Sep 06, 2017
काठमाडौंमा पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला आयोजना – मुलुकको आर्थिक समृद्धि सरकारको मुख्य प्राथमिकता–प्रधामन्त्री देउवा (२०७४/०५/२१)

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धि सरकारको मुख्य प्राथमिकता भएको बताउनु भएको छ । नेपाल–भारत दौंत्य सम्बन्ध स्थापनाको ७० औं वर्ष पुरा भएको अवसरमा काठमाडौंमा आयोजित पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला (Cross Border Tourism and Trade Expo-Festival of Bengal) को भदौं १८ गते एक विशेष समारोहका बीच काठमाडौंमा समुद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले मुलुकमा रहेका प्राकृतिक स्रोत साधनलाई समुचित उपयोग गरी आर्थिक समृद्धि प्राप्त गर्न सकिने बताउनु भयो । 

मुलुकमा राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बनेको र वैदेशिक लगानी भित्रने क्रममा रहेको भन्दै प्रधानमन्त्री देउवाले प्रचुर सम्भावना रहेको ऊर्जा, पर्यटनजस्ता क्षेत्रमा लगानीको अवसर रहेको उल्लेख गर्नुभयो । भारतको पश्चिम बंगालका उद्यमी व्यवसायी सहभागी रहनु भएको उक्त कार्यक्रममा उहाँले देशमा यतिखेर संविधान पूर्ण कार्यान्वयनको प्रक्रियामा रहेको र लगानीको वातावरण समेत बनेको स्पष्ट पार्नुभयो । 



प्रधानमन्त्री देउवाले हालै सम्पन्न आफ्नो भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्रीसहित सरोकारवालासँग भएको छलफलले व्यापार प्रवद्र्धन र लगानी भित्र्याउन मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले मुलुकमा राजनीतिक स्थायित्व भई संविधान कार्यान्वयनको चरणमा रहेकाले आर्थिक लगानीको वातावरण बनेको उल्लेख गर्नुभयो । 





अध्यक्ष राणाले नेपाल र भारतका उद्यमी व्यवसायी एक ठाउँमा भेला भएर आपसी आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका साथै पश्चिम बंगालका व्यवसायीलाई यहाँ आएर लगानी गर्न सक्ने वातावरण निर्माण गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । 

नेपालका लागि भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमार(Dr. Ajaya Kumar, CDA, Indian Embassy) ले नेपाल–भारत दौत्य सम्बन्धको ७०औं वर्ष पुगेका अवसरमा दुवै देशको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय, सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन मेला उपयोगी हुने बताउनु भयो । 

पश्चिम बंगाल उद्योग वाणिज्य संघका अध्यक्ष डी.के. जैसवाल (Mr. D.K. Jaiswal, President, West Bengal-Nepal Chamber of Commerce and Industry-WBNCCI)ले पश्चिम बंगाल र नेपाल बीच सबै कुरामा समानता रहेकाले के कस्ता क्षेत्रमा दुवै देशका जनताको हितमा कार्य गर्न सकिन्छ त्यसमा कार्यक्रम सफल हुने धारणा राख्नु भयो ।  

नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपालस्थित भारतीय राजदूतावास र पश्चिम बंगाल– नेपाल उद्योग वाणिज्य संघ (West Bengal-Nepal Chamber of Commerce and Industry-WBNCCI) को संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा महासंघका पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु, भारतीय राजदूतावासका उच्च अधिकारीहरु, दुवै देशका उद्यमी व्यवसायीहरु सहभागी रहनु भएको थियो । 

मेलामा प्रख्यात बंगाली खानाका परिकार तथा सांस्कृतिक प्रस्तुति गरिएको थियो । कार्यक्रममा भाग लिन पश्चिम बंगाल– नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष डीके जैसवालको नेतृत्वमा आएको भारतीय उद्यमी व्यवसायीक प्रतिनिधिमण्डलले नेपाल भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्री, वाणिज्य मन्त्री, कृषिमन्त्री, उद्योग सचिव, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष लगायत पदाधिकारीहरु र लगानी बोर्डका पदाधिकारीहरुलाई भेटी नेपाल र पंश्चिम बंगाल बीचको आर्थिक व्यवसायिक, लगानी, प्रविधि आदान प्रदान लगायतका विषयमा छलफल गरयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by