Mar 19, 2018
महासंघका अध्यक्ष राणा र ओवीओआर प्रतिनिधिमण्डल बीच महासंघ सचिवालयमा भेटवार्ता (मिति: २०७४/१२/५)
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा समक्ष नेपाल भ्रमणमा आएको ओवीओआर व्यापार तथा लगानी सम्बन्धी चिनियाँ प्रतिनिधिमण्डलले महासंघ सचिवालयमा आज भेटवार्ता गर्‍यो । ओवीओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्मका संस्थापक शू या (Ms. Shu Ya, Founder, OBOR International Trade and Investment Platform) को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भेटवार्ताका क्रममा नेपालको आर्थिक तथा व्यवसायिक विकासमा ओवीओआरका तर्फबाट सहयोग गर्न आफूहरु तत्पर रहेको प्रतिवद्धता जनाएको छ । 

ओवीओआरले खासगरी पूर्वाधार विकास, व्यवसायिक कृषि, उर्जा, पर्यटन, अन्तराष्ट्रिय व्यापार तथा लगानी क्षेत्रमा क्रियाशिल रहेको जानकारी गराउंदै प्रतिनिधिमण्डलले नेपालका यी क्षेत्रहरुमा ओवीओआर मार्फत लगानी भित्रयाउन आफूहरु इच्छुक रहेको धारणा समेत सो अवसरमा राख्यो । नेपालमा खासगरी उद्यमशीलता विकास, प्रविधि हस्तान्तरण, काठमाडौबाट चीनका प्रमुख शहरहरुमा सिधा हवाई सम्पर्क विस्तार, नेपालबाट चीनमा निर्यात हुने वस्तुहरुको पहिचान लगायतमा छलफल भएको सो बैठकमा नेपालमा सहकार्यका क्षेत्रहरु पहिचान गर्न छिट्टै अर्को बैठकको प्रस्ताव समेत चिनिया पक्षबाट सो अवसरमा राखियो । 

ओवीओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्म नेपाल कार्यालयका प्रमुख भाष्करराज राजकर्णिकार, महासंघको कार्यकारिणी समितिका सदस्य जय सिवाकोटी, महासंघको पूर्व कार्यकारिणी समिति सदस्य एजी शेर्पा समेत सहभागि रहनु भएको सो अवसरमा महासंघका अध्यक्ष राणाले ओवीओआर मार्फत नेपालको पूर्वाधार विकास, उर्जा, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी ल्याउन प्रतिनिधिमण्डल समक्ष आग्रह गर्नुभयो । 

नेपाल चीन लगायत ओवीओआर सदस्य राष्ट्रहरु बीच यातायात संयन्त्र मार्फत आपसी सम्पर्क विस्तारमा अध्यक्ष राणाले जोड दिनु भयो । नेपालमा लगानीको वातावरण निकै राम्रो रहेकाले नेपाल समेत सदस्य रहेको ओवीओआर मार्फत नेपालको समृद्धिको अभियानमा सहकार्य गर्न प्रतिनिधिमण्डल समक्ष अध्यक्ष राणाले अनुरोध गर्नुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by