Sep 08, 2017
महासंघ प्रतिनिधिमण्डलबाट आपूर्ति मन्त्री समक्ष भेट–व्यवसायीको सामाजिक प्रतिष्ठा ध्वस्त पार्ने कार्य नगर्न आग्रह (२०७४/०५/२३)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज  आपूर्ति मन्त्री शिवकुमार मण्डल केवट समक्ष आपूर्ति मन्त्रालयमा भेटी सरकारबाट हालै तीव्र रूपमा अगाडी बढाइएको अनुगमन तथा दरवारमार्गको व्यवसाय शीलबन्दी सम्बन्धी घटनाका विषयमा छलफल गरी व्यवसायिक क्षेत्रलाई आतंकित पार्ने कार्य नगर्न नगराउन अनुरोध गर्‍यो । 


महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष उमेश लाल श्रेष्ठ, कार्यकारिणी समिति सदस्यहरू दिनेश श्रेष्ठ, मनिष कुमार अग्रवाल, संदीप कुमार अग्रवाल, दरवारमार्ग विकास समितिका अध्यक्ष गोपालसुन्दरलाल कक्षपति र महासंघका महासचिव सुरेश मान श्रेष्ठ सम्मिलित महासंघको प्रतिनिधिमण्डलले मन्त्री मण्डल समक्ष ठुला चाडवाडका मुखमा अप्रत्याशित रूपमा भएका अनुगमनबाट राजधानी लगायत मुलुकभरका उद्यमी व्यवसायीहरू आतंकित भएका, व्यवसायीहरूको व्यवसायनै ध्वस्त पार्नेसम्मको कार्य हुँदा निजी क्षेत्रमा थप निराशा पैदा भएको तर्फ ध्यानाकर्षण गरायो । 

अन्तर्राष्ट्रिय ब्राण्डका सामानहरू पाउने मुलुकको प्रमुख व्यापारिक केन्द्र दरवारमार्गमा केही दिन अघि अप्रत्याशित रूपमा गरिएको अनुगमन तथा व्यवसाय माथि शील लगाउने कार्यबाट व्यवसायीहरू त्रसित हुनुको साथै अन्तर्राष्ट्रिय ब्राण्ड सम्वद्ध निकायहरूबाट त्यस सम्बन्धमा जिज्ञासा समेत आएको तर्फ मन्त्री मण्डलको ध्यानाकर्षण गराउँदै यसबाट नकारात्मक संदेश जाने तर्फ महासंघ चिन्तित रहेको भेटवार्तामा बताइयो । 

यदि कसैले कानून बाहिर गई कार्य गर्दछ, व्यवसाय गर्दछ भने त्यस्तालाई कारवाही गर्नुपर्दछ भन्नेमा महासंघ दृढ छ र सरकारलाई सहयोग गर्न महासंघ तयार छ तर शंकाका भरमा व्यवसाय र व्यवसायीको सामाजिक प्रतिष्ठानै ध्वस्त पार्ने किसिमले कार्य हुनु कुनै पनि हालतमा ग्राह्य नहुने भन्दै अध्यक्ष राणाले निर्दोष माथि भएको कानुनी कारवाही र त्यसबाट भएको नोक्सानीको सम्पूर्ण क्षतिपूर्ति राज्यले भराउनु पर्ने माग गर्नुभयो । पूर्ण रुपमा दोषी प्रमाणित नहुन्जेलसम्म कसैलाई पनि उसको सामाजिक प्रतिष्ठामा आँच पुग्ने कार्य नगर्न नगराउन र अनुगमनका क्रममा महासंघको प्रतिनिधि समेत साथै लैजान आग्रह गर्दै अध्यक्ष राणाले दरवारमार्गको समस्या तत्काल समाधान गर्न मन्त्री मण्डल समक्ष अनुरोध समेत गर्नुभयो । 

सो अवसरमा आपूर्ति मन्त्री मण्डलले कानुनी रुपमा कार्य गर्नु सवै नेपालीको दायित्व भएको र आपूर्ति व्यवस्थालाई सहज एवं पारदर्शी बनाउने उद्देश्य अनुरूप सरकारले नियमित रूपमा अनुगमनको कार्य गरिरहेको स्पष्ट पार्नुहुँदै दरवारमार्गको विरोधका विषयमा त्यहाँका व्यवसायी साथीहरूको आत्मसम्मानमा चोट पुग्ने गरी कार्य नगरिने र छिट्टै शील गरिएका पसलहरु खुला गरिने विश्वास दिलाउनु भयो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by