Aug 25, 2017
महासंघबाट प्रभावित सात जिल्लाहरूमा राहत सामग्री पठाइयो, जिल्ला नगर उवासंघहरूबाट प्रभावित क्षेत्रमा निरन्तर सहयोग जारी (२०७४/५/९)

मुलुकभित्र गत साउन महिनाको अन्तिम साता परेको अविरल वर्षाबाट विभिन्न भागहरू विशेष गरी तराई क्षेत्रमा निकै ठूलो जनधनको क्षति हुन पुग्यो । आजसम्म पनि निकै ठूलो जनसंख्या डुवानमा रहन बाध्य भएको छ । उनीहरूले आफन्त गुमाएका छन् । अर्वौको मुल्यमा कृषि उत्पादन एवं चौपाय नोक्सान भएका छन् । अर्वौको पूर्वाधार नष्ट हुन पुग्यो । एक हिसावले भन्दा भूकम्प पछाडी सवैभन्दा निकै ठूलो प्राकृतिक विपत्तिको चपेटामा मुलुक पर्यो । 

मुलुकलाई परेको यो विपत्तिको वखत नेपाल उद्योग वाणिज्य महासंघले आफूले सक्दो सहयोग जारी राखेको छ । प्रारम्भमै महासंघले बाढी प्रभावित जिल्लाका सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई अग्रस्थानमा रहेर सेवा पुर्याउन आग्रह गर्यो । यसमा कार्य गर्न महासंघले यसकोे सामाजिक सेवा फोरमका सभापतिको संयोजकत्वमा बाढी पहिरो व्यवस्थापन कार्यदल २०७४ गठन गरी कार्य गरीरहेको छ । महासंघले प्रभावित जिल्लाका जनताहरूको सहयोगका लागि अहिले अहोरात्र राहत पठाउने काम गरी रहेको छ । महासंघ सचिवालय टेकुमै राहत सामग्र संकलन गरी त्यसलाई प्याकेजिङ गरी पठाउने कार्य भैरहेको छ । राहत सामग्री संकलन तथा त्यसको वितरण कार्य निरन्तर जारी रहेको छ । यसका लागि करिव पाँच दर्जन जति स्वयम् सेवक परिचालन गरी कार्य भैरहेको छ भने सहयोग जुटाउने काम महासंघले गरिरहेको छ । 

यसैगरी प्रभावित जिल्लाहरूमा महासंघसँग समन्वय गरी सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघहरूले अग्रस्थामा रहेर सहयोग गरिरहेका छन् । स्थानीय तहबाट राहत संकलन, वितरण, निःशुल्क भोजन, पानी वितरण, निःशुल्क स्वास्थ्य शिविर संचालन, अस्थायी शिविर निर्माण गरी प्रभावितहरूलाई राख्ने कार्यमा जिल्ला उद्योग वाणिज्य संघहरूले महत्वपूर्ण कार्य गरिरहेका छन् ।

महासंघले बाढीबाट बढी प्रभावित जिल्लाहरूको पहिचान गरी हालसम्म रौतहटको गौर, सुनसरीको इनरूवा, सप्तरीको राजविराज, सर्लाहीको मलंगवा, धनुषाको जनकपुर, महोत्तरीको गौशाला, नवलपरासीको परासीमा महासंघबाट सोझै राहत सामग्री पठाइसकेको छ । महासंघले पठाएको राहत सामग्री एक परिवारका लागि कम्तीमा एक महिनाका लागि पुग्ने खाद्यान्न रहेको छ । 



प्रति एक परिवारका लागि १ बक्स राहत सामग्री चामल २५ केजी, दाल ५ केजी, खानेतेल १ लिटर, गरम मसला १ पाकेट, नुन १ किलो, वाईवाई ३० प्याकेट, नेविको विस्कुट २० प्याकेट, सोयाविन १ किलो, डिटोल सावुन १ पिस, लुगा धुने सावुन १ पिस, पियूस पानी शुद्धिकरण १ पिस, चिनी १ केजी, जीवनजल ५ पाकेट, चिउरा ५ केजी रहेको छ । उक्त बक्समा एक थान त्रिपाल र अत्यावश्यक औषधि समेत समेटिएको छ । यसका साथै महासंघले प्रभावित क्षेत्रहरूमा डक्टर तथा नर्सहरूको टोली समेत पठाएको छ ।

महासंघद्वारा पठाइएका ती राहत सामग्रीहरू नेपाल सरकारको स्थानीय जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वयमा महासंघको स्थानीय उद्योग वाणिज्य संघहरूले प्रभावित जनताहरूलाई वितरण समेत गरिरहेका छन् । 

महासंघ र ब्रोडकाष्टिङ एसोसिएसन नेपालको संयुक्त पहलमा बाढी प्रभावित जिल्लाहरूमा जनचेतनामुलक रेडियो संदेश प्रचार प्रसार गरिनुका साथै सामाजिक संजाल, इमेल, फेसवुट, ट्वीटर, गो फण्ड मी मार्फत अन्तराष्ट्रिय सहयोग परिचालनमा समेत कार्य भैरहेको छ । महासंघले राहत वितरण कार्यक्रमलाई नियमितरूपमा अझ प्रभावकारी ढंगबाट अगाडी बढाउने योजना अगाडी सारेको छ । 

बाढी प्रभावित जनताको सहयोगार्थ महासंघले बैंक अफ काठमाडौंमा एफएनसीसीआई रिलिफ खाता संचालनमा ल्याएको छ भने विपत्तिमा परेका जनताहरूको सहयोगार्थ महासंघले संचालनमा ल्याएको Bank of Kathmandu मा रहेको FNCCI Relief Fund A/C N0: 012500000635 खातामा आआफ्नो क्षेत्रबाट नगद सहयोग गर्न महासंघ आफ्ना सवै सदस्य उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू, द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू, एसोसिएट सदस्यहरु, उद्यमी व्यवसायीहरू, गैर आवासीय नेपाली संघ लगायत अन्य संघ संस्थाहरू समेत सवैमा हार्दिक अपिल समेत गरेको छ ।संस्थागत सामाजिक दायित्वबाट निजी क्षेत्र सदैव अभिप्रेरित रहेको र मुलुक र मुलुकवासीमा प्राकृतिक विपत्तिका वखत सदैव खुला ह्दयले सहयोग गर्दै आएको स्मरण गराउंदै महासंघले आफ्ना सवै सदस्य संघ संस्थाको सहयोग र सहकार्यमा अग्रस्थानमा रहेर विपत्तिमा परेका जनताको सहयोग गर्ने प्रतिवद्धता नेपाल सरकार समक्ष व्यक्त गर्दछ ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by