Sep 06, 2017
नेउवामहासंघ र ऊर्जा मन्त्री बीच भेटवार्ता (२०७४/०५/२१)

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज  ऊर्जा मन्त्री महेन्द्र बहादुर शाही समक्ष ऊर्जा मन्त्रालयमा भेटवार्ता गर्‍यो । 

महासंघका कार्यकारिणी समिति सदस्यहरू अशोक तोदी, अन्जन श्रेष्ठ, सुकुन्तलाल हिराचन, शिव घिमिरे र महासचिव सुरेश मान श्रेष्ठ सम्मिलित महासंघको प्रतिनिधिमण्डलले उर्जा मन्त्री शाही समक्ष विद्युत महशुल निर्धारण आयोग मार्फत औद्योगिक प्रतिष्ठानहरुका लागि प्रस्तावित २० प्रतिशत विद्युत महशुल बृद्धिका विषयमा ध्यानाकर्षण गरायो । 

सो अवसरमा महासंघका तर्फबाट चर्को लोडसेडिङबाट केहीमात्रामा भएपनि राहत पाएका उद्योग व्यवसायहरू पुन: विद्युत महशुल वृद्धि गरे थप मारमा पर्ने हुँदा विद्युत महशुल वृद्धिको प्रस्ताव अगाडी नवढाउन आग्रह गर्दै प्राधिकरणको व्यवस्थापकीय क्षमता सुधार तथा चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सुझाव दिइएको थियो । लोड सेडिङलाई न्यून गर्न ऊर्जा मन्त्रालय र प्राधिकरणले प्राप्त गरेको सफलताका लागि बधाई दिंदै राष्ट्रिय गौरवका विद्युत आयोजना निरन्तर अगाडी बढाई निर्धारित समयभित्रै सम्पन्न गराउन समेत महासंघका तर्फबाट जोड दिइयो । 

सो अवसरमा मन्त्री शाहीले महासंघको सुझावलाई सकारात्मकरूपमा लिंदै विद्युत महशुल वृद्धिको प्रस्तावलाई तत्काल अगाडी नबढाउने विश्वास दिलाउनु भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by