Jun 14, 2017
चीन दक्षिण एशिया व्यवसायिक फोरम बैठक कुनमिङमा-ओवोर नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार हुन सक्ने–अध्यक्ष राणा (२०७४/२/३१)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले मित्र राष्ट्र चीनले अगाडी सारेको एक रोड एक क्षेत्र (One Belt One Road-OBOR ) यो शताव्दिकै एक नमूना परियोजना हुन सक्ने बताउनु भएको छ । उक्त परियोजना नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार हुने उहांले बताउनु भयो । 

यो परियोजनालाई विश्वलेनै अति उत्सुकतापूर्वक हेरिरहेको बताउनु हुंदै अध्यक्ष राणाले यस परियोजनाका माध्यमबाट दक्षिण तथा दक्षिण पूर्वी एशिया, मध्य ऐशिया, यूरोप, अफ्रिका र बांकी भूभाग बीच सम्पर्क स्थापित गरी यी देशका अर्थतन्त्रलाई एकिकृत गर्ने ठूलो सम्भावना रहेको दावी समेत गर्नुभएको छ । 

चीन तथा दक्षिण एशियाका व्यवसायिक नेताहरुको फोरमलाई चीनको यूनान प्रान्तको कुनमिङ शहरमा संवोधन गर्नुहुंदै अध्यक्ष राणाले केवल आपसी सम्पर्क स्थापित गरी व्यवसाय गर्ने माध्यम मात्र हुने नभई समग्रमा ओवोर अभियानले रोजगारी सृजना, पूंजी वृद्धि, नविनतम प्रविधिको विकास मार्फत यी क्षेत्रका वासिन्दाहरुको जीवनस्तर उच्च बनाउने विश्वास समेत प्रकट गर्नुभयो । 



अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चीनियां परिषद (China Council for the Promotion of International Trade -CCPIT)   यूनान उपपरिषद र सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce and Industry-SCCI)द्वारा संयुक्त रुपमा आयोजना गरिएको १२ औं चीन दक्षिण एशिया व्यवसायिक फोरम (12th China-South Asia Business Forum) को बैठकलाई संवोधनका क्रममा अध्यक्ष राणाले ओवोर परियोजना वास्तवमै प्रशंसनीय रहेको बताउनु भयो । शान्ति र सहयोग, उदारता र समावेशी, आपसी शिक्षा र लाभ प्रमुख सिद्धान्तहरुद्वारा निर्देशित यो अभियान शताव्दिकै एक महत्वपूर्ण परियोजना हुने उहांको विश्वास थियो ।  

नेपाल लगायत भारत, चीन, अफगानिस्तान, भुटान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेशका व्यवसायिक नेताहरु, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सहित पदाधिकारीहरु, वाह्य देशका प्रतिनिधिहरु सहभागी रहनु भएको सो फोरमको यस बर्षको प्रमुख विषय चुनौतीपूर्ण अवसरहरु: रोजगारी सृजना र नविनतम लगानी (Challenging Opportunities: Employment Creation and Innovative Investment) रहेको थियो ।  
  
अध्यक्ष राणाले नेपाल पनि ओवोरको एक महत्वपूर्ण हिस्सा हुन पाएकोमा खुशी व्यक्त गर्नुहुंदै भुपरिवेष्टित राष्ट्र नेपाललाई अव स्थलमार्ग मार्फत विश्वसंग जोडिने अवसर मिलेको बताउनु भयो । नेपालको मुख्य प्राथमिकतानै वाह्य मुलुकसंग प्रभावकारी सम्पर्क स्थापना हो, त्यो भौतिक रुपमा मात्र नभई पछिल्लो पटक उच्च गतिमा अगाडी बढीरहेको सूचनाको राजमार्ग मार्फत समेत आफूलाई विश्वसंग समाहित गर्न, त्यसबाट उच्च लाभ उठाउन नेपाल लालायित रहेको बताउनुहुंदै आर्थिक रुपान्तरणका लागि ओवोर महत्वपूर्ण माध्यम हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । उर्जा, अन्तरदेशिय प्रशारण लाइन विस्तार, पर्यटन आदान प्रदान तथा पर्यकटीय गन्तव्यको पहिचान सहित पूर्वाधारको विकास नेपालको अर्को महत्वपूर्ण प्राथमिकता रहेको उहांले विश्व समुदायलाई जानकारी गराउनु भयो ।    

हालै नेपालले ओवोरमा हस्ताक्षर गरेको र ओवोर सम्मेलनमा केरुङ, काठमाडौं, पोखरा र लुम्विनीसम्मको रेलमार्ग निर्माणको लागि नेपालले राखेको प्रस्तावलाई साकार रुप दिन जोड दिनुहुंदै अध्यक्ष राणाले यसले सफलता पाउन सकेमा “नेपाल चीन इकोनोमिक करिडोर”को रुपमा विकास गर्न सकिने बलियो सम्भावना रहेको र यसले सिंगो मुलुककै विकासमा आमूल परिवर्तन ल्याउन सक्ने धारणा राख्नु भयो । 

आफ्नो संवोधनको क्रममा अध्यक्ष राणाले भन्नु भयो– चुनौतीहरुसंगै अवसरहरु पनि आउछन्, ओवोरको अभियानसंगै अवसरहरु पनि पर्याप्त आउंदै छन् । नेपालले यतिखेर विशेष गरी प्रतिस्पर्धी क्षमता तथा लगानीको क्षमता दुवैमा निकै ठूलो चुनौतीको सामाना गर्नु परेको छ । नेपाली निजी क्षेत्र यी चुनौतीहरुको सामाना गर्न तयार छ । यस महत्वपूर्ण समारोहमा म चिनिया लगानीकर्ताहरुलाई चीन तथा ओवोरसंग जोडिएका देशहरुमा खपत हुन सक्ने वस्तुहरु नेपालमै उत्पादन गर्ने क्षेत्रमा लगानी गर्न आग्रह गर्दछु । यसो हुन सकेमा नेपालले औद्योगिक क्षेत्रमा चाहेको लगानी मार्फत वाह्य देशसंगको सम्पर्क विस्तारमा समेत सहयोग पुग्दछ । 

चीनसंग द्विपक्षीय व्यापार संझौता भैसकेको सन्दर्भमा करिव ७० भन्दा बढी देशहरुलाई जोड्ने ओभार अभियान एवं शील्क रोड मार्फत अझ बढी बजार विस्तारको सम्भावना नेपालले देखेको  समेत बताउनु भयो । 

बैठककै क्रममा महासंघका अध्यक्ष राणाले बैठकमा भाग लिन आउनु भएका विभिन्न देशका उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु, वाह्य देशका प्रतिनिधिहरु लगायतका यूनानका उद्यमी व्यवसायीहरुसंग भेटघाट गर्नुभई नेपाल र ती देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा जोड दिनु भयो । 

बैठकमा महासंघका पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष सुरज वैद्यले पनि संवोधन गर्नु भएको थियो । उहांले आफ्नो संवोधनको क्रममा सिगो सार्क मुलुकनै लगानीका लागि भोको रहेकाले यस क्षेत्रको आर्थिक तथा सामाजिक समृद्धिका लागि सार्क र चीन बीचको सहकार्य महत्वपूर्ण रहेको धारणा राख्नु भयो । 



बैठकमा महासंघको प्रतिनिधिमण्डलमा रहनु भएका महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, महासंघको शहरी विकास समितिका सभापति एवं सार्क उवासंघका उपाध्यक्ष(नेपाल) ओम राजभण्डारी, कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे, व्यवसायीहरु असित शंसेर जवरा, र ज्योत्साना पाण्डे वोहोरा, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद अवाल, धादिङ उवासंघका कोषाध्यक्ष अनिल कोइराला सहित कार्यकारिणी समिति सदस्यहरु, महासंघका सहायक निर्देशकत्रय विष्णुराज ढकाल, अरुणकुमार श्रेष्ठ, विदुरचन्द्र लामिछाने, पत्रकार विपेन्द्र कार्की सहित नेपाली उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा जेष्ठ २९ गतेदेखि कुनमिङमा चाइना आयात निर्यात व्यापार तथा दक्षिण एशियाली व्यापार मेला (China Import & Export Fair Kunming and South Asian Coutries Trade Fair) समेत आयोजना भएको छ । उक्त मेलामा नेपालबाट १६० वटा स्टलहरु मार्फत नेपाली वस्तुहरुको प्रदर्शनी भैरहेको छ । उक्त मेला असार ४ गते सम्म चल्ने छ । मेलाको महासंघको प्रतिनिधिमण्डलले अवलोकन गऱ्यो । मेलामा विशेष गरी नेपाली हस्तकलाका सामाग्रीहरुको प्रदर्शनी गरिएको छ । 
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by