Jul 21, 2017
नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र महासंघ बीच समझदारीपत्रमा हस्ताक्षर (२०७४/४/६)

नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ बीच आज सिंहदरवारमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालको संविधान तथा प्रचलित कानुनको अधिनमा रही संघीय संरचना अनुसार स्थानीय तहमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उद्योग वाणिज्य संघ/इकाईहरू बीच आपसी सहयोग र सहकार्य गर्ने उद्देश्यले सो सहमती भएको हो । 

नेपाल सरकार उपप्रधानमन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालय र महासंघ बीच सो समझदारीपत्रमा हस्ताक्षर गरिएको र समझदारी आजैका मितिदेखि लागू हुने समेत सो अवसरमा जानकारी गराइएको थियो ।



संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलियाको समुपस्थितिमा समझदारीपत्रमा महासंघका तर्फबाट अध्यक्ष भवानी राणा र मन्त्रालयका तर्फबाट सह सचिव रुद्रसिंह तामाङले हस्ताक्षर गर्नुभयो । 

महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघको कार्यकारिणी समितिका सदस्यहरु दिनेश श्रेष्ठ, गुणनिधि तिवारी, सो मन्त्रालयका उच्च अधिकारीहरु, महासंघका महासचिव सुरेश मान श्रेष्ठ, उपमहासचिव उमाकान्त पराजुली, निर्देशक मीना श्रेष्ठ समेतको उपस्थिति रहेको सो कार्यक्रमलाई संवोधन गर्नुहुंदै सचिव थपलियाले निजी क्षेत्रको छाता संस्थासंग यस किसिमको सम्झौता गरेर नेपाल सरकारले ऐतिहासिक कार्यको थालनी गरेको बताउनुभयो ।

सरकार र निजी क्षेत्र बीचको यो सहकार्य ऐतिहासिक रहेको बताउनु हुंदै स्थानीय तहको आर्थिक विकासमा निजी क्षेत्रसंगको यो सहकार्य कोशेढुंगा हुने विश्वास समेत प्रकट गर्नुभयो । नेपाल सरकार र निजी क्षेत्रसंग सहकार्यका कुरा कानून मै व्यवस्था भएतापनि त्यसको सहि कार्यान्वयन नभइरहेको अवस्थामा आजबाट नयाँ कार्यको थालनी भएको समेत सचिव थपलियाले स्पष्ट पार्नुभयो । 

कार्यक्रमलाई संबोधन गर्नुहुंदै महासंघका अध्यक्ष भवानी राणाले निजी क्षेत्रले स्थानीय विकास एवं आर्थिक रुपान्तरणका लागि कार्य गरिरहंदा निर्वाचन पश्चात नेपाल सरकारका ७४४ ईकाईसंग सहकार्य गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्नुहुंदै यस सम्झौताले निजी क्षेत्रलाई उत्साहित बनाएको बताउनु भयो । अध्यक्ष राणाले सम्झौता अनुसार सहकार्य गरेर कार्य गर्दा राष्ट्रले विकासको फड्को मार्ने निजी क्षेत्रको विश्वास रहेको बताउनु भयो । 

अध्यक्ष राणाले नेपाल सरकारको चासो एवं परिणाममुखी कार्यको प्रशंसा गर्नुहुंदै सम्झौता एवं सहकार्यको वातावरण सृजना गरेकोमा महासंघ तथा सिंगो निजी क्षेत्रको तर्फबाट नेपाल सरकारमा धन्यवाद समेत व्यक्त गर्नुभयो । 

हस्ताक्षर पश्चात कार्यक्रमलाई संवोधन गर्नुहुंदै सहसचिव तामाङले सम्झौताको उद्देश्यका बारेमा आफ्ना भनाई राख्नुभयो । निजी क्षेत्रसंगको सहकार्यबाट स्थानीयस्तरदेखि नै विकास निर्माणका कार्यमा सहज भई समग्र देश विकासमा टेवा पुग्ने विश्वास समेत सहसचिव तामाङले प्रकट गर्नुभयो । 
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by