Jul 28, 2017
महासंघका पदाधिकारी र प्रहरी महानिरीक्षक बीच भेटवार्ता (२०७४/४/१२)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष्ँ भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डल र प्रहरी महानिरीक्षक प्रकाश अर्याल बीच प्रहरी प्रधान कार्यालय नक्सालमा आज भेटवार्ता सम्पन्न भयो । सो अवसरमा मुलुकको समसामयिक बिषय एवं व्यवसायीहरूले भोग्नुपरेका समस्याका विषयमा छलफल भयो  । 

सो अवसरमा महासंघका अध्यक्ष राणाले प्रहरी महानिरीक्षकलाई बधाई एवं शुभकामना दिनुहुंदै मुलुकभित्र शान्ति सुरक्षाको व्यवस्थालाई अझ बढी चुस्तदुरुस्त राख्ने काममा वर्तमान महानिरीक्षकको कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास प्रकट गर्नुभयो । उद्यमी व्यवसायी माथिको अपहरण, हत्या, लुटपाट, कार्यस्थलमै आक्रमण जस्ता गतिविधिहरु अहिले पनि भैरहेको तर्फ ध्यानाकर्षण गराउनुहुंदै शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी पार्न र सुरक्षाको प्रत्याभूति दिलाउन अध्यक्ष राणाले आग्रह गर्नुभयो । 

साथै अनुगमनका नाउँमा हुने धरपकडबाट उद्यमी व्यवसायीहरू पीडित हुनु परेकाले यस्ता समस्या समाधानमा आपसी सहकार्यमा जोड दिनु भयो । सो अवसरमा अध्यक्ष राणाले व्यवसायीहरुलाई परेको सुरक्षा सम्बन्धी समस्या सम्बन्धमा प्रहरीसंग समन्वय गर्न प्रहरी प्रधान कार्यालयमा सम्पर्क व्यक्तिको रुपमा एक जना उपयुक्त प्रहरी अधिकृतको व्यवस्था गर्न एवं नेपाल प्रहरीका अधिकृतहरुलाई आफ्नो तालिम प्रशिक्षणको समयमा महासंघको बारेमा जानकारी हुने किसिमको कार्यक्रमहरु आयोजना गरिनुपर्ने जसबाट निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघका बारेमा जानकारी सुरक्षा निकायलाई हुन जाँदा महासंघ र प्रहरी प्रधान कार्यलयको कार्य सम्पादनमा समेत सकारात्मक प्रभाव पर्नेमा जोड दिनुभयो । 

महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डीराज ढकाल, महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघ कार्यकारिणी समिति सदस्य दिनेश श्रेष्ठ, महासंघका महासचिव सुरेश मान श्रेष्ठ लगायतको उपस्थिति रहेको उक्त भेटवार्तामा महासंघको ७५ वटा जिल्लामा नै संजाल रहेकोले निजी क्षेत्र र प्रहरी बीच सहकार्यमा कार्य गर्दा दुबै पक्ष लावान्वित हुने विश्वास व्यक्त भयो । 

सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरी सदैव मुलुकको समस्या समाधानमा लागिपरेको र सफल भैरहेको बताउनुभयो । द्वन्द पश्चात जनतामा सुरक्षाको अनुभुति एवं व्यवसायीहरुमा व्यावसायिक सुरक्षा अनुभुति गराउने काममा प्रहरी खटिरहेको विश्वास दिलाउनु भयो । महासंघको तर्फबाट दिइएको सुझावलाई आफूले महत्वपूर्ण लिएको भन्नुहुंदै उहांले महासंघसंगको अन्तरक्रिया लगायत आपसी सहकार्यमा व्यवसायिक सुरक्षाका विषयमा अन्तरक्रिया आयोजना लगायतका विषयमा छलफल गरि छिट्टैनै जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by