Sep 18, 2017
नवनियुक्त उद्योगमन्त्री थापा समक्ष  महासंघको प्रतिनिधिमण्डलद्वारा भेटवार्ता (२०७४/०६/०२)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त उद्योग मन्त्री सुनिलबहादुर थापा समक्ष आज उद्योग मन्त्रालयमा भेटवार्ता गर्‍यो । सो अवसरमा महासंघका अध्यक्ष राणाले नवनियुक्त मन्त्रीलाई महासंघको तर्फबाट बधाई दिनुहुँदै उद्योग मन्त्रीज्यूको कार्यकालमा उद्योग क्षेत्रमा केही महत्वपूर्ण कामहरूको अपेक्षा निजी क्षेत्रले गरेको बताउनु भयो । 

औद्योगिक व्यवसायिक ऐन नियमावली, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन, भू–उपयोग नीति जस्ता महत्वपूर्ण नियमावली, ऐन कानूनहरु यस अवधिमा आउन सके औद्योगिक क्षेत्र निर्वाध रूपमा अगाडी बढ्ने तथा बाह्य लगानीका लागि उपयुक्त वातावरण बन्न जाने सुझाव अध्यक्ष राणाले राख्नु भयो । 


अघिल्लो वर्ष अर्थतन्त्रका केही सूचकहरू राम्रा देखिएकाले तीनलाई स्थायित्व दिँदै औद्योगिक व्यवसायिक वातावरण बनाउने कार्यमा नवनियुक्त मन्त्रीज्यूको कार्यकालमा उल्लेख्य कार्य हुने विश्वास निजी क्षेत्रले लिएको बताउनु हुँदै अध्यक्ष राणाले निजी क्षेत्रले उठान गरेका विषयहरूलाई “फाष्ट ट्रयाक”बाट संबोधन गर्न आग्रह समेत गर्नुभयो ।  

महासंघका कार्यकारिणी समितिका सदस्यहरू र महासंघका महासचिव सुरेश मान श्रेष्ठ समेत सहभागी रहनु भएको सो भेटवार्तामा मन्त्री थापाले महासंघले दिएका सुझावहरूलाई महत्वपूर्ण रूपमा लिँदै औद्योगिक व्यवसायिक वातावरणका लागि उद्योग मन्त्रालयका तर्फबाट तत्काल गरिनुपर्ने पहलहरूलाई लिखित रूपमा उपलव्ध गराउन महासंघका अध्यक्षलाई अनुरोध गर्नुभयो । 

काम गर्ने समय निकै कम भएकाले आफ्नो कार्यकालमा मुलुकभित्र औद्योगिक व्यवसायिक वातावरण निर्माण, लगानीको वातावरण, नीतिगत सुधार सहित उद्योगीहरूले भोग्नु परेका समस्या संवोधन गर्न आफू दत्तचित्त रहेको विश्वास दिलाउनु हुंदै मन्त्री थापाले यसका लागि आवश्यक सहयोग गर्न महासंघलाई आग्रह समेत गर्नुभयो ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by