Jun 30, 2017
अज्ञात समूहबाट गत जेठ २६ गतेदेखि अपहरणमा परी सम्पर्क विहीन हुनुभएका तुलसीपुरस्थित बुटवल वस्त्रालयका संचालक एवं तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष तथा सल्लाहकार राज कुमार श्रेष्ठ मृत अवस्थामा फेला परेको भन्ने समाचारबाट नेपाल उद्योग वाणिज्य महासंघ स्तब्ध भएको छ । घटना प्रति गहिरो दु:ख व्यक्त गर्दै अपहरणमा संलग्न आततायीहरूको उक्त बर्बर कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछ ।

घटनामा संलग्न अपराधीहरूलाई हदैसम्मको कारवाही हुन महासंघ सरकारसंग जोडदार माग गर्दछ । उद्यमी व्यवसायीहरूलाई अपहरण गर्ने, धम्की दिने कार्य बढिरहेको र उनीहरू असुरक्षित भैरहेको कुरा महासंघले बारम्बार उठाउँदै आउँदा पनि सरकारबाट सुरक्षाको उचित प्रबन्ध नहुँदा आज यो दु:खद घटना हुन पुगेको हाम्रो ठम्याई छ । 

सरकारलाई सबै भन्दा बढी राजस्व तिर्ने उद्यमी व्यवसायी वर्ग नै असुरक्षित हुँदा निजी क्षेत्र अत्यन्त दु:खित भएको छ, बेसहारा महसूस गरिरहेको छ । अत: यस्ता अपराधिक कार्यमा संलग्न अपराधीहरूलाई जनताले देख्ने गरी कानूनी कारवाही गर्न, मुलुक भित्र शान्ति सुरक्षाको अवस्था मजबुत भएको आभास दिलाउन र मृतकका परिवारप्रति उचित क्षतिपूर्तिको प्रबन्ध मिलाउन समेत सरकारसंग जोडदार माग गर्दछ । 

यस मर्माहत घडीमा शोकमा रहेको श्रेष्ठ परिवारप्रति महासंघ हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दछ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by