Aug 03, 2017
महासंघ प्रतिनिधिमण्डलद्वारा माननीय आपूर्ति मन्त्री समक्ष भेटवार्ता– कालोबजारी ऐनमा परिमार्जनको आवश्यकतामा जोड(२०७४/४/१८)
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलले आज माननीय आपूर्ति मन्त्री शिव कुमार मण्डल (केवट) समक्ष सिंहदरवारमा भेटवार्ता गर्‍यो । 

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समिति सदस्य दिनेश श्रेष्ठ र महासचिव सुरेश मान श्रेष्ठ सम्मिलित प्रतिनिधिमण्डलका तर्फबाट नवनियुक्त माननीय आपूर्ति मन्त्रीलाई बधाई दिनुका साथै आपूर्ति क्षेत्रका अतिरिक्त नीतिगत सुधार, आर्थिक व्यवसायिक विकासमा सरकार निजी क्षेत्र बीचको सहकार्य लगायतका विषयमा छलफल गरियो । 

आपूर्ति मन्त्री मण्डलसमक्ष भएको भेटवार्तामा महासंघका तर्फबाट सरकार निजी क्षेत्र बीचको सहकार्यमा विशेष जोड दिइयो । सो अवसरमा उपभोक्ता हित संरक्षण सम्बन्धी ऐनलाई निजी क्षेत्रको रायसल्लाह सुझाव समावेश गरी संसदमा पठाउनु पर्ने, दशकौं अगाडी देखिको कालोवजारी ऐनलाई समय सान्दर्भिक रूपमा परिमार्जन गरिनु पर्ने, सरकारको इजाजत लिएर संचालनमा आएका उद्योग व्यवसायलाई अपरझट कुनै नीतिगत परिवर्तन गरी इजाजत खारेज गर्नेसम्मको कार्य रोकिनु पर्ने, उद्यमी व्यवसायीहरूलाई हतोत्साहित पार्ने, उनीहरूको मानमर्दन गर्ने, दोषी प्रमाणित हुनुपूर्वनै सजाय दिने कार्य तत्काल रोकिनु पर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको थियो । त्यसैगरी मुलुकभित्र स्वदेशी लगानी प्रोत्साहित हुने वातावरण नवनेसम्म पर्याप्त विदेशी लगानी भित्रन नसक्ने भन्दै स्वदेशी लगानी प्रोत्साहित हुने वातावरण बनाउनु पर्नेमा जोड दिइयो । 

आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राई, मन्त्रालयका उच्च अधिकारी समेत सहभागी रहनु भएको उक्त भेटवार्तामा आपूर्ति मन्त्री मण्डलले मुलुकको आर्थिक समृद्धिमा आफू र आफ्नो मन्त्रालयले निजी क्षेत्रलाई एक साथ लैजाने र महासंघले उठाएका विषयहरूलाई मन्त्रालयले संवोधन गर्ने विश्वास दिलाउनु भयो । सरकार र निजी क्षेत्र एक सिक्काका दुई पाटा भएकाले मुलुकभित्र निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन आफू र आफ्ना सिंगो मन्त्रालयनै लाग्ने प्रतिबद्धता जनाउनु भयो । उपभोक्ता हित संरक्षण ऐनका विषयमा महासंघ सहित निजी क्षेत्रले दिएका सुझावहरूलाई सक्दो समावेश गराउने र संसदको सरोकारवाला समितिमा पनि निजी क्षेत्रसंग छलफल हुने हुंदा निजी क्षेत्रलाई आफ्ना सुझावहरू निरन्तर राख्न आग्रह गर्नुभयो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by