Nov 28, 2017
श्रम ऐन नियमावली मस्यौदा माथि सरोकावाला निकायहरु बीच छलफल (२०७४/०८/१२)

नेपाल उद्योग वाणिज्य महासंघद्धारा नेपाल सरकारबाट मस्यौदा तयार गरी सुझावका लागि निजी क्षेत्रमा पठाएको श्रम ऐन नियमावलीको मस्यौदा माथि आज महासंघ सचिवालयमा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा व्यापक छलफल भयो । 

महासंघको रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालको सभापतित्व एवं महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारका सहभागी रहनु भएको उक्त कार्यक्रमको प्रारम्भमा सभापति ढकालले कार्यक्रमको उद्देश्य र नयाँ श्रम ऐन ल्याउन निजी क्षेत्रका तर्फबाट महासंघले निर्वाह गरेको भूमिका माथि प्रकाश पार्नुभयो । सो अवसरमा नियमावलीमाथि रायदिन महासंघले गठन गरेको विज्ञ समूहका तर्फबाट नियमावलीका विषयमा प्रस्तुती समेत भयो । 

महासंघको कार्यकारिणी समितिका सदस्यहरु, महासंघको वस्तुसंघका पदाधिकारीहरु, विभिन्न बहुराष्ट्रिय कम्पनी/उद्योग प्रतिष्ठान, नेपाल उद्योग परिसंघ, होटल एशोसिएसन नेपालका पदाधिकारीहरु सहभागी उक्त छलफल कार्यक्रममा सहभागीहरुबाट मस्यौदाको रुपमा आएको श्रम नियमावली ऐनको भावना अनुरुप आउन नसकेकाले आवश्यक परिमार्जन गरी ऐनको भावना अनुरुप ल्याउन महासंघले नेपाल सरकारमा अबिलम्ब पहल गर्नुपर्ने लगायतका विविध सुझावहरु राख्नुभयो ।

कार्यक्रमको अन्त्यमा परिषद्का उपसभापति भरतराज आचार्यले सवैलाई धन्यवाद दिनुहुँदै कार्यक्रममा आएका सुझावहरुलाई समेटेर महासंघका तर्फबाट नियमावलीमा परिमाजर्नका लागि नेपाल सरकारमा निजी क्षेत्रको अन्तिम सुझाव पेश गर्ने विश्वास दिलाउनु भयो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by