Mar 09, 2018
महासंघको रिक्त जिल्ला/नगर उपाध्यक्षमा किशोर प्रधान निर्वाचित (२०७४/११/२५)

नेपाल उद्योग वाणिज्य महासंघको आज महासंघ सचिवालयमा सम्पन्न उद्योग वाणिज्य संघ समूहको विशेष सभाबाट महासंघमा रिक्त जिल्ला/नगर उपाध्यक्ष पदमा उद्यमी किशोर कुमार प्रधान निर्वाचित हुनुभएको छ । 

नवनिर्वाचित उपाध्यक्ष प्रधान महासंघमा यसअघि विक्रम सम्बत् २०७०–७३ को कार्यकालमा जिल्ला/नगर उपाध्यक्ष हुनुहुन्थ्यो । निर्वाचनमा किशोर प्रधानले ६५ मत ल्याउनु भयो भने उहाँका प्रतिस्पर्धी उपाध्यक्षका उमेदवार एवं वर्तमान कार्यकारिणी समितिका सदस्य निरक केसीले ३३ मत प्राप्त गर्नुभयो । 

नवनिर्वाचित उपाध्यक्ष प्रधानलाई महासंघका अध्यक्ष भवानी राणाले आजै पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो । 

विशेष सभालाई संवोधन गर्नुहुँदै महासंघका अध्यक्ष राणाले रिक्त जिल्ला/नगर उपाध्यक्षमा विजयी हुनु भएकोमा नवनिर्वाचित उपाध्यक्ष प्रधानलाई बधाई दिनुहुँदै महासंघको वर्तमान पदाधिकारीले पूर्णता पाएको र अव मुलुकको आर्थिक विकासमा आफ्नो टिम पुरा समय लाग्ने प्रतिवद्धता जनाउनु भयो । निजी क्षेत्रका अगाडी निकै धेरै चुनौतीहरू रहेको विद्यमान अवस्थामा आफ्नो टिमले सशक्त भूमिका निर्वाह गर्ने विश्वास समेत अध्यक्ष राणाले प्रकट गर्नुभयो । 

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानको उपस्थित रहेको कार्यक्रममा सपथ ग्रहण पश्चात संवोधन गर्नुहुँदै नवनिर्वाचित उपाध्यक्ष प्रधानले महासंघमा आफ्नो लामो अनुभव र उद्योग व्यवसायलाई समेत आफूले नजिकबाट बुझेकाले आफ्नो कार्यकालमा महासंघलाई अझ सशक्त ढंगबाट अगाडी बढाउन आफूले पुरा समय दिने बिश्वास दिलाउनु भयो । 

उहाँले अव महासंघका जिल्ला/नगर उद्योग वाणिज्य संघहरु र प्रदेश उद्योग वाणिज्य महासंघलाई मुलुक नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा सोही अनुसार अगाडी बढाउने धारणा समेत राख्नु भयो । 

कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरू मुख्य प्रतिनिधि, प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by