Nov 19, 2017
अबको संकल्प: आर्थिक समृद्धि  नेपाल उद्योग वाणिज्य महासंघद्वारा भोली काठमाडौंमा राष्ट्रिय आर्थिक बहस (२०७४/०८/०३)

निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघद्वारा राजनीतिक दलका शीर्षस्थ नेताहरूको सहभागितामा भोली काठमाडौंमा “राष्ट्रिय आर्थिक बहस” कार्यक्रमको आयोजना गरिंदै छ । “राष्ट्रिय आर्थिक बहस”कार्यक्रमको मुख्य थीम अबको संकल्प: आर्थिक समृद्धि रहेको छ ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी(एमाले), नेपाल कम्युनिष्ट पार्टी माओवादी(केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरम, नेपालले बहस कार्यक्रममा भाग लिनेछन् । बहस कार्यक्रमलाई ती दलका शीर्षस्थ नेताहरूबाट संबोधन हुने कार्यक्रम छ । 

राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा उल्लेख गरेका आर्थिक एजेण्डालाई निर्वाचन पश्चात् कार्यान्वयनमा लैजान दलहरूबाट प्रतिबद्धता लिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा राजनीतिक दलका नेताहरू, नेपाल सरकारका पदाधिकारीहरू, अर्थविदहरू, कुटनीतिक नियोगका पदाधिकारीहरु, विकास साझेदारहरू, उद्यमी व्यवसायी र संचार कर्मीहरूको प्रत्यक्ष सहभागिता रहने छ । कार्यक्रमको न्यूज ट्वान्टी फोर च्यानल, इमेज च्यानल र एपीवान टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिनेछ । 

राजनीतिक स्थिरता, नीतिगत स्थिरता, आर्थिक अधिकारको सुनिश्चितता, आर्थिक विकासमा साझा प्रतिवद्धता निजी क्षेत्रले दलहरुबाट खोजेको छ । कार्यक्रम मार्फत मुलुकको पछिल्लो आर्थिक अवस्थाप्रति दलहरूलाई सचेत गराउने, जनतासँग विकासका मुद्दामा दलहरूले गरेका प्रतिवद्धताहरू पुरा गराउन ध्यानाकर्षण गराउने र आर्थिक मुद्दालाई प्राथमिकतामा राख्न दवाव दिन उद्देश्य महासंघको छ । 

विगतमा द्वन्दका कारण आर्थिक व्यवसायिक वातावरण अत्यन्त जीर्ण भएको अवस्थामा, समयमा संविधान जारी नभएर मुलुकनै गम्भीर संवैधानिक संकटतर्फ जाने होकि भन्ने खतरा पैदा भएको समयमा, शान्ति सुरक्षाको अवस्था अत्यन्त पेचिलो हुन पुगेको अवस्थामा, दलहरू बीच राजनीतिक मतान्तर उच्च हुन गई मुलुकनै ठप्प हुने परिस्थिति सृजना भएको परिस्थितिमा महासंघले राजनीतिक दलहरूलाई सचेत गराउंदै उनीहरूलाई एकै थलोमा भेला गराई समस्या समाधानमा ऐतिहासिक भूमिका निर्वाह गरेको थियो । 

महासंघले विगतमा गरेका “निर्णायक बहस”, “संवैधानिक बहस” शान्ति सुरक्षाको पूर्ण प्रत्याभुतिको माग सहित काठमाडौंमा पटकपटक जनसागरनै ओरालेर आयोजना गरेको “शान्ति र्‍याली” र तीनले मुलुकलाई सकुशल आजको अवस्थामा ल्याउन निर्वाह गरेको भूमिकालाई पृष्ठभूमीमा राखेर भोली आयोजना हुने राष्ट्रिय आर्थिक बहस कार्यक्रम मुलुकको आर्थिक विकासका लागि कोशेढुंगा हुने विश्वास महासंघले लिएको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by