Aug 23, 2017

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले आजबाट गर्नुभएको मित्रराष्ट्र भारतको ५ दिने राजकीय भ्रमणमा निजी क्षेत्रको तर्फबाट सहभागी भई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्यो । 

प्रधानमन्त्रीका साथ भारत जाने महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरु अन्जन श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, ओम बहादुर राजभण्डारी, सौरभ ज्योति, भरतराज आचार्य, शाहिल अग्रवाल, हेमराज ढकाल, शिव प्रसाद घिमिरे, शंकर बोकटी,  स्वतन्त्र उर्जा उत्पादक संघ(इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईं, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैध, महासंघका उपनिर्देशक अनुप कुमार श्रेष्ठ, पत्रकारहरू कुवेर चालिसे, शिव दवाडी र कृष्ण रिजाल हुनुहुन्छ ।

भारतमा रहँदा महासंघको प्रतिनिधिमण्डल, सम्माननीय प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरूमा सहभागी हुनुको साथै महासंघको समकक्षी भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry-CII), भारतीय उद्योग वाणिज्य महासंघ (Federation of Indian Chambers of Commerce and Industry-FICCI) र एसोचेम (ASSOCHAM) लगायतका व्यसायिक संघ/संस्थाहरूले संयुक्त रुपमा आयोजना गर्ने व्यवसायिक कार्यक्रममा सरिक हुनेछ । उक्त कार्यक्रमलाई महासंघका अध्यक्ष राणाबाट संवोधन हुने कार्यक्रम छ । 

त्यसैगरी भ्रमणको क्रममा महासंघको प्रतिनिधिमण्डलले वाणिज्य मन्त्री निर्मला सितारमण (Hon'ble Commerce Minister Nirmala Sitharaman), उर्जा मन्त्रालय, पर्यटन मन्त्रालय र भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry-CII) अध्यक्ष सहित पदाधिकारीहरूसंग भेटघाट गर्नुका साथै नेपाली राजदूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछ । सोे अवसरमा महासंघका तर्फबाट द्विपक्षीय व्यापार तथा ती क्षेत्रमा नेपालमा भारतीय लगानी विस्तारका लागि पहल समेत गर्नेछ । महासंघको प्रतिनिधिमण्डलमा बैंकिङ, खानीजन्य, यातायात, ऊर्जा, निर्माण, कृषि, तयारी पोशाक, पर्यटन, शिक्षा स्वास्थ्य,  अटोमोवाइल, हस्तकला, उत्पादनमूलक क्षेत्रको प्रतिनिधित्व रहेको छ । 

महासंघको प्रतिनिधिमण्डल शुक्रवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by