Aug 01, 2017
भन्सार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न (२०७४/४/१७)
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाको अध्यक्षता एवं भन्सार विभागका  महानिर्देशक रामशरण चिमोरियाको उपस्थितिमा भन्सार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज महासंघ सचिवालयमा सम्पन्न गरियो । 

काठमाडांैमा हुनगैरहेका २ दिने भन्सार मूल्याङकन गोष्ठीको पूर्व संध्यामा व्यवसायीहरूको सुझाव संकलनका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले आ– आफ्नो क्षेत्रको समस्याहरू राख्दै त्यसका समाधानकालागि पहल गर्न आग्रह गरियो ।  

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष उमेश लाल श्रेष्ठ, महासंघका कार्यकारिणी समितिका सदस्यहरू, महासंघका महासचिव सुरेश मान श्रेष्ठ, भन्सार विभागका उपमहानिर्देश शोभाकान्त पौडेल, कस्टमका निर्देशक देवी प्रसाद भण्डारी महासंघका सदस्य संघहरू जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, लगायतका उपस्थित कार्यक्रममा भारतले लागू गरेको जीएसटीको नेपाली साना उद्योगहरूमा पर्ने प्रभाव, कुरियर सम्बन्धी समस्या, औषधी उद्योग एवं व्यवसायमा भएको समस्या, पश्मिना, मोटर, हस्तकला, लगायतका विभिन्न उद्योग व्यवसायमा भएका भन्सार सम्बन्धी समस्या एवं कठिनाइहरूलाई समाधान गर्न लिखित एवं मौखिक सुझाव पेश गरियो । 

सो अवसरमा भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले उद्योगी व्यवसायिहरूबाट उठेका जिज्ञासा एवं समस्याका बारेमा सम्बोधन गर्नुहुँदै भन्सार विभागले प्रभावकारी ढंगबाट रहेको बताउनुभयो । भन्सार सम्बन्धी समस्याहरू समाधान गर्न विभाग सदैव लचिलो रहनुका साथै आगामी दिनमा समय सापेक्ष हुने समेत बताउनुभयो । विभागले सदैव ट्रेड सम्बन्धी विषयमा सहभागितामूलक कार्य गर्ने बताउनुहुँदै महानिर्देशक चिमोरियाले भन्सार विभागले व्यवसायीहरूलाई सरल र सहज वातावरण उपलब्ध गराउनुपर्छ भन्ने मान्यता राखेर काम गर्नुका साथै व्यवस्थापन कार्यमा पछिल्ला वर्षहरुमा तुलनात्मक रूपमा राम्रो कार्य गरिरहेको प्रष्ट पार्नुभयो । साथै महानिर्देशक चिमोरियाले आगामी दिनमा अत्याधुनिक तवरबाट अझ बढी प्रभावकारी व्यवस्थापन गरिने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रमलाई संबोधन गर्नुहुँदै महासंघका अध्यक्ष भवानी राणाले भन्सार मूल्याङकन सेमिनार हुनु अघि व्यवसायीहरूको सुझाव एवं समस्या राख्न प्रदान गर्नुभएको अवसरकालागि भंसार विभागलाई धन्यवाद व्यक्त गर्नुहुँदै विश्व व्यापी रूपमा व्यवसायिक प्रतिस्पर्धा गर्नकालागि कसरी उत्पादन लागत घटाउन सकिन्छ त्यसमा लाग्न जरूरी रहेको बताउनुभयो । साथै, अध्यक्ष राणाले व्यवसायिहरूको सुझाव लागु गर्नका लागि समेत विशेष आग्रह गर्नुभयो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by