Oct 23, 2017
निजी क्षेत्र र निर्माण व्यवसायीले भोग्नुपरेका सुरक्षा चुनौती  विषयक अन्तरक्रिया सम्पन्न (२०७४/०७/०१)

महासंघका पूर्व अध्यक्ष पद्य ज्योति पनि सहभागी हुनु भएको सो कार्यक्रममा महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठले व्यवसायीका लागि निर्धक्कसँग व्यवसाय गर्ने वातावरण बनाउन सरकार असफल भएको बताउनु भयो । राजधानीको मुटुमै दिनदहाडै व्यवसायीको हत्या हुनुले मुलुकको सुरक्षा व्यवस्थाको अवस्था उदांगो पारेको उहाँको भनाइ थियो । 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले थ्रेट महसुस गरी गौचनले एक वर्षअघि नै प्रहरीसमक्ष लिखित निवेदन दिई सुरक्षा माग गरेको पाइएको बताउनु भयो । 

सरकारले आधारभूत सुरक्षा व्यवस्था दिन नसकेका कारण व्यवसायी गौचनको हत्या भएको उहाँले बताउनु भयो । 'एक वर्षअघि नै लिखित रुपमा नेपाल प्रहरीसमक्ष सुरक्षा माग गरे पनि सम्बन्धित निकायले पर्याप्त ध्यान दिन नसक्दा यो दुर्घटना भएको देखियो,' पूर्वाध्यक्ष हिराचनले भन्नु भयो । गौचनले एक वर्षअघि लिखित निवेदन दिएको विषय आफूहरुले तीन दिनअघि मात्र जानकारी पाएको बताउनु भयो । 

निर्माण व्यवसायलाई,  'आपराधिक गतिविधिहरु अन्य क्षेत्रमा भन्दा बढी हुन सक्ने क्षेत्रको रुपमा लिइन्छ । भ्रष्टाचार, चन्दा आतंक, गुन्डागर्दी, श्रम लगायत थुप्रै समस्याबाट यो क्षेत्र ग्रसित छ,' आफ्नो प्रस्तुतीका क्रममा हिराचनले भन्नु भयो । 'छोटो समयमा धेरै धन कमाउने  आकांक्षासहित आपराधिक गतिविधिमा संलग्न व्यक्ति पनि यो क्षेत्रमा लागेका छन,' ‘राजनीति, अपराध र व्यवसाय एकै ठाउँमा मिसिँदा सुरक्षा संवेदनशीलता बढेको उहाँको तर्क थियो । 



सशस्त्र प्रहरीका पूर्वएआइजी रविराज थापाले राजनीतिक संरक्षणका कारण अपराध बढेको बताउनु भयो । ‘राजनीति, व्यवसाय र अपराध एक अर्कामा अति सम्बन्धित छन् । अक्टोपसको हातजस्तै जेलिएको छ,’ उहांले भन्नु भयो–‘यसले सिन्डिकेट क्राइम (सबै मिलेर गरिने अपराध) बढाएको छ ।’ यस्तै सिन्डिकेटका कारण अहिलेसम्मका आपराधिक घटनाहरुमा अपाराधीको मुख्य टाउको पक्रन नसकिएको थापाको भनाइ छ । परम्परागत सुरक्षा प्रणालीकै भरपर्दा अपराधको शृंखला बढेको उहाँले बताउनु भयो । ‘सामाजिक परिवर्तनसँगै अपराधको प्रविधि र प्रकृति बदलिएको छ तर हामी परिवर्तन हुन सकेका छैनौं,’ उहाँले भन्नु भयो । सरकारले नेपाल प्रहरीलाई आवश्यक हतियार र प्रविधि उपलब्ध गराउन नसकेका कारण अपराध नियन्त्रणमा प्रभावकारी बन्न नसकेको उहाँले बताउनु भयो । 

राष्ट्रिय अनुसन्धान विभागका पूर्व्डिआइजी हेमन्त मल्लले गौचन हत्यामा संलग्न अपराधीको कनेक्सन अन्तराष्ट्रियस्तरसम्म हुन सक्ने बताउनु भयो । ‘दिनदहाडै गोली प्रहार गर्नु भनेको हामी जुनसुकै बेला आक्रमण गर्न सक्छौं भन्ने सन्देश दिनु हो,’ मल्लले भन्नु भयो । ‘यिनीहरुको कनेक्सन नेपालमा मात्र हो कि नेपालबाहिर पनि छ त्यो पत्ता लगाउन आवश्यक छ ।’ अन्तर्रा्ष्टि्रय आपराधिक समूहको टार्गेट व्यवसायीमात्र नभई लागूपदार्थ, सुनलगायत बहुमूल्य वस्तु हुने गरेको उहाँले बताउनु भयो । 

अपराधी पहिचान गर्न सिसिटिभी प्रभावकारी बन्ने उल्लेख गर्दै मल्लले भन्नु भयो – ‘अहिले टोलटोलमा सिसिटिभी जडान गरिएको छ । यसलाई केन्द्रीकृत सुरक्षा प्रणालीमा जोडेर प्रभावकारी बनाउन सकिन्छ ।’ औद्योगिक सुरक्षाका लागि सुरक्षा बलमात्र पर्याप्त नहुने उनको भनाइ छ । ‘विद्युतलगायत उद्योगहरुमा ठूलो लगानी भए पनि यस क्षेत्रको सुरक्षामा लगानी भएको देखिँदैन,’ मल्लले भन्नु भयो, ‘व्यवसायमा लगानीसँगै सुरक्षामा पनि ध्यान दिन जरुरी छ ।’ यस्ता उद्योगहरुमा ‘सेक्युरिटी एडभाइजर टिम’ आवश्यक हुने उहाँले बताउनु भयो । यसमा औद्योगिक सुरक्षा विषय बुझेका र सुरक्षा चुनौतीबारे ज्ञान भएका व्यक्तिहरु समेटिनुपर्ने मल्लले बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यहरु, महासंघका महासचिव सुरेश मान श्रेष्ठ, नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरु, निर्माण व्यवसायीहरु, सुरक्षा विज्ञहरु, उद्यमी व्यवसायीहरु संचार माध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा स्टाफ कलेजका गणेश थापा मगरले राजनीति र व्यवसायमा डनहरुको प्रवेशले सुरक्षा संवेदनशीलता बढाएको बताउनु भयो । कार्यक्रमका सहभागीहरुले सुरक्षामा लगानी गर्न कन्जुस्याई गर्न नहुनेमा जोड दिएका थिए ।
कार्यक्रमको प्रारम्भमा स्वर्गीय गौचनको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by