवं शुभ—कामना व्यक्त गर्न चाहान्छु ।

श्रमिक आन्दोलन र यसबाट प्रांप्त उपलव्धीका हिसावले मे दिवसको आफ्नै महत्व र विशिष्टता छ । मे दिवस एकातिर श्रमिकहरुले प्राप्त गरेको उपलव्धीको सम्झना गर्नु हो भने अर्को तर्फ वर्तमान अवस्थाको समीक्षा पनि हो । हाम्रो सन्दर्भमा श्रम सम्बन्धमा केही सुधारका संकेत देखिए पनि बेला बेलामा उत्पन्न हुने श्रम विवादको उचित र विधिसम्मत समाधान हुन नसक्दा स्थिर र भरपर्दो श्रम सम्बन्ध विकासमा आउने जटिलताले हामी सबै गम्भीर हुनु पर्ने स्थिति छ ।

कामदार कर्मचारीहरुको हकहितको सुनिश्चितताको साथै मुलुकको अर्थतन्त्र र उद्योग व्यवसायको अवस्थालाई मध्यनजर गरी कामदारहरुका चाहनालाई यथासम्भव सम्बोधन गर्दै जानु पर्दछ भन्ने हाम्रो मान्यता हो । हाम्रा सामू थुप्रै समस्या र चुनौतिहरु छन् । यी समस्याको समाधान गर्न हामी सदैव प्रयत्नशील छौं र ट्रेड यूनियनहरुसंगको सहकार्य र नियमित सम्वादलाई थप महत्व दिएका छौं ।

उद्योगको प्रतिस्पर्धी क्षमताको विकास, उन्नत कार्य वातावरण र दिगो औद्योगिक शान्तिलाई साझा लक्ष्यको रुपमा लिई काम गर्न सक्ने हामी सबैको हित हुन्छ भन्ने हाम्रो मान्यता हो । हामी बीचको समझदारी र सहकार्यबाट श्रम क्षेत्रमा विद्यमान समस्या र चुनौतिको समाधान गर्न सकिन्छ भन्ने अपेक्षा सहित यस वर्षको मे दिवसको सफलताका साथै सबै कामदार साथीहरुको सुख एवं समुन्नतिको कामना गर्दछु ।


 
 
 
2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 
 
 



 © Copyright 2005-2013. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.
Designed and Maintained by Yomari