Aug 17, 2017
श्रम ऐन तथा सामाजिक सुरक्षा ऐनका विषयमा  महासंघमा अन्तरक्रिया कार्यक्रम सम्पन्न (२०७४/५/१)

संसदबाट हालै पारित श्रम ऐन तथा सामाजिक सुरक्षा ऐनका विषयमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा रोजगारदाता र ट्ेरड युनियनहरूको सहभागितामा आज महासंघ सचिवालयमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । 

उक्त अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष भवानी राणाले निजी क्षेत्र एवं ट्रेड युनियनहरुको लामो प्रयास पश्चात रोजारदाता र ट्रेड यूनियन बीच भएको सहमतिको प्रतिफल स्वरूप श्रम ऐन र सामाजिक सुरक्षा ऐन संसदबाट पारित भएकोमा खुशी प्रकट गर्दै यी ऐनहरु पारितसँगै नेपालको श्रम सम्बन्ध नयाँ आयामतर्फ उन्मुख भएको बताउनु भयो । 

पारित श्रम ऐन र सामाजिक सुरक्षा ऐनले समग्र क्षेत्रलाई समेटी आवश्यक प्रावधानको व्यवस्था गरेको स्पष्ट पार्नुहुंदै अध्यक्ष राणाले श्रम क्षेत्रको सुधारको लागि यो नयाँ फड्को हुन सक्ने दावी गर्नुभयो । ऐनमा गरिएका व्यवस्थाहरूले ठूलो संख्यामा रहेको स साना उद्योग र व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्ने हुँदा यसको कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको समेत बताउनु हुंदै अध्यक्ष राणाले यसको सफल कार्यान्वयनका लागि रोजगारदाता र ट्रेड युनियन बीच थप समझदारी र सहकार्यको आवश्यकतामा जोड दिनु भयो । (अध्यक्ष राणाले दिनु भएको मन्तव्य पारित ऐनका प्रमुख प्रावधानहरु यसैसाथ संलग्न छन्)



महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले श्रम ऐन र सामाजिक सुरक्षा ऐनको कार्यान्वयनबाट श्रम क्षेत्रमा विद्यमान समस्याको अन्त्य भई औद्योगिक विकासले गति लिने विश्वास प्रकट गर्नुभयो । श्रम ऐन र सामाजिक सुरक्षा ऐन मस्यौदा तयार गर्ने क्रममा रोजगारदाता र ट्रेड यूनियनहरू बीच भएको सहकार्यबाट आजको सफलता प्राप्त भएको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताउनु भयो । 

महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले श्रम ऐन र सामाजिक सुरक्षा ऐनको कार्यान्वयनबाट श्रम क्षेत्र थप व्यवस्थित एवं मर्यादित हुने धारणा राख्नुहुँदै नेपालको श्रम सम्वन्ध, पारस्पारिक विश्वास र सहयोगका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विष्णु रिमालले पारित ऐनबाट भयरहित वातावरणमा काम गर्न ढोका खुलेको बताउनु हुंदै दुवै पक्षको “जीत जीत”को वातावरणमा ऐन पारित भएको बताउनु भयो । यसको सफल कार्यान्वयनमा दुवै पक्ष प्रतिवद्धताका साथ लाग्नु पर्ने कुरामा जोड दिनुहुँदै यसका लागि सुभकामना समेत दिनु भयो । 

नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयूसी) का अध्यक्ष खिलानाथ दाहालले पारित ऐनले सवै क्षेत्रलाई समेटेको बताउनु हुंदै यसको सफल कार्यान्वयनका क्रममा कुनै समस्या आएमा दुवै पक्ष एकै ठाउंमा बसेर हल गर्न सकिने धारणा राख्नु भयो । 

आइएलओ गभरनिङ वडीका डेपुटी मेम्वर वृन्दा पाण्डेले पारित ऐनले अन्तराष्ट्रिय समूदायमा राम्रो संदेश दिएको भन्दै रोजगारदाता र ट्रेड यूनियन बीच नयां सँस्कारको शुरुवात भएकोमा खुशी व्यक्त गर्दै ऐनलाई सफल रुपमा कार्यान्वयनमा लैजान दुवै पक्ष सफल हुने विश्वास प्रकट गर्नुभयो । 



आइएलओका देशिय निर्देशक डा. रिचार्ड हवार्ड (Dr. Richard Howard, Country Director ILO, Nepal) ले ऐन पारित भएको दिन नेपालको रोजगारदाता र ट्रेडयूनियनहरूका लागि महत्वपूर्ण दिन भएको भन्दै नेपालमा औद्योगिक विकास मार्फत रोजजारी सृजनामा यो ऐन महत्वपूर्ण खुड्किलो हुने विश्वास प्रकट गर्नुभयो । ऐनको मस्यौदा तयारीदेखिनै प्राविधिक सहयोग गर्न पाएकोमा आइएलओका तर्फबाट खुशी समेत प्रकट गर्नुभयो । 

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका महासचिव सुरेश मान श्रेष्ठ, उद्यमी व्यवसायीहरु समेतको सहभागितामा आयोजित अन्तरक्रिया कार्यक्रममा रोजगारदाता परिषदका उपसभापति भरतराज आचार्यले ऐनको सफल कार्यान्वयन उद्योग व्यवसायको विकास, रोजगारी सृजना र लगानीको अवसरबाट मात्र मापन गर्न सकिने भएकाले रोजगारदाता र ट्रेड यूनियनले सुमधुर औद्योगिक सम्बन्ध विस्तारका साथ लगानीको वातावरण बनाउन थप क्रियाशिल रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो । Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by