Mar 18, 2018
प्रधानमन्त्री समक्ष एफएनसीसीआई र सीआईआईका अध्यक्षद्वारा भेट (२०७४/१२/४)

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल भ्रमणमा आउनु भएकी भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry-CII) का अध्यक्ष एवं अपोलो हस्पिटल इन्टरप्राइजेज लिमिटेडका कार्यकारि उपाध्यक्ष सोबना कामिनेनी (Ms. Shobana Kamineni President, CII (2017-18) & Executive Vice Chairperson, Apollo Hospitals Enterprise Limited) को प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्यो । भेटवार्तामा महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल पनि सहभागी हुनुहुन्थ्यो ।   

उक्त भेटवार्तामा सम्माननीय प्रधानमन्त्रीबाट नेपाल अव समृद्धिको मार्गमा अगाडी बढेकाले नेपालमा भारतीय संयुक्त लगानी विस्तारका लागि सहयोग गर्न सीआईआईका अध्यक्षलाई आग्रह गर्नुभयो । मुलुकको समृद्धिनै आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्नुहुंदै प्रधानमन्त्रीले दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबाट नेपालमा भारतीय संयुक्त लगानी बढाउन नेतृत्वदायी भूमीका निर्वाह गर्न अनुरोध समेत गर्नुभयो । नेपालमा लगानी ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुहोस, कस्तो सहयोग गर्न पर्छ मलाई भन्नुहोस, सरकार सहयोग गर्न तयार छ - प्रधानमन्त्रीले भन्नु भयो । 

सो अवसरमा महासंघका अध्यक्ष राणाले आगामी अप्रिलमा दुवै महासंघको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल-भारत लगानी सम्मेलन (Nepal-India Investment Summit) को गृहकार्य भैरहेको जानकारी गराउनु हुंदै नेपालमा भारतीय लगानी विस्तारमा सो सम्मेलन महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो । 

भेटवार्ताका अवसरमा सीआईआईका अध्यक्ष कामिनेनीले सम्माननीय प्रधानमन्त्रीज्यूमा भारतीय निजी क्षेत्रका तर्फबाट बधाई दिनु भयो । भारतीय उद्योगपतिहरूको नेतृत्वदायी संस्था सीआईआईका अध्यक्ष कामिनेनीले नेपालको आर्थिक विकासको अभियानमा सहभागी हुन भारतीय निजी क्षेत्रपनि उत्साहित रहेको भन्दै संयुक्त लगानी विस्तार, लगानीका क्षेत्र पहिचान लगायतमा आगामी दिनमा ठोस गृहकार्य सहित अगाडी बढ्नु पर्ने धारणा राख्नु भयो । साथै उहाँले नेपालमा भारतीय संयुक्त लगानी विस्तारमा आफू र आफ्नो संस्थाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाउनु भयो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by