Jul 25, 2017
महासंघ प्रतिनिधिमण्डल र उपप्रधान तथा परराष्ट्र मन्त्री बीच भेटवार्ता: नेपाली कुटनीतिक नियोगहरुलाई निश्चित लक्ष्यसहितको कार्यक्रम दिएर पठाउनुपर्ने सुझाव (२०७४/४/१०)

मुलुकको आर्थिक कुटनीतिलाई चुस्तदुरुस्त पार्दै विभिन्न देशहरुमा रहेका नेपाली कुटनीतिक नियोगहरुलाई निश्चित लक्ष्यसहितको कार्यक्रम दिएर पठाउनुपर्ने र निर्यातमुखी कुटनीतिलाई विशेष ध्यान दिनुपर्ने सुझाव नेपाल उद्योग वाणिज्य महासंघले दिएको छ । महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा समक्ष आज परराष्ट्र मन्त्रालयमा भेटगरी सो सुझाव दिएको हो ।



तीव्ररुपमा आर्थिक विकासमा अगाडी बढेका भारत र चीन तथा अन्य विकसित देशहरुबाट समेत नेपालमा पूर्वाधार तथा उर्जा विकासमा अधिकभन्दा अधिक लगानी भित्र्याउन तथा नेपालको पर्यटनका वारे ती देशहरुमा प्रवद्र्धन गरी पर्यटक आकर्षण समेत गर्न हाम्रो कुटनीति सक्रिय हुनुपर्ने सुझाव सो अवसरमा महासंघका तर्फबाट दिइयो । नेपालमा लगानी बढाउन के कस्ता अवरोधहरु छन् पहिचान सहित लगानी आकर्षणमा आर्थिक कुटनीतिको परिचालन सशक्त ढंगबाट गर्नुपर्ने बेला आएको अध्यक्ष राणाले सो अवसरमा बताउनु भयो । 

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, महासचिव सुरेश मान श्रेष्ठ, निर्देशक मीना श्रेष्ठ सम्मिलित महासंघको प्रतिनिधिमण्डलले भेटवार्ताका क्रममा विश्वका विभिन्न देशहरुमा नेपालको प्रतिनिधित्व गर्ने कुटनीतिक मिसनलाई अव निश्चित लक्ष्यका साथ परिचालन गर्नुपर्नेमा जोड दियो । अध्यक्ष राणाले राज्यले गर्ने विभिन्नस्तरको उच्चस्तरीय भ्रमणमा निजी क्षेत्रको सशक्त सहभागिता गराइनुपर्नेमा समेत जोड दिनुभयो ।

सो अवसरमा परराष्ट्र मन्त्री महराले महासंघले मुलुकको आर्थिक विकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै महासंघले उठाएका मागलाई सम्बोधन गर्न आफू र आफ्नो मन्त्रालयको सहयोग रहने विश्वास दिलाउनु भयो । कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकमा ‘द्विपक्षीय पराशर्म संयन्त्र’मार्फत आर्थिक कुटनीतिलाई प्रभावकारी बनाईने समेत उहांले विश्वास दिलाउनु भयो । “द्विपक्षीय पराशर्म संयन्त्र भएका मुलुकमा संयन्त्र मार्फत र नभएका मुलुकमा संयन्त्र स्थापना गरेर आर्थिक कुटनीतिलाई प्रभावकारी रुपमा अगाडि बढाइने स्पष्ट पार्नु भयो । 

परराष्ट्र नीतिसम्बन्धी सुझाव दिन बनेको उच्चस्तरीय कार्यदलमा पनि महासंघले महत्वपूर्ण सुझाव दिइरहेको विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री महराले अबका दिनमा राज्यले राजनीतिक भन्दा पनि आर्थिक मुद्दालाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने समेत बताउनुभयो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by