Feb 26, 2018
महासंघको महिला उद्यमी प्रतिनिधिमण्डल थाइल्याण्ड सरकारले  महिला उद्यमीहरूको विकासका लागि लिएका नीति तथा कार्यक्रमको अध्ययन गर्न बैंककमा (२०७४/११/१५)
थाई महिला उद्यमीहरू र नेपाली महिला उद्यमीहरू बीचको आपसी सम्पर्क विस्तार गरी नेपालमा महिला उद्यमीहरूद्धारा संचालित उद्योग व्यवसायमा संयुक्त लगानी आकर्षण गर्न र नेपालमा लगानीको सम्भाव्यताका विषयमा थाई महिला उद्यमी व्यवसायीहरूसँग छलफल गर्ने उद्देश्यले थाइल्याण्डको भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमीहरूको प्रतिनिधिमण्डलले आज थाई चेम्वर अफ कमर्सका पदाधिकारीहरूसँग बैंककमा भेटवार्ता गर्‍यो ।  

विभिन्न उद्योग वाणिज्य संघहरूमा स्थापित महिला उद्यमी मंचका सभापतिहरू सहित १७ सदस्यीय महासंघको महिला उद्यमी प्रतिनिधिमण्डलको नेतृत्व महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले गरिरहनु भएको छ । थाई चेम्वरका पदाधिकारीसँग भएको भेटवार्तामा महासंघको प्रतिनिधिमण्डलका तर्फबाट सभापति श्रेष्ठले नेपालमा महिला उद्यमशीलता प्रवद्र्धन हुंदै गएको, महिला उद्यमीहरूद्वारा उद्योग व्यवसाय विस्तार गर्ने क्रम समेत बढ्दै गएकाले नेपाल र थाई महिला उद्यमीहरूको आपसी सहकार्य र सम्बन्ध विस्तारका माध्यमबाट नेपालमा थाई लगानी तथा अनुभव आदान प्रदानमा जोड दिनु भयो । 

महासंघको कार्यकारिणी समितिका सदस्य एवं महिला उद्यमी विकास समितिका सल्लाहकार राजकुमार न्यौपाने, कार्यकारिणी समितिका सदस्य जयकुमार सिवाकोटी, समितिका सहसभापति रम्भा श्रेष्ठ, महिला उद्यमीहरू सीता बराल, मीना खड्का, नीसा शाक्य, प्रतिज्ञा राणा, मालती बस्नेत, जयाकला वस्नेत, शान्ति शाक्य उदास, जमुना शर्मा, ममता पौडेल, कविता भुषाल, शान्ति श्रेष्ठ उदास, रंजनाकुमारी अर्याल, तारा तिवारी, तारा कुमारी खत्री, चन्दा थापा क्षत्रि रिजाल र महासंघका उप महानिर्देशक मीना श्रेष्ठले सो भेटवार्तामा भाग लिनु भएको थियो । 

महासंघको महिला प्रतिनिधिमण्डलले आजै साँझ नेपाली राजदुतावास बैंकक र फेडरेशन अफ थाई इण्डष्ट्रिले संयुक्त रुपमा आयोजना गरेको नेपालमा लगानीका अवसरहरू विषयक छलफल कार्यक्रममा समेत भाग लियो । सो अवसरमा महासंघका तर्फबाट नेपालमा खासगरि महिलाहरूद्वारा संचालित उद्योग व्यवसाय, पर्यटन क्षेत्रमा थाई लगानी आकर्षण गर्नुपर्ने सुझाव राखियो । प्रतिनिधिमण्डलका नेता एवं महिला उद्यमी समितिका सभापति श्रेष्ठले नेपाल यतिवेला लगानीका लागि निकै उपयुक्त थलो भएको संदेश थाई उद्यमीहरूलाई दिनु भएको थियो । थाइल्याण्डमा रहँदा महासंघको प्रतिनिधिमण्डलले थाइल्याण्डका महिलाहरूबाट स्थापित उद्यम व्यवसायहरूका साथै थाइल्यण्डले विकास गरेको एक गाउँ एक उत्पादन (OTOP) परियोजनाको अवलोकन तथा त्यहाँका महिला उद्यमीहरूको विकासका लागि थाई सरकारले लिएको नीति तथा कार्यक्रमका वारेमा छलफल समेत गर्ने कार्यक्रम छ ।  प्रतिनिधिमण्डल आगामी सोमवार स्वदेश फर्कने कार्यक्रम छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by