Aug 24, 2017
नेपाल-भारत व्यवसायिक फोरम बैठकलाई महासंघका अध्यक्ष राणाबाट संवोधन - नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई अध्यक्ष राणाबाट आग्रह (२०७४/५/८)

भारतको पाँचदिने राजकीय भ्रमणमा रहनु भएका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry-CII), भारतीय उद्योग वाणिज्य महासंघ (Federation of Indian Chambers of Commerce and Industry-FICCI) र भारतीय व्यवसायिक संस्था एसोचेम (ASSOCHAM) द्वारा संयुक्तरूपमा हिजो नयां दिल्लीमा आयोजित नेपाल-भारत व्यवसायिक फोरम (Nepal-India Business Forum) बैठकलाई नेपाली निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले संबोधन गर्नुभयो । (संवोधनको अंग्रेजीपाठ यसैसाथ संलग्न)

सम्माननीय प्रधानमन्त्री देउवाको प्रमुख आतिथ्यतामा दुवै देशका सरकारी तथा निजी क्षेत्रका उच्च व्यक्तित्वहरू, लगानीकर्ताहरू, उद्यमी व्यवसायीहरू सहभागी रहनु भएको उक्त बैठकमा महासंघका अध्यक्ष राणाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्नु्भयो । अध्यक्ष राणाले नेपालमा संचालित भारतीय संयु्क्त लगानीका कम्पनीहरुले निकै धेरै नाफा कमाईरहेको उदाहरण समेत दिनु भयो ।

नेपालका लागि यतिखेर बाह्य लगानी तथा प्रविधिको अत्यन्त खांचो रहेको बताउनु हुंदै अध्यक्ष राणाले नेपालमा यो समय, लगानीको लागि निकै उपयुक्त रहेको समेत स्पष्ट पार्नुभयो । अध्यक्ष राणाले नेपाल सरकारले सबै प्रकारको लगानीका लागि उपयुक्त वातावरण बनाउंदै गएको समेत भारतीय लगानीकर्ताहरूलाई विश्वास दिलाउनु भयो । 

नेपाल समृद्धिको मार्गतर्फ अगाडी बढिरहेको वर्तमान समयमा सम्माननीय प्रधानमन्त्रीबाट छिमेकी देश भारतको भ्रमण भएको स्पष्ट पार्नुहुंदै अध्यक्ष राणाले यद्यपी भारतसंगको व्यापार घाटा नेपालको लागि प्रमुख चासोको विषय भए पनि दुवै देशको व्यापार आयतन निरन्तर बढीरहेको र आर्थिक तथा व्यापारिक आधारहरू समेत मजवुत हुंदै गएकाले नेपालले भारत सरकार तथा निजी क्षेत्रबाट समेत बढी भन्दा बढी लगानीको अपेक्षा गरेको बताउनु भयो । 

यतिखेरनै नेपालमा लगानीको सही समय भएको बारे जोडदिनुहुंदै अध्यक्ष राणाले नेपालमा पर्याप्त लगानी गरी दुवै देशका जनताहरूलाई लाभान्वित बनाउन भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो । अध्यक्ष राणाले आफ्नो संबोधनका क्रममा भन्नु भयो - नेपालमा हामीले विगतदेखिनै औल्याउंदै आएको लगानीको वातावरणमा मुख्य तगारो बनेको राजनीतिक अस्थिरता नयाँ संविधानको घोषणासंगै अन्त्य हुंदै गएको छ । राजनीतिक नेतृत्वबाट आर्थिक मुद्दालाई मुख्य प्राथमिकतामा राखेर अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त भैसकेको छ । 

मुलुकभित्र लगानी आकर्षण तथा व्यवसायिक लागत कम गर्ने तर्फ प्रभावकारी संयन्त्र निर्माणमा सरकार केन्द्रित भएको अध्यक्ष राणाले स्पष्ट पार्नु भयो । यसका लागि सरकारले दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रमलाई अगाडी बढाएको, लगानी आकर्षणका लागि आवश्यक ऐनहरू जस्तो औद्योगिक व्यवसायिक ऐन, कम्पनी ऐन, श्रम तथा सामाजिक सुरक्षा ऐनहरू पारित भैसकेको समेत उहाँले जानकारी गराउनु भयो । साथै केही महत्वपूर्ण ऐनहरू यस अघिनै आइसकेको स्पष्ट पार्नुहुंदै वहुप्रतिक्षित वैदेशिक लगानी सम्बन्धी ऐन पनि छिट्टै संसदले पारित हुने उहाँले विश्वास दिलाउनु भयो । यसले नेपाल सरकार निजी क्षेत्रको नेतृत्वमा आर्थिक बृद्धिका लागि प्रतिबद्ध छ भन्ने संदेश दिएको अध्यक्ष राणाले बताउनु भयो । 

आफ्नो संवोधनका क्रममा अध्यक्ष राणाले गएको दुई दशक आफ्नो आर्थिक तथा राजनीतिक इतिहासमा नेपाल अत्यन्त पीडादायी समयबाट गुज्रन पुगेको बताउनुहुंदै लामो आन्तरिक द्वन्द तथा प्राकृतिक विपत्ति नेपालको विकास पथमा बाधकको रूपमा रहन गएको बताउनु भयो । तर जे भएपनि नेपालको अर्थतन्त्रका सूचकाङ्कहरू कठिन घडीमा पनि राम्रो रहन गएको स्पष्ट पार्नुहुंदै गएको आर्थिक वर्ष नेपालले यस क्षेत्रकै उच्च ६.९ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्दा हामीलाई निकै ऊर्जा दिएको बताउनु भयो ।   

अध्यक्ष राणाले भन्नु भयो - केही महत्वपूर्ण क्षेत्रहरू जस्तो सेवामूलक व्यवसाय, उत्पादमूलक र कृषि प्रशोधनमा स्थानीय लगानी तीव्ररूपमा बृद्धि भैरहेको छ । त्यसैगरी जलविद्युत, पूर्वाधार निर्माण तथा उत्पादमूलक क्षेत्रमा पनि लगानी ठूलोमात्रामा वृद्धि भैरहेको छ । गएको वर्ष सम्पन्न नेपाल लगानी वर्षमा करिव १४ खर्वको वैदेशिक लगानीको प्रतिबद्धतामा आएको छ । हालैमात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (Millennium Challenge Corporation of USA) ले नेपालमा ऊर्जा तथा यातायात क्षेत्रको विकासका लागि करिव ५०० मिलियन अमेरिकी डलर लगानीको स्वीकृत गरिसकेको छ । यसले समगमा नेपालमा वैदेशिक लगानीको वातावरण तीव्ररूपमा बन्दै गएको संदेश दिएको छ । 

सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा सरकारले हालै माथिल्लो कर्णाली र अरुण तेस्रो ९०० मेगावाट जलविद्युत आयोजना अगाडी बढाउने निर्णय गरिसकेको छ । यी ठूला परियोजनाहरू निर्धारित समयभित्रै सम्पन्न हुने हाम्रो विश्वास छ । सरकारले ऊर्जा आपूर्तिमा गरेको प्रभाबकारी व्यवस्थापनका कारण लोडसेडिङ अन्त्य हुनुको साथै औद्योगिक क्षेत्रको उत्पादन क्षमता बढ्न गयो । छिट्टै सम्पन्न हुने विद्युतका ठूला आयोजना तथा अन्य ससाना आयोजनाबाट अव नेपालमा औद्योगिक क्षमता विस्तार हुनुको साथै उत्पादन क्षमतामा समेत सुधार हुने अपेक्षा निजी क्षेत्रले गरेको छ, अध्यक्ष राणाले भन्नु भयो । 

अध्यक्ष राणाले दुवै देशसंग रहेको ऊर्जावान यूवा शक्ति तथा अथाह प्राकृतिक स्रोतको अधिकतम उपयोग मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिनु भयो । सहकार्यको अर्को महत्वपूर्ण क्षेत्र पर्यटनलाई पनि एकसाथ लैजानुपर्नेमा जोडदिनु हुंदै त्यसका लागि धार्मिक पर्यटन महत्वपूर्ण कडी हुन सक्ने उहाँले बताउनु भयो । वुद्ध सर्किट तथा रामसीता जन्मभूमी सर्किटको विकास मार्फत संयुक्त रूपमा अगाडी बढ्न सके पर्यटन क्षेत्र मार्फत निकै धेरै लाभ उठाउन सकिने उहाँको सुझाव थियो । गएको हप्ता काठमाडौंमा सम्पन्न विम्स्टेक बैठकमा नेपाली निजी क्षेत्रले क्षेत्रीय आर्थिक सहकार्यमा जोड दिएको स्मरण गराउनुहुंदै उहाँले क्षेत्रीय सहकार्य मार्फत आर्थिक समृद्धि ल्याउन भारतीय निजी क्षेत्र एवं लगानीकर्ताहरूलाई अपिल समेत गर्नुभयो ।     

सन् १९९६ सम्पन्न नेपाल भारत व्यापार सन्धीमा महासंघ र सीआईआईले निकै मेहनतका साथ दुवै संस्थाको पहलमा गठन गरिएको संयुक्त आर्थिक परिषद (Joint Economic Council-JEC) मार्फत संयुक्तरुपमा सु्झाव हस्तान्तरण गरिएको स्मरण समेत अध्यक्ष राणाले गर्नुभयो । अध्यक्ष राणाले महासंघ र सीआईआईले संयुक्त रुपमा अन्तर्राष्ट्रिय आर्थिक सन्दर्भमा आपसी आर्थिक सहयोगका क्षेत्रहरूलाई नजिकमा बसेर विश्लेषण गरी द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजवुत बनाउन गृहकार्य गरिरहेको जानकारी समेत गराउनु भयो । अध्यक्ष राणाले दुवै संस्थाबाट संयुक्त रुपमा यसैवर्ष नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने कार्यक्रम रहेको बताउनु हुंदै कार्यक्रममा भारतीय लगानीकर्ताहरूको सहभागिताका लागि आग्रह समेत गर्नुभयो । 

प्रधानमन्त्रीको भ्रमण टोलीमा अध्यक्ष राणाको नेतृत्वमा रहेको महासंघको प्रतिनिधिमण्डल विभिन्न औपचारिक कार्यक्रमहरुमा सरिक भैरहेको छ । महासंघको प्रतिनिधिमण्डल भोली स्वदेश फर्कने कार्यक्रम छ ।
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by