Sep 06, 2017
महासंघको कार्यकारिणी समितिको तेस्रो बैठक सम्पन्न (२०७४/०५/२१)

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको तेस्रो बैठक महासंघका अध्यक्ष भवानीको राणाको अध्यक्षतामा भदौ १८ गते महासंघ सचिवालयमा बस्यो । 

महासंघका विशिष्ठ सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरु उपस्थित बैठकमा महासचिवको प्रतिवेदन, विभिन्न समिति, फोरमको प्रतिवेदन, महासंघको आव २०७४–७५ को वार्षिक वजेट, विविध विषयमा छलफल भयो । साथै जीएसटीबाट आयात निर्यातमा उत्पन्न समस्या, प्राइभेट फर्म नविकरण, प्रदेश र महासंघ बीचको सम्बन्ध, प्रदेश उवामहासंघहरुको स्रोत व्यवस्थापनका विषयमा छलफल भयो ।

बैठकको प्रारम्भमा अध्यक्ष भवानी राणाले महासंघले दोस्रो कार्यकारिणी समितिको बैठक पश्चात सम्पन्न महत्वपूर्ण गतिविधिहरु वारे जानकारी गराउनु भयो । अध्यक्ष राणाले यस बीचमा प्रधानमन्त्रीको भारत भ्रमणका साथ महासंघको प्रतिनिधिमण्डल पनि सहभागी भई दुई देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण, आयात निर्यात व्यापारका क्रममा भोग्नु परेका समस्या समाधानका लागि त्यहांका सम्बन्धित मन्त्री तथा आधिकारिक निकायको ध्यानाकर्षण गराउन सफल भएको बताउनु भयो । 



बाढी प्रभावित जनताहरुको सहयोगार्थ महासंघले केन्द्र तथा प्रभावित क्षेत्रमा रहेका आफ्ना सवै संयन्त्र परिचालन गरी सहयोग पुर्‍याएको, प्रधानमन्त्री सहित विभागीय मन्त्रीहरु समक्ष भेटगरी आर्थिक विकास, निजी क्षेत्रका समस्या समाधान तथा लगानीको वातावरण बनाउन पहल गरेको, महासंघको निरन्तर प्रयासको पहलस्वरुप निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन पारित भएको र उक्त ऐनहरुको सफल कार्यान्वयनका लागि आवश्यक नियमावलीका लागि पहल थाली सकेको जानकारी समेत अध्यक्ष राणाले बैठकलाई गराउनु भयो ।  भारतीय वाणिज्य राज्य मन्त्रीसंग भएको भेठवार्ता निकै सकारात्मक रहेको र दुई देश बीच उत्पन्न समस्या समाधानमा वाणिज्य राज्यमन्त्रीबाट तत्काल विभागिय प्रमुखहरुलाई नेपाली निजी क्षेत्रले राखेका विषयहरुलाई संवोधन गर्न निर्देशन भएको जानकारी गराउनु भयो । 



साथै नेपालमा कार्यरत विभिन्न देशका राजदूतहरु तथा विभिन्न देशमा खटिएर जान लाग्नु भएका नेपाली राजदूतहरु, दातृ निकायका प्रतिनिधिहरु समक्ष नियमित रुपमा भेटवार्ता गरी नेपालमा ती देशहरुबाट लगानी तथा प्रविधि भित्र्याउन, आर्थिक कुटनीतिको प्रभावकारी उपयोग गर्न जोड दिएको, नेपाल र पश्चिम बंगाल बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार गर्न काठमाडौंमा नेपाल–पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला आयोजना हुन लागेको जानकारी गराउनु भयो । 

महासंघकै पहलस्वरुप प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा रेलवे सर्भिस एग्रीमेन्टमा संशोधन गर्न सहमती भएको र व्यापार सन्धीमा पुनरावलोकन तथा कोलकत्ता पोर्टलाई बढी व्यवस्थित र सहज बनाउन तथा वैकल्पिक पोर्टको उपयोग सम्बन्धमा निरन्तर लवी गर्नुपर्नेमा पनि बैठकमा जोड दिइयो ।   

त्यसैगरी महासंघ र नेपाल सरकार संघीय मामला तथा स्थानीय विकास मन्त्रालय बीच संघीय संरचना अनुसार स्थानीय तहमा निजी क्षेत्रको प्रतिनिधित्व तथा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको समेत बैठकलाई जानकारी गराउनु भयो ।



बैठकमा समिति तथा फोरम सभापतिहरुले आ–आफ्ना समिति तथा फोरम मार्फत सम्पन्न गतिविधिहरु वारे बैठकलाई जानकारी गराउनु भयो । वैठकको प्रारम्भमा अध्यक्ष राणाले कार्यकारिणी समितिका मनोनित सदस्य प्रेमा राज्यलक्ष्मी सिंह र अरुणराज सुमार्गीलाई कार्यकारिणी समिति सदस्यको पद तथा गोपनियताको सपथ गराउनु भयो । बैठकमा महासंघका विशिष्ठ सदस्य, उपाध्यक्षहरु र कोषाध्यक्षले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by