Mar 10, 2018
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा अवलोकनकर्ताको घुइँचो  मेलामा भाग लिन आएको चिनियाँ प्रतिनिधिमण्डलबाट महासंघ पदाधिकारीसँग भेटवार्ता (२०७४/११/२६)
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ को अवलोकन गर्नेहरुको भिड आज अत्याधिक रह्यो । भदौ २४ गते देखि शुरु भएको मेलाको तेस्रो दिन आज करिव ५० हजारले मेलाको अवलोकन गर्नुको साथै करिव ३ करोडको व्यवसायिक कारोवार भएको वुझिएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा मेला आयोजना भएको हो । मेलाको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट एक विशेष समारोहका बीच शुक्रवार समुद्घाटन गरिएको थियो । समु्घाटन समारोहलाई प्रधानमन्त्री सहित, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीले संवोधन गर्नुभएको थियो । मेलामा करिव ३ करोडको कारोवार भएको मेलामा नेपाल लगायत चीन, भारत, बंगलादेश, पाकिस्तानको सहभागिता रहेको छ । करिव ३ सय वटा स्टल मार्फत ती देशहरूको वस्तु तथा सेवाहरू प्रदर्शनी गरिएको छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन आदिका छुट्टाछुट्टै स्टलहरू रहेका छन् । “सोकेशिङ नेपाल एण्ड दी ग्लोव” (Showcasing Nepal & The Globe)  को मुख्य थिममा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको यो सातौं संस्करण हो । मेलामा भाग लिन चीनको सरकारी प्रतिनिधिमण्डल सहितको व्यवसायिक टोली नेपाल भ्रमणमा आएको छ । 



यस वर्षको मेलाका सहयोगी संस्थाहरूमा चाइना एक्जिविसन एण्ड फोरम कम्पनी लि., अर्घाखाँची ओपीसी सिमेन्ट, गार्मेन्ट एशोसिएसन नेपाल, फुटवेयर म्यानुफेक्चरर्स एसोसिएसन अफ नेपाल, प्रान, नेपाल टेलिकम, ग्लोवल आइएमई बैंक, इभेन्ट म्यानेजमा डीएन इभेन्टस्, आफिसियल इन्स्योरेन्समा प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल, अफिसियल कार्गो गणेश एयर कार्गो लि., अफिसियल आइएसपीमा मर्कन्टायल कम्युनिकेशन प्रा.लि. रहेका छन् । 

यसैबीच अन्तराष्ट्रिय व्यापार मेलामा भाग लिन आएको चीनको वाणिज्य मन्त्रालयको व्यापार विकास विभागका उप निर्देशक चीन होङ (Jin Hong, Deputy Director-General, Trade Development Bureau, Ministry of Commerce, China) को नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र महासंघका पदाधिकारी बीच फागुन २५ गते महासंघ सचिवालयमा व्यवसायिक भेटवार्ता सम्पन्न भयो । 

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, व्यापार मेला समितिका सभापति दिल सुन्दर श्रेष्ठ, समितिका पदाधिकारी एवं सदस्यहरू र महासंघका महासचिव सुरेश मान श्रेष्ठ सहभागी रहनु भएको सो भेटवार्तामा चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजनाको मितिलाई मार्चको अन्त्य वा अप्रिलको पहिलो हप्तामा आयोजना गर्न सकिएमा चीनबाट अझ बढी सहभागिता हुने सुझाव आएको थियो । 

चीनबाट आएको प्रतिनिधिमण्डलमा इकर्स, आयात निर्यात, स्मार्ट होम डेभलपर, लगानी, डेरी, विद्युत तथा विद्युतीय, उर्जा उत्पादकहरूको प्रतिनिधित्व रहेको थियो । बैठकका क्रममा चिनियाँ प्रतिनिधिमण्डलबाट चीनमा आयोजना हुने मेलाहरूमा नेपालको बलियो सहभागिताका लागि अनुरोध गरियो । नेपालमा लगानीका लागि आफूहरू निकै उत्साहित भएको र नेपालमा राजनीतिक स्थिरताका साथै लगानीको वातावरण वन्दै गएको सुन्न पाउँदा खुशी लागेको भन्दै प्रतिनिधिमण्डल प्रमुख चीन होङले नेपालमा लगानी ल्याउन आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो । 



सो अवसरमा भएको छलफलमा दुवै पक्षबाट आ–आफ्ना व्यवसायिक परिचयका साथै लगानीका सम्भाव्य क्षेत्रका विषयमा छलफल भयो । चिनियाँ प्रतिनिधिमण्डलबाट लगानीका लागि आफूहरू इच्छुक रहेको र आउँदा दिनमा महासंघसँग बसेर लगानीका क्षेत्रहरू पहिचान गरी संयुक्त लगानीका लागि गृहकार्य गर्ने धारणा राखिएको थियो ।   
सो अवसरमा महासंघका तर्फबाट अन्तराष्टिय व्यापार मेला आयोजनाको समयका लागि आएको अनुरोधमा आफूहरुले विचार गर्ने विश्वास दिलाइयो । नेपालमा यतिखेर ठूलो लगानीको आवश्यकता रहेकाले महासंघका तर्फबाट नेपालमा लगानी तथा विकासको मोडल भित्रयाउन चिनियाँपक्षलाई आग्रह गरियो । 
  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by