Jan 22, 2018
नेपाल उद्योग वाणिज्य महासंघको प्रायोजनमा मुलुकभर भलिवल प्रतियोगिता आयोजना हुने  (२०७४/१०/०७)
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल भलिबल संघ बीच स्थानीयदेखि राष्ट्रियस्तरसम्मको भलिबल प्रतियोगिता सञ्चालनका लागि सहकार्य गर्ने उद्देश्यले आज एक समारोहका बीच महासंघ सचिवालयमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमती अनुसार एफएनसीसीआई कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता तीन चरणमा आयोजना हुनेछ ।

यूवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, राज्यमन्त्री तेजुलाल चौधरी, सांसद एवं राष्ट्रिय ओलम्पिक कमटीका अध्यक्ष जीवनराम श्रेष्ठ, यूवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल र महासंघका अध्यक्ष भवानी राणाको समुपस्थितिमा सम्पन्न समझदारीपत्रमा महासंघका तर्फबाट उपाध्यक्ष उमेशलाल श्रेष्ठ र भलिवल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर गर्नुभयो । 

सम्झौताअनुसार स्थानीय, प्रदेश र राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजनाका लागि नेपाल उद्योग वाणिज्य महासंघले भलिबल संघललाई १ करोड २० लाख रुपैयाँ बजेट उपलब्ध गराउनेछ । स्थानीयस्तरदेखि भलिबल खेलको विकासका लागि स्थानीय तहका टोलीहरु समावेश गरेर जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

दीर्घकालिन रुपमा महासंघले खेलकुदका माध्यमबाट स्थानीय स्तरमा उद्यमशीलता प्रवद्र्धन र स्थानीय आर्थिक विकासलाई समेत एकाकार गरी लैजाने लक्ष्य लिएको छ । भलिवल खेललाई स्थानीय स्तरसम्म लोकप्रिय बनाई राष्ट्रिय खेलको रुपमा विकास, प्रवर्धन एवं प्रसार प्रचार गर्ने, मुलुकभरका युवाहरुलाई भलिबल खेलको संजाल भित्र ल्याउने, भलिवल खेलमा व्यावसायिकताको विकास गर्ने, सामाजिक जीवनको भिन्न र विशिष्ट क्षेत्रमा व्यावसायिक समुदायको प्रत्यक्ष योगदानलाई बृद्धि गरी व्यवसायिक समुदायको सामाजिक उत्तरदायित्वको भूमिकालाई अभिवृद्धि गर्ने उद्देश्य रहेको समझदारीपत्रमा उल्लेख छ ।  



छनोट प्रतियोगिता माघ २५ देखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ । यसबाट छनोट भएका टोलीले प्रदेशस्तरको छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रदेशस्तरको छनोट प्रतियोगिता फागुन १० देखि चैत १० गतेसम्म आयोजना हुनेछ । प्रदेशस्तरबाट छनोट भएका सात प्रदेशका महिला तथा पुरुष टोलीहरुबीच राष्ट्रियस्तरको प्रतियोगिता चैत २० देखि २७ गतेसम्म काठमाडौंमा सञ्चालन हुने जानकारी सो अवसरमा गराइयो । चैत २८ गते उद्योग वाणिज्य दिवसको उपलक्ष्यमा प्रतियोगिताको समापन गरिनेछ । 

पत्रकार सम्मेलनमा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलकुदको बिकासका लागि प्रतियोगितामा मात्र नभई पूर्वाधार विकासमा समेत सहकार्य गर्न निजी क्षेत्रलाई आव्हान गर्नुभयो । मन्त्री केसीले भलिबलमा मात्र नभई सबै खेलमा निजी क्षेत्रको लगानी बढाउन आग्रह गर्नुभयो ।

युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले खेलकुदमा निजी क्षेत्रको सहकार्य निकै प्रशंसनीय रहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र भलिवल संघ बीचको सहकार्य नेपालमा भलिवलको विकासमा महत्वपूर्ण थालनी भएको बताउनु भयो ।   

महासंघका अध्यक्ष भवानी राणाले महासंघको सामाजिक उत्तरदायित्वको अवधारणा अन्तर्गत राष्ट्रिय खेल समेत रहेको भलिबलमा लगानी गरिएको जानकारी दिइन् । नेपालमा सर्वव्यापी रहेको भलिबल खेलको राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तर बढाउनसमेत सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले खेलकुदमा निजी क्षेत्रको लगानी अत्यावश्यक रहेकोमा त्यसका लागि नेपाली निजी क्षेत्रकै छाता संस्था महासंघको लगानी आउनु नेपाली खेल क्षेत्रका लागि निकै महत्वपूर्ण र सुखद रहेको बताउनु भयो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले महासंघ र भलिवल संघ बीचको सहमती भलिवल विकासका लागि कोशेढुंगा हुने भन्दै मन्त्रालयले पनि यसलाई सफल पार्न यसको प्रारम्भदेखिनै सहयोग गर्दै आएको स्पष्ट पार्नुभयो । भलिवलको विकासमा यसले निकै राम्रो परिणाम दिने आफूमा पूर्ण विश्वास रहेको भन्नु हुंदै सचिव दाहालले मन्त्रालयले पनि यसका सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

नेपाल भलिवल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले भलिवलको विकासका लागि नेपाली निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघसँग जोडिन पाएको खुशी प्रकट गर्दै यसलाई पूर्ण रुपमा सफल पार्ने प्रतिवद्धता जनाउनु भयो । (समझदारीपत्र यसैसाथ संलग्न छ) Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by