Aug 21, 2017
नेपाल र स्पेन बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा जोड (२०७४/०५/०५)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघका पदाधिकारी र स्पेनका लागि नवनियुक्त नेपाली राजदुत भरत रायमाझी बीच आज महासंघ सचिवालायमा भेटवार्ता भयो । महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरु सहभागी रहनु भएको उक्त भेटवार्तामा नेपाल स्पेन बीचको आर्थिक व्यापारिक सम्बन्ध, लगानी, पर्यटन, आर्थिक कुटनीतिका विषयमा छलफल भयो । 
 

सो भेटवार्तामा महासंघका तर्फबाट नेपालमा जलविद्युत, पर्यटन, पेय पदार्थको उत्पादन लगायतका क्षेत्रमा स्पेनी लगानी एवं प्रविधि भित्रयाउन कुटनीतिक पहल हुनुपर्नेमा जोड दिइयो । विशेष गरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरुको प्रवद्र्धन गर्न आर्थिक कुटनीति सक्रिय हुनुपर्नेमा जोड दिइयो । धेरै वस्तुहरु भन्दा पनि केही खासखास नेपाली मौलिक पहिचान दिने उत्पादनहरुको प्रवद्र्धन गरी निर्यात बढाउन सके नेपालले स्पेनबाट निकै धेरै लाभ उठाउन सक्ने सुझाव सो अवसरमा दिइयो ।   

नवनियुक्त राजदूत रायमाझीले महासंघसंगको भेटघाट महत्वपूर्ण भएको बताउनु भयो । राजदूत रायमाझीले आफ्नो कार्यकालमा नेपाल र स्पेन बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने, नेपाली र स्पेनी निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा आफूले पहल गर्ने विश्वास दिलाउनु भयो । निजी क्षेत्रको सुझाव अनुसार आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रवद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा महासंघसंग सम्पर्कमा रहेर कार्य गर्ने समेत बताउनु भयो । 

महासंघमा प्राप्त पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०१५/०१६ मा नेपालले स्पेनतर्फ करिव रु. ३६ करोडको मुल्य वरावरका नेपाली वस्तु निर्यात र करिव रु. ८५ करोड मुल्य वरावरका सामाना आयात गरेको पाइन्छ । नेपालले स्पेनतर्फ विशेष गरी तयारी पोशाक, गलैचा, हस्तकलाका सामग्रीहरु निर्यात गर्दैै आएको र स्पेनबाट मेशिनरी पार्टपूर्जाहरु, खाद्य वस्तुका लागि आवश्यक कच्चा पदार्थ, मेडिकल उपकरणहरु तथा पेय पदार्थ आयात गर्दै आएको पाइन्छ । 

सन् २०१६ मा जम्मा १२ हजार २ सय ५० स्पेनी पर्यटकले नेपाल भ्रमण गरेको पाइन्छ जुन नेपाल आउने कूल पर्यटकको करिव १ दशमलव ६ प्रतिशत हो । हालसम्म पर्यटन, उत्पादनमुलक, निर्माण लगायतका क्षेत्रमा नेपालमा करिव रु. २ अर्व स्पेनी लगानी भित्रिएको छ । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by