Aug 25, 2017
एफएनसीसीआई प्रतिनिधिमण्डल र भारतीय वाणिज्य राज्यमन्त्री बीच भेटवार्ता बढ्दो व्यापार घाटा कम गर्न सहयोगका लागि आग्रह (२०७४/५/९)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा भारत भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डलले आज भारतीय सरकारका वाणिज्य राज्यमन्त्री निर्मला सितारमण (Hon’ble Minister of State for Commerce Smt. Nirmala Sitharaman) समक्ष वाणिज्य मन्त्रालयमा भेटवार्ता गर्यो । 

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान सम्मिलित महासंघको प्रतिनिधिमण्डलले वाणिज्य राज्यमन्त्री सितारमणसंगको भेटमा नेपाल भारत बीचको बढ्दो व्यापार घाटा कम गर्न सहयोगको आग्रह गरेको छ । सन् १९९६ मा सम्पन्न व्यापार सन्धी दुई देश बीचको आर्थिक, व्यापारिक तथा लगानी विस्तारमा महत्वपूर्ण औजारको रुपमा रहेको बताउनु हुंदै अध्यक्ष राणाले निरन्तर रूपमा बढ्दै गएको व्यापार घाटा नेपालका लागि अत्यन्त चिन्ताको विषय भएको सो अवसरमा बताउनु भयो । 

पछिल्लो तथ्यांक अनुसार आयात निर्यातको अंश १५:१ रहेको छ । व्यापार घाटा न्यून गर्नका लागि आवश्यक सहयोग गर्न वाणिज्य राज्यमन्त्री समक्ष आग्रह गर्नुहुंदै अध्यक्ष राणाले त्यसका लागि नेपालमा पर्याप्त भारतीय लगानी तथा प्रविधि भित्र्याई नेपाली उत्पादकत्व क्षमता तथा प्रतिस्पर्धी क्षमता विस्तारमा सहयोग गर्न जोड दिनु भयो । खाद्यान्न प्रशोधन, ऊर्जा उत्पादन तथा विकास, सेवा क्षेत्रमा भारतीय लगानीको आवश्यकता रहेको छ भन्नु हुंदै अध्यक्ष राणाले भन्नु भयो – जसले भारतीय बजारमा नेपाली निर्यात बढाउन प्रत्यक्ष सहयोग पुर्याउँदछ

वाणिज्य राज्यमन्त्रीसंगको भेटमा महासंघको प्रतिनिधिमण्डलले भारतीय सरकारले लागू गरेको क्वारेन्टाइन, सेनिटरी फाइटो सेनिटरी (SPS), टेक्नीकल ब्यारियर टु ट्रेड (TBT), रुल्स अफ ओरिजिन (RoO) जस्ता गैर भंसार अवरोधका कारण नेपाली उत्पादनहरूको भारत निर्यातमा समस्या रहेको स्पष्ट रूपमा राख्यो । यस्ता अवरोधहरूलाई संबोधन गर्न आग्रह गर्दै नेपाली उत्पादनको गुणस्तर एवं ल्याव परीक्षण सुधार लगायतमा भारतीय प्राविधिक सहयोगको लागि अनुरोध समेत गर्यो । 

भारत सरकारले हालै लागू गरेको जीएसटीबाट नेपालको औद्योगिक विकासमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास प्रकट गर्नुहुंदै अध्यक्ष राणाले भारतबाट नेपाल निर्यात हुने व्यापारिक वस्तुहरूमा जीएसटी छुट सुविधा रहेपनि सेवामा जीएसटी लाग्ने/नलाग्ने यद्यपी स्पष्ट नभएपनि जीएसटी छुट हुनुपर्ने सुझाव सो अवसरमा राख्नु भयो । 

महासंघको प्रतिनिधिमण्डलले भेटघाटका क्रममा अन्तराष्ट्रिय कम्पनीहरू भारतमा आकर्षित भैरहेको सन्दर्भमा त्यसले भारत तथा नेपाल दुवै देशमा औद्योगिक विकासमा सहयोग गर्ने स्पष्ट पार्दै कोलकत्ता तथा विशाखापटनमबाट नेपालको भैरहवाको नौतनवा, विराटनगरको जोगवनी, सीमासम्म ठूला कार्गो बोक्ने रेल आवात जावतको सुविधा दिन वाणिज्य राज्यमन्त्री समक्ष आग्रह गर्यो । 

भारतीय पेट्रोलियम तथा एक्सप्लोसिभ सेफ्टी अर्गनाइजेशन (Petroleum and Explosive Safety Organization-PESO) ले भारतीय मापदण्ड अनुसार भारतमा निर्माण भएका ग्याँस बोक्ने नेपाली ट्याङ्करहरुलाई अनुमतिपत्र (Explosive Certificate) जारी नगर्दा निकै ठूलो समस्या परेको भन्दै प्रतिनिधिमण्डलले आत्मनिर्भर उन्मुख नेपाली अर्थतन्त्र र औद्योगिक विकासमा यसले निकै ठूलो घाटा पुगेकाले समस्या समाधानमा  भारतीय वाणिज्य राज्यमन्त्रीको ध्यानाकर्षण गरायो ।  
  
नेपाली निजी क्षेत्रले उठाएका मुद्दाहरूलाई यथाशीघ्र संबोधन गर्न आग्रह गर्दै नेपाल भारत बीचको व्यापार तथा पारवहन सन्धीलाई समय सापेक्ष सुधार तथा संशोधन गर्दै जानु पर्नेमा पनि महासघको प्रतिनिधिमण्डलले जोड दियो । 

वाणिज्य राज्यमन्त्री समक्ष अध्यक्ष राणाले भारतीय राजदूतावासको सहयोगमा द्विपक्षीय आर्थिक सम्बन्धका विषयलाई संबोधन गर्ने उद्देश्यले महासंघ सचिवालय भित्र नेपाल भारत आर्थिक एकाई (Nepal-India Economic Cell) गठन गरिन लागेको पनि जानकारी गराउनु भयो । अध्यक्ष राणाले महासंघको समकक्षी भारतीय उद्योग परिसंघ (CII) को सहआयोजनामा आगामी नोभेम्वर महिनामा नेपाल भारत आर्थिक सम्मेलन हुन लागेको बताउनु भयो । द्विपक्षीय आर्थिक सहयोग एवं सहकार्यलाई बढावा दिने उद्देश्यले आयोजना गर्न लागिएको उक्त सम्मेलनमा मुख्य वक्ताको रुपमा उपस्थितिका लागि अध्यक्ष राणाले मन्त्री सितारमणलाई निमन्त्रणा समेत गर्नुभयो । 

महासंघ प्रतिनिधिमण्डलसंग भेटवार्ता गर्ने अवसर मिलेकोमा आफूलाई खुशी लागेको बताउनुहुंदै भारतीय वाणिज्य राज्यमन्त्री सितारमणले नेपालको आर्थिक विकासमा भारत सवै प्रकारको सहयोग गर्न तयार रहेको विश्वास दिलाउनु भयो । 



त्यसैगरी महासंघको प्रतिनिधिमण्डलले हिजो त्यहाँका सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरी र भारतीय उद्योग परिसंघ (CII) अध्यक्षसंग भेटघाट गर्यो । मन्त्री गडकरीसंग भएको भेटवार्तामा नेपालमा भारतीय लगानी प्रवर्द्धन, व्यापार घाटा न्यूनीकरण, आपसी सहकार्यका क्षेत्रहरू लगायतका विषयमा छलफल भयो । 



त्यसैगरी भारतीय उद्योग परिसंघ (CII) संग भएको भेटवार्तामा महासंघ र सीआईआई बीचको सहयोग एवं सहकार्य, यसै वर्ष आयोजना गरिने नेपाल भारत लगानी सम्मेलन तथा रोड शोको सफल आयोजना तथा नेपालमा भारतीय लगानी विस्तारमा सीआईआईको सहयोगका विषयमा छलफल भयो ।  



हिजै विहान पिएचडी सीसीआईले पीएचडी हाउसउमा आयोजना गरेको इण्डो नेपाल जीएसटी मीट (Indo-Nepal GST Meet) कार्यक्रमलाई महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले संवोधन गर्नुभयो । सो अवसरमा वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा निर्यात हुने तथा वस्तु तथा सेवामा जीएसटी लाग्न नहुने सुझाव दिनु भयो ।  भारतले लागू गरेको जीएसटीबाट नेपालले कसरी लाभ उठाउन सक्छ यस विषयमा दुवै देशका निजी क्षेत्र बीच आपसी छलफल हुनुपर्नेमा जोड दिनु भयो । 

जीएसटीबाट दुई देश बीचको व्यापारमा अझ सहजता आउने विश्वास महासंघले लिएको समेत वरिष्ठ उपाध्यक्ष गोल्छाले बताउनु भयो । उहाँले यस विषयमा महासंघ भारतीय सरकार तथा निजी क्षेत्रसंग नजिकमा रहेर कार्य गर्न तत्पर रहेको विश्वास दिलाउनु भयो । 
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by