|
Press Release |
| विज्ञहरुद्वारा लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि नीतिगत सुधारमा जोड (२०६५/५/८) | 2008-08-25 01:16:05 |
लगानी तथा रोजगारीका हिसावले करिव ८० प्रतिशत हिस्सा ओगटेको लघु, घरेलु तथा साना उद्योगको विकासबाट मात्र मुलुक भित्र आर्थिक क्रान्तिको अभियानलाई सफल पार्न सकिने हुंदा यस क्षेत्रको वृहत्तर विकासका लागि नीतिगत सुधार, कर्जा प्रवाहमा सरलीकरण, बैंक तथा वित्तिय संस्थाहरुको कार्यशैली र लगानी नीतिमा सुधार आवश्यक भएको कुरामा जोड दिइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल हस्तकला महासंघद्वारा घरेलु तथा साना उद्योग प्रवर्द्धन विषयमा हालै काठमाडौंमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो । लघु घरेलु तथा साना उद्योग व्यवसायको विकासबाट सिमान्त वर्गहरुलाई बढी समावेश गर्न सकिने र यसले आर्थिक विकासको लक्ष्य हासिल गर्न समेत सहयोग पुग्ने हुंदा सरकारले समय सापेक्ष रुपमा नीतिगत सुधार, सहयोग, सहुलियत एवं संरक्षणका कार्यक्रमहरु इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।
नेउवामहासंघबाट घरेलु तथा साना उद्योगको विकासका लागि आगामी कार्ययोजना तर्जुमा गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा घरेलु तथा साना उद्यमीहरु, यस क्षेत्रमा काम गर्ने विभिन्न दातृ संस्था सहित विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु, नेपाल सरकार घरेलु तथा साना उद्योग विभाग, घरेलु तथा साना उद्योग विकास समितिका पदाधिकारीहरुको सहभागीतामा रहेको थियो । कार्यक्रममा लघु घरेलु तथा साना उद्योगका लागि कर छुटको व्यवस्था, दीगो एवं स्थायी नीति नियमको कार्यान्वयन, घरेलु तथा साना उद्योग विकास कोषको प्रभावकारी परिचालन लगायतका विषयमा विशेष जोड दिइएको थियो ।
त्यसैगरी लघु, घरेलु तथा साना उद्योगको विकासका लागि राष्ट्रिय/अन्तराष्ट्रिय बजार विस्तार, लक्षित वर्गको पहिचान सहित ग्रामीण क्षेत्रमा तालीम कार्यक्रमहरु लैजानुपर्ने, मागको पहिचान गरि विक्री योग्य वस्तुहरुको मात्र उत्पादन गर्नुपर्ने, साना र ठूला उद्योग बीचको अन्तर सम्बन्ध विकास गर्नुपर्ने, ग्रामीण क्षेत्रमा लघु घरेलु उद्योग र पूर्वाधार भएका शहरी क्षेत्रमा साना र ठूला उद्योगहरु विकास गरी लघु, घरेलु उद्योगले तयार गरेका सामग्रीहरु ठूला उद्योगहरुले खपत गर्ने नीति ल्याउनु पर्ने सुझाव पनि सहभागीहरुले राखेका थिए ।
सो कार्यक्रममा महासंघका अध्यक्ष कुशकुमार जोशीले अधिकांश उद्योग व्यवसाय घरेलु सानास्तरकै रहेको पर्रि्रेक्षमा यस्ता उद्योगहरुलाई विभिन्न दृष्टिकोणबाट सक्षम बनाउनु पर्नेमा जोड दिनुंहुंदै स्थानीय स्रोतका आधारमा उद्यम पहिचान गरि प्रविधि तथा जनशक्ति विकास सहित अघि बढ्नु पर्ने खांचो औल्याउनु भयो । अध्यक्ष जोशीले हस्तकलाका सामानहरु नेपालको "नीस प्रोडक्टस" भएकाले अन्तराष्ट्रिय वजारको माग अनुरुप डिजाइन, गुणस्तर र संख्यात्मक हिसावले समेत यस्ता उत्पादनहरुको विकास गर्नुपर्ने र महासंघले अघि बढाएको एक गाउं एक उत्पादन कार्यक्रम अन्तरगत यसलाई विकास गरेर लैजाने पनि जानकारी गराउनु भयो ।
महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले भारत तथा चीनको बीचमा रहेको नेपालले ठूला उद्योगहरुमा प्रतिस्पर्धा गरेर जान नसक्ने हुंदा लघु घरेलु तथा साना उद्योगको विकास मार्फत अघि बढ्दा त्यसबाट लाभ उठाउन सकिने धारणा राख्नु भयो । उहांले यसका लागि ती देशहरुमा स्थापना हुने ठूला उद्योगहरुका लागि सहयोगी हुन सक्ने साना उद्योगहरुको स्थापनामा जोड दिनुपर्ने सुझाव राख्दै यस विषयमा छिमेकी मुलुक भारतसंग पनि छलफल गरिने बताउनु भयो ।
घरेलु तथा साना उद्योग विभागका महानिर्देशक महेन्द्रमान गुरुङले मुलुकको वृहत्तर आर्थिक विकासका लागि घरेलु तथा साना उद्योग विकासनै एकमात्र उत्तम उपाय भएकोले यसको पर््रवर्द्धनका लागि सामूहिक प्रयासको खांचो औल्याउनु भयो ।
सभापतिको आशनबाट महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डी.वी वस्नेतले मुलुकमा घरेलु तथा साना उद्योग व्यवसायको क्षेत्रमा रहेको विद्यमान सिथिलता र नैराश्यताको अन्त्य गर्न सरकार, निजी क्षेत्र र अन्य सरोकारवाला निकायहरुले समय सापेक्ष रुपमा नीतिगत र कार्यगत सुधारहरु गर्नुपर्नेमा जोड दिनु भयो ।
महासंघको सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापा र वरिष्ठ परामर्शदाता गोविन्ददेव पाण्डेले स्थानीय जनताको आर्थिक जीवनस्तर सुधार सहित अर्थतन्त्रको विकासमा घरेलु तथा साना उद्योगको महत्व माथि प्रकाश पार्दै यस क्षेत्रमा भएका अध्ययनहरुले दिएका सुझावहरुको हालसम्मको कार्यान्वयनको अनुगमन हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा घरेलु तथा साना उद्योग समितिका सह-सभापति अमरराज आचार्यको पनि उपस्थिति थियो ।
सो अवसरमा नेपाल हस्तकला महासंघको वारे संक्षिप्त प्रकाश पर्दै सो महासंघका अध्यक्ष पुष्करमान शाक्य र प्रथम उपाध्यक्ष विकासरत्न धाख्वाले तल्लोतहका जनतासम्म हस्तकलाको महत्व वुझाउनु पर्ने खांचो औल्याउनु भयो । यसो भएमा मात्र घरेलु तथा साना उद्योगको विस्तार गर्न सकिन्छ, रोजगारी सृजना भई गरिवी निवारणमा मद्दत पुग्ने धारणा राख्दै निष्कृय वन्न पुगेको घरेलु तथा साना उद्योग विकास कोषकोलाई प्रभावकारी रुपमा संचालन गरि त्यसबाट अधिकतम लाभ उठाउनु पर्नेमा जोड दिनु भयो । |
| बाढी पीडित उद्दारका लागि प्रधानमन्त्री समक्ष महासंघद्वारा आर्थिक सहयोग हस्तान्तरण ― उद्दारका लागि कार्यविभाजन सहित विभिन्न टोली गठन (०६५/५/६) | 2008-08-22 11:15:16 |
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्रीको कार्यालयमा भेटी सप्तकोशी नदीको बांध फुटी दैविप्रकोपबाट पीडित व्यक्तिहरुको उद्दार एवं पुर्नस्थापनाको लागि महासंघबाट संकलित रकम मध्ये महासंघको तर्फबाट रु. ६ लाख १ रुपैयां समेत गरी जम्मा रु. १० लाखको आर्थिक सहयोग प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा जम्मा गर्ने गरी हस्तान्तरण गरेको छ।
उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा महासंघका उपाध्यक्षत्रय कृष्ण प्रसाद ताम्राकार, भाष्करराज राजकर्णिकार र प्रदीपजंग पाण्डे तथा महासंघको सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापा, निर्यात प्रबर्द्धन फोरमका संयोजक अनुप मल्ल, कार्यकारिणी समिति सदस्य प्रमोद श्रेष्ठ, तथा महानिर्देशक मेघनाथ न्यौपाने हुनुहुन्थ्यो।
साथै महासंघद्वारा वरिष्ठ उपाध्यक्ष सुरज वैद्यको संयोजकत्वमा महासंघको सचिवालयमा आज बसेको नेउवामहासंघ―दैविप्रकोप उद्दार कार्यदलको वैठकले बाढी पीडितहरुको राहत एवं उद्दार कार्यमा सहयोग गर्न छुट्टा छुट्टै तीन वटा टोली गठन गरि कार्य विभाजन समेत गरेको छ।
यस अनुसार उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारको संयोजकत्वमा गठित खाद्यान्न तथा लत्ता कपडा टोलीले तत्कालै राहत सहयोग वितरण व्यवस्था मिलाउने छ।
महासंघका उपाध्यक्ष एवं सो कार्यदलका प्रवक्ता भाष्करराज राजकर्णिकारको संयोजकत्वमा गठित मूल्याङ्कन टोलीले मोरङ्ग व्यापार संघ, उद्योग संगठन मोरङ्ग तथा उद्योग वाणिज्य संघ इटहरी, इनरुवा, सुनसरी र सप्तरी उवासंघका अध्यक्ष समेतको सहभागितामा बाढी पीडित क्षेत्रको भ्रमण गरि थप सहयोगका लागि त्यहांको आवश्यकता पहिल्याउने छ।
त्यसैगरी उपाध्यक्ष प्रदीपजंग पाण्डेको संयोजकत्व्मा गठित स्वास्थ्य टोलीले चिकित्सकहरुद्वारा परीक्षण गराई औषधि उपचारका सामग्री वितरणको व्यवस्था गर्ने भएको छ।
साथै उक्त वैठकले राहत सहयोगको कार्य नेपाल सरकार र नेपाली सेना समेतको सहभागितामा सार्वजनिक निजी―साझेदारीको अवधारणा अनुरुप गर्ने निर्णय गर्नुका साथै महासंघद्वारा संकलित राहत सामग्री बाढी प्रभावित क्षेत्रमा तत्काल पुर्याउन नेपाली सेनासंग एभ्रो विमान तथा नेपाल सरकारसंग त्यसका लागि आवश्यक इन्धन सहयोग माग गर्ने समेत निर्णय गरेको छ।
उपरोक्त टोलीका संयोजकहरुले टोलीमा थप सदस्यहरुको व्यवस्था मिलाउनु हुने छ।
उद्दार कार्यको समाप्तिपछि पुननिर्माण कार्यमा समेत सहयोग पुर्याउन आवश्यक व्यवस्था गर्ने समेत वैठकले निर्णय गरेको छ।
साथै उक्त वैठकले महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णिकारले नेउवामहासंघ―दैविप्रकोप उद्दार कार्यदलको प्रवक्तामा तोकेको छ।
|
| सिण्डिकेट प्रथाको खारेजी सम्बन्धमा सरकारी प्रतिवद्धता पछि आन्दोलनका सबै कार्यक्रम स्थगित (२०६५/५/६) | 2008-08-22 11:13:11 |
गैर कानूनी रुपमा संचालन भएको सिण्डिकेट प्रणालाणीका साथै यसबाट उद्योग व्यवसायमा परेको प्रतिकुल असरको विरोध गर्दै विगत ६२ दिनदेखि मध्य तथा सुदुरपश्चिमाञ्चलका उद्योग वाणिज्य संघहरुद्वारा संचालित आन्दोलन एवं धर्ना कार्यक्रम हिजोदेखि स्थगित गरिएको छ।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड", नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशुकुमार जोशी र मध्य तथा सुदुरपश्चिमाञ्चलका उद्योग वाणिज्य संघहरुका अध्यक्ष एवं पदाधिकारीहरु बीच हिजो भएको वार्तामा प्रधानमन्त्रीबाट व्यक्त प्रतिवद्धतामा आजैका मितिदेखि खुला प्रतिस्पर्धामा स्वतन्त्रतापूर्वक मालवाहक गाडीहरु संचालन गर्ने र दीर्घकालिन रुपमा यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित गर्नका लागि उच्चस्तरीय समिति गठन गरि दुई महिना भित्रमा सोको प्रतिवेदन सरकारलाई प्राप्त भएपछि सरकारी नीति तयार गरि अघि बढ्ने र आन्दोलनको क्रममा मध्य तथा सुदुरपश्चिमाञ्चलमा भएका घटनालाई छानविन गरि दोषीलाई कार्वाही गर्ने र क्षती भएका गाडीहरुको क्षतीपूर्तिको व्यवस्था गर्ने प्रतिवद्धतालाई स्वीकार गर्दै विरोध तथा धर्ना कार्यक्रम स्थगित गरिएको जानकारी यसै विज्ञप्ति मार्फत महासंघ सवैमा गराउन चाहन्छ।
सरकारका तर्फबाट प्रधानमन्त्रीले व्यक्त गर्नुभएको प्रतिवद्धताको महासंघ हार्दिक स्वागत गर्दै व्यक्त प्रतिवद्धता निर्धारित समयमै कार्यान्वयन हुने महासंघ पूर्ण रुपमा विश्वस्त छ। प्रधानमन्त्रीबाट व्यक्त प्रतिवद्धतालाई मनन गरि आजैदेखि यातायातका सम्पूर्ण साधनहरु संचालन एवं माल सामान लोड अनलोड कार्यलाई सुचारु गर्न सम्बन्धित सवैमा अनुरोध गर्दै यस क्रममा कुनै घटना हुन गएमा सोका लागि महासंघ वा महासंघका सदस्य संघहरुमा जानकारी गराउन पनि आव्हान गर्दछ। स्मरणीय छ, गैर कानूनी सिण्डिकेटका कारण उद्यमी व्यवसायीहरुले माल वस्तुको लोड अनलोड गर्न नसक्दा मध्य तथा सुदुरपश्चिमका सवै जिल्लाहरुमा खाद्यान्न तथा औषधि जस्ता वस्तुहरुको अभाव हुन गई उक्त क्षेत्रको जनजीवनमा समेत गम्भीर असर पर्न गएको थियो।
|
| नेउवामहासंघद्वारा बाढी पीडित उद्दारका लागि राहत कोष स्थापना गर्नुको साथै छुट्टै कार्यदल गठन (२०६५/५/५) | 2008-08-22 03:57:09 |
सप्तकोशी नदीको बांध फुटि सयौं मानिस बगेको, हजारौं जोखिममा परेको र एक लाख मानिस प्रभावित हुनुको साथै ठूलो जनधनको क्षति भई दैविप्रकोपबाट पीडितहरुको उद्दारको लागि राहतको व्यवस्था कार्यक्रम गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा आज महासंघका पदाधिकारीहरु, विभिन्न समितिका सभापति एवं फोरमका संयोजकहरु समेतको आकष्मिक वैठक बस्यो।
उक्त वैठकमा यसरी जनधनको ठूलो क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै निजी क्षेत्रको तर्फबाट समेत सहयोग उद्दार कार्यलाई प्रभावकारी बनाउने निर्णय सहित सोको लागि महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैठकको संयोजकत्वमा “नेउवामहासंघ―दैविप्रकोप उद्दार कार्यदल” गठन गरिएको छ।
कार्यदलको गठन विधि यस प्रकार छ:
१. श्री सुरज बैद्य, वरिष्ठ उपाध्यक्ष, नेउवामहासंघ संयोजक
२. श्री कृष्ण प्रसाद ताम्राकार, उपाध्यक्ष, नेउवामहासंघ सदस्य
३. श्री भाष्करराज राजकर्णिकार, उपाध्यक्ष, नेउवामहासंघ सदस्य
४. श्री प्रदीपजंग पाण्डे, उपाध्यक्ष, नेउवामहासंघ सदस्य
५. श्री चन्द्रकृष्ण कर्माचार्य, सभापति, आपूर्ति समिति, नेउवामहासंघ सदस्य
६. श्री डि.बी. बस्नेत, सभापति, घरेलु तथा साना उद्योग समिति, नेउवामहासंघ सदस्य
७. श्री किशोर कुमार प्रधान, सभापति, स्थानीय आर्थिक विकास समिति, नेउवामहासंघ सदस्य
८. श्री कुमुद दुगड, सभापति, व्यापार समिति, नेउवामहासंघ सदस्य
९. श्री लोक विक्रम थापा, सभापति, सामाजिक सेवा समिति, नेउवामहासंघ सदस्य
१०. श्री प्रदीपमान बैद्य, सभापति, कर तथा राजश्व समिति, नेउवामहासंघ सदस्य
११. श्री अध्यक्ष, मोरङ्ग व्यापार संघ सदस्य
१२. श्री अध्यक्ष, उद्योग संगठन मोरङ्ग सदस्य
१३. श्री अध्यक्ष, उद्योग वाणिज्य संघ, इनरुवा सदस्य
१४. श्री अध्यक्ष, उद्योग वाणिज्य संघ, इटहरी सदस्य
१५. श्री अध्यक्ष, उद्योग वाणिज्य संघ, सुनसरी सदस्य
१६. श्री अध्यक्ष, सप्तरी उद्योग वाणिज्य संघ सदस्य
१७. श्री अध्यक्ष, नेपाल औषधि उत्पादक संघ सदस्य
१८. श्री अध्यक्ष, ट्रेकिङ्ग एजेन्टस् एशोसिएशन सदस्य
१९. श्री अध्यक्ष, नेपाल बैंकर्स संघ सदस्य
२०. श्री अध्यक्ष, नेपाल एयरलाइन्स एशोसिएशन सदस्य
२१. श्री अध्यक्ष, नेपाल मेडिकल एशोसिएशन सदस्य
२२. श्री अध्यक्ष, नेपाल नर्सिङ्ग संघ सदस्य
२३. श्री उमेश श्रेष्ठ (निवर्तमान अध्यक्ष, प्याब्सन) सदस्य
सल्लाहकार:
१. श्री अध्यक्ष, नेपाली सेना अधिकृत श्रीमती संघ।
२. श्री अध्यक्ष, जनपद प्रहरि अधिकृत श्रीमती संघ।
३. श्री अध्यक्ष, सशस्त्र प्रहरी अधिकृत श्रीमती संघ।
४. श्री अध्यक्ष, रोटरी इन्टरनेशलन।
५. श्री अध्यक्ष, लाइन्स क्लव, नेपाल डिष्ट्रिक्ट।
साथै वैठकमा उक्त बाढी पीडितहरुको राहत एवं उद्दारका लागि महासंघद्वारा एभिन्यूज टेलिभिजन प्रा.लि.संगको सहभागितामा “नेउवामहासंघ―एभेन्यूज टि.भि.―कोशी बाढी पीडित उद्दार कोष” (FNCCI-Avenues TV-Koshi Flood Relief Fund) को नामले नेपाल इन्भेष्टमेन्ट बैंक लि. मा खोलिएको बचत खाता नं. ००१५९१०२४० मा तपसील बमोजिमको राहत रकम पनि जम्मा गर्ने तय भएको छः
नेपाल उद्योग वाणिज्य महासंघबाट रु. ६ लाख १ रुपैया।
नेपाल उद्योग वाणिज्य महासंघका कर्मचारीको तर्फबाट एक दिनको तलब बरारबको रकम।
नेपाल इकरात इन्जिनियरिङ्ग कं.प्रा.लि.बाट रु. १ लाख १ हजार।
वैद्यज् अर्गनाइजेशन अफ इण्डष्ट्रिज एण्ड ट्रेडिङ्ग हाउसबाट रु. १ लाख ५० हजार।
भक्तपुर ईंटा तथा टाइल उद्योग लि.बाट रु. १ लाख।
लोमस फर्मास्यूटिकल्स प्रा.लि.बाट रु. १ लाख।
विजय दिप ल्याबोटोरीज लि.बाट रु. २५ हजार १ रुपैया।
लोक बिक्रम थापाबाट रु. १० हजार।
न्यू श्रेष्ठ फर्निचर उद्योग, म्याग्दीबाट रु. १० हजार।
वैठकले राहत कार्यको लागि महासंघको तर्फबाट उच्चस्तरीय टोलीले भोली नै त्यस क्षेत्रको निरीक्षण गर्ने तथा उक्त खातामा जम्मा भएको रकम प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषको लागि प्रधानमन्त्रीज्यूमा महासंघको तर्फबाट सबै दाताहरुको उपस्थितिमा एक मुष्ट रकम हस्तान्तरण गर्ने निर्णय गर्नुका साथै यस मानवीय कार्यमा सहयोग गर्न महासंघका सबै सदस्य/संस्थाहरुलाई अपिल गर्ने पनि निर्णय गरेको छ।
|
| स्थानीय जनताको जीवनस्तर सुधारमा वीरगंज उवासंघले विभिन्न महत्वपूर्ण कार्यक्रमहरु अघि सार्ने (२०६५/५/५) | 2008-08-22 03:50:43 |
स्थानीय जनताको जीवनस्तर नसुध्रेसम्म मुलुकको आर्थिक विकास सम्भव नहुने वस्तुतथ्यलाई मनन गरि वीरगंज उद्योग वाणिज्य संघले स्थानीय आर्थिक विकासमा विभिन्न कार्यक्रमहरु अघि सार्ने जनाएको छ। संघले सो क्रममा स्थानीयतहदेखि मुलुककै आर्थिक समुन्नतीका लागि विभिन्न अवधारणाहरुलाई महत्वपूर्ण रुपमा अघि सारेको छ। विभिन्न उद्योग वाणिज्य संघहरुको अध्ययन भ्रमणका क्रममा आज नेपाल उद्योग वाणिज्य महासंघमा आएको सो प्रतिनिधिमण्डलले आर्थिक समुन्नतीका लागि सार्वजनिक निजी साझेदारीको अवधारणालाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने, वजेट घाटालाई कम गर्ने तथा वैदेशिक अनुदान घटाउनु पर्ने, व्यवसायिक क्षमता तथा रोजगारका अवसरहरु वृद्धि गर्नुपर्ने, थप नयां लगानीका लागि आकर्षक कार्यक्रमहरु ल्याउनु पर्ने, वैदेशिक लगानीलाई आकर्षित गर्न विभिन्न प्याकेजहरु ल्याउने र समय सापेक्ष दीर्घकालिन औद्योगिक नीतिहरु लागू गर्नुपर्ने अवधारणा अघि सारेको छ।
महासंघका अध्यक्ष कुशकुमार जोशी, उपाध्यक्ष भाष्करराज राजकर्णिकार, कार्यकारिणी समितिका सदस्यहरु डीवी वस्नेत, लोकविक्रम थापा, प्रदीपमान वैद्य र संघका अध्यक्ष गणेशप्रसाद लाठको नेतृत्वमा आएको सो संघको प्रतिनिधिमण्डल बीच भएको सो कार्यक्रममा राजनीतिक परिवर्तनको सन्दर्भमा मुलुकको आर्थिक विकासका लागि नयां संरचना तयार गर्दा समेत संघले यी विषयहरुलाई मुख्य रुपमा अघि सार्ने बताइएको थियो। संघले ठूला उद्योगहरुलाई हेरेर साना र सहयोगी उद्योगहरुको विस्तार गर्ने, इलम प्रशिक्षण कार्यक्रम मार्फत स्थानीय आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्ने, श्रम सुधार र श्रमिकहरुको दक्षता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने, स्थानीय आर्थिक विकासमा उद्योग वाणिज्य संघहरुको भूमिका वृद्धिमा व्यापक वहस चलाउने जानकारी पनि प्रतिनिधिमण्डलले गराएको थियो।
प्रतिनिधिमण्डलले संघले अघि सारेका विषयहरुमा व्यापक छलफल गरि यस विषयमा एउटा धारणा वनाउन पनि अध्ययन भ्रमण प्रभावकारी हुने जनाउंदै यस विषयमा संविधानसभासदहरु, राजनीतिक दलका नेताहरु, नागरिक समाजका अगुवाहरु, संचार कर्मीहरु, उद्योगी व्यवसायीहरु लगायत सवै सरोकारवालाहरुका बीचमा व्यापक वहस चलाउने पनि सो अवसरमा वताइएको थियो।
परिवर्तित सन्दर्भमा संघले देशको समग्र आर्थिक विकासका लागि स्थानीय उद्योग वाणिज्य संघहरुको तर्फबाट रचनात्मक भूमिका निर्वाह गर्नेमा जोड दिइएको थियो। काठमाडौ, ललितपुर, भक्तपुर एवं काभ्रे जिल्लामा रहेका उद्योग वाणिज्य संघहरुको समेत अध्ययन अवलोकन गर्ने सो प्रतिनिधिमण्डलले वीरगंज उद्योग वाणिज्य संघले अघि सारेका अवधारणाहरुलाई विभिन्न माध्यमबाट अधिराज्यभर पुर्याउने प्रतिवद्धता समेत जनाएको छ।
कार्यक्रममा महासंघका अध्यक्ष जोशीले वीरगंज उद्योग वाणिज्य संघले स्थानीय तथा राष्ट्रिय स्तरमा समेत उद्योग व्यवसाय लगायत समग्र अर्थतन्त्रको विकासमा पुर्याएको प्रभावकारी भूमिकाको प्रशंसा गर्नुभयो। उहांले महासंघको पहल तथा सदस्य संघहरुको सहयोगमा कवाडी कर खारेजीका प्रक्रिया अगाडी बढी सकेको र नयां वजेटमा सोको सम्बन्धमा विशेष सम्वोधन हुने जानकारी दिंदै सिण्डिकेट प्रथाको पूर्ण खारेजीको लागि पनि महासंघको अभियानले सफलता प्राप्त गर्ने विश्वास दिलाउनु भयो।
सो अवसरमा संघका अध्यक्ष लाठले भ्रमणका उद्देश्य लगायत संघका भावी कार्यक्रम माथि विस्तृत प्रकाश पार्नुभएको थियो।
|
|
| |
|
|
| |
| |
|
|