Jun 26, 2017
नवनियुक्त अर्थमन्त्री कार्की समक्ष लगानीको वातावरण बनाउन महासंघको प्रतिनिधिमण्डलद्वारा अनुरोध (२०७४/०३/१२)
 
नवनियुक्त माननीय अर्थमन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्की समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधि मण्डलले आज अर्थ मन्त्रालयमा भेट गरी निजी क्षेत्रको तर्फबाट बधाई दिनुका साथै अर्थतन्त्रका विविध विषयमा छलफल गर्यो । 

महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरू, अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, महासंघका महासचिव सुरेश मान श्रेष्ठ सहभागी रहनु भएको उक्त भेटवार्ताका अवसरमा महासंघका तर्फबाट अध्यक्ष राणाले मुलुकभित्र उद्योग व्यवसाय एवं लगानीको वातावरण बनाउन अर्थमन्त्री समक्ष अनुरोध गर्नुभयो । 



अध्यक्ष राणाले मुलुकभित्र स्वदेशी एवं विदेशी लगानी आकर्षित हुने वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण गराउनु हुंदै विशेषगरी छिमेकी देशहरूबाट लगानी आकर्षणमा राज्यको ध्यान जानुपर्ने र सोका लागि नीतिगत स्थिरता, व्यवसायिक सुरक्षा, लगानी मैत्री वातावरण निर्माण जस्ता कुरा सरकारको मुख्य प्राथमिकता हुनुपर्नेमा जोड दिनु भयो । उद्यमी व्यवसायीहरूले भोगिरहेका समस्या राख्नुहुंदै अध्यक्ष राणाले अनुसन्धानका नाउंमा आआफ्नो क्षेत्राधिकार भन्दा बाहिर गई उद्यमी व्यवसायी माथि गरिएका धरपकड तथा मुद्दा लगायतका कार्यहरूबाट उद्यमी व्यवसायीहरू त्रसित भैरहेको र उद्योग व्यवसायनै बन्द हुने परिस्थिति निर्माण हुंदै गएकाले अर्थमन्त्रालयबाट विशेष पहल हुन अनुरोध गर्नुभयो । 
अध्यक्ष राणाले बैकिङ ब्याज दर छिटो छिटो परिवर्तन नहुने व्यवस्था हुनुपर्ने, उद्योगको लागि न्यून ब्याजदरमा ऋण प्रवाह हुने व्यवस्था हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाको हालको स्प्रेडदर (Spread Rate) कम गर्नुपर्ने, प्रशासकीय पुनरावलोकन र राजस्व न्यायाधिकरणमा जाँदा धरौटी राख्न नपर्ने व्यवस्था हुनुपर्ने, राजस्व न्यायाधिकरण ऐन २०३१ समसामयिक रुपमा संशोधन गरिनु पर्ने, राजस्व न्यायाधिकरणमा स्वतन्त्र व्यक्ति नियुक्त हुने व्यवस्था हुनु पर्ने लगायतका सुझाव सो अवसरमा राख्नु भयो ।

व्यापार घाटा उच्च गतिमा बढीरहेकाले स्वदेशी उद्योगको विकास एवं विस्तारमा जोडदिनु पर्ने र बढ्दो आयातलाई प्रतिस्थापन गर्न निर्यातलाई प्रवर्द्धन गरिनु पर्ने, सरकारको पूँजीगत खर्च समय मै खर्च हुने व्यवस्थामा अत्यन्त चनाखो हुनुपर्ने, औद्योगिक प्रवर्द्धन गर्न व्यवस्था भएका छुट र सुविधालाई पछि ल्याइने राजस्व नीतिले काट्न नहुने, प्रत्यक्ष वैदेशिक लगानीलाई निरुत्साहित हुने गरी राजस्व नीति तथा कार्यक्रम ल्याउन नहुने, औद्योगिक नीति, वाणिज्य नीति लगायतका नीतिसँग नबाझिने गरी एकरूपता कायम गरी राजस्व नीति ल्याउन सदैव चनाखो हुनुपर्ने कुरामा अध्यक्ष राणाले जोड दिनु भयो । 

सो अवसरमा भएको छलफलमा महासंघका तर्फबाट उपभोक्ता संरक्षण सम्बन्धी कानूनमा निजी क्षेत्रसंग समेत पर्याप्त छलफल पश्चातमात्र संसदमा लगिनुपर्ने, स्वदेशी लगानी प्रवर्द्धन, पर्यटन विकासका लागि अत्यावश्यक पूर्वाधार निर्माणमा राज्यको ध्यान जानुपर्ने, चीनले अगाडी सारेको एक क्षेत्र एक रोड (One Belt One Road) परियोजना अन्तरगत नेपालमा ठूलाठूला परियोजनामा चिनीयां लगानी आकर्षित गर्नुपर्ने, बंगलादेशसंग पावर ट्रेड एग्रिमेन्ट गर्नुपर्ने, राष्ट्रिय गौरवका आयोजनाहरूलाई तिव्ररुपमा अगाडी बढाउनु पर्ने, अन्तरमन्त्रालय समन्वय हुनुपर्ने, साफ्टा (SAFTA) को प्रावधान अनुसार कृषि टायरमा दिइँदै आएको सहुलियत दिनुपर्ने, आौद्योगिक सुरक्षा बललाई बढी प्रभावकारी वनाउन साधन स्रोत सम्पन्न बनाउनु पर्ने,स्वदेशी उद्योग प्रवर्द्धन गर्ने माहौल बनाउनु पर्ने, स्वदेशी उद्योगहरूको प्रवर्द्धनका लागि प्रदर्शनी कक्षको व्यवस्था गर्नुपर्ने, मेला महोत्सव आयोजनामा आयकर लिने प्रथाको सुरुवात भएकाले त्यसको अन्त्य गरिनुपर्ने लगायतका सुझावहरू राखिएको थियो । 

महासंघ प्रतिनिधिमण्डलाई संवोधन गर्नुहुदै अर्थमन्त्री कार्कीले उद्यमी व्यवसायीलाई सम्मान र प्रोत्साहन गर्न आफूले भरमग्दूर प्रयत्न गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकासमा आफ्नो मुख्य जोड रहने स्पष्ट पार्नुभयो । आफ्नो चाहना राष्ट्रको आर्थिक समृद्धिनै भएकाले उद्यमी व्यवसायीहरूसंग नजिकमा रहेर कार्य गर्ने विश्वास समेत उहांले दिलाउनु भयो । महासंघले उठाएका समस्याहरूलाई आफू र आफ्नो मन्त्रालयले अध्ययन गर्ने र त्यसक्रममा अझ बढी गहनरुपमा महासंघसंग पुन बसेर छलफल गरी व्यवहारिक सुझावलाई कार्यान्वयन गर्ने दृढता प्रकट गर्नुहुंदै अर्थमन्त्री कार्कीले त्यसमा आफूलाई सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by