Apr 04, 2018
वीरेन्द्रनगरमा प्रादेशिक आर्थिक बहस सम्पन्न कस्तो कानुन चाहिन्छ भन्नुस तर लगानी गर्नुस: मुख्यमन्त्री महेन्द्रबहादुर शाही (२०७४/१२/१२)

नेपाल उद्योग वाणिज्य महासंघ, नयाँ पत्रिका दैनिक र नेपाल आर्थिक पत्रकार समाजको संयुक्त आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको कर्णाली प्रदेश र सुर्खेत उद्योग वाणिज्य संघको सहआयोजनामा प्रादेशिक आर्थिक बहस कार्यक्रम सुर्खेतमा सम्पन्न भयो । कार्यक्रमको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले चैत्र १२ गते एक विशेष समारोहका बीच वीरेन्द्रनगरमा समुद्घाटन गर्नुभयो ।

कार्यक्रममा त्यस प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, उद्यमी व्यवसायी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा उद्योग, धन्दा संचालन गर्न आउने निजी लगानीकर्तालाई धेरैभन्दा धेरै फाइदा गरेर जाने बातावरण मिलाउने प्रतिवद्धता जनाउनु भयो ।  ‘प्रदेश सरकारले लिनेभन्दा कमाएर लैजाने बातावरण उद्योगी, ब्यवसायीलाई दिइनेछ,’ उहाँले भन्नु भयो । 

समग्र कर्णाली प्रदेशको विकासमा टेवा पुर्‍याउन राष्ट्रिय उद्योगपति, धनाढ्य र ब्यापारीलाई लगानी गर्ने पहिलो प्राथमिकतामा प्रदेश सरकारले राखेको बताउँदै उहाँले उद्योग, कलकारखानाको सुरक्षा, लगानी र उत्पादित बस्तुको सुरक्षा प्रदेशका जनताले गर्ने बातावरण बनाउने धारणा समेत राख्नु भयो । ‘सवैभन्दा ठूलो सुरक्षा जनताबाट हुन्छ, लगानीको सुरक्षा यहाँका जनताले गर्ने छन्, तपाईहरु ढुक्क भएर लगानी गर्नुस्,’ मुख्यमन्त्री शाहीले भन्नु भयो । 

उहाँले निजी क्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकारले कानून तथा नीति बनाउने बताउनु भयो । उद्योग संचालनका लागि प्रदेश सरकारले उपयुक्त उद्योग नीति बनाएर लगानी भित्र्याउने बताउँदै उहाँले निजी क्षेत्रसँग छलफल गरेर नीति र कानून बनाउने स्पष्ट पार्नुभयो । कस्तो खालको कानून बनाउँदा निजी क्षेत्रलाई सजिलो हुन्छ, हामीलाई खाका बनाएर दिनुस् हामी उद्योगी, ब्यवसायीलाई सहज हुने कानून निर्माण गर्छौ, मुख्यमन्त्री शाहीले भन्नुभयो । 

कर्णाली प्रदेशमा उद्योग संचालन गर्न र उत्पादित बस्तु बजारमा पठाउन सकिने अवस्था नरहेकोले प्राकृतिक सम्पदा सुहाउँदो उद्योग संचालन गर्न मुख्यमन्त्री शाहीले उद्योगी, ब्यवसायीलाई सुझाव दिनु भयो । 

उहाँले सिमेन्ट, ढुंगा प्रशोधन, जडिबुटी प्रशोधन, पर्यटन, ग्याँस, कोइला, चुन, फलाम उत्खनन्, हाइड्रोपावर जस्ता उद्योग संचालन गर्न सुझाव दिनु भयो । ‘हाम्रो यहाँ प्रकृतिले दिएका उपहार प्रशस्त छन्, प्राकृतिक सम्पदासँग सम्बन्धित उद्योग संचालन गर्न सके कहिल्यै घाटा ब्यहोर्नु पर्ने छैन,’ उहाँले भन्नु भयो । 

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्योग नीति बनाएर निजी क्षेत्रलाई लगानीका लागि आह्वान गर्ने तयारी भइरहेको बताउनु भयो । उहाँले लगानीको स्पष्ट खाका बनाएर आउन उद्योगी, व्यवसायीलाई आह्वान गर्दै लगानी गरे सुरक्षा दिन कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो । 

उहाँले कर्णाली प्रदेश जलविद्युतको राम्रो सम्भावना बोकेको प्रदेश भएको जिकिर गर्दै पब्लिक प्राइभेट पार्टनरसीप अवधारणामा अगाडी बढ्ने नीति प्रदेश सरकारले अघि सारेको बताउनु भयो । 

त्यसअघि स्वागत मन्तव्य राख्नु हुँदै महासंघका अध्यक्ष भवानी राणाले कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयार रहेको बताउनु भयो । उहाँले कर्णाली प्रदेशमा धेरै सम्भावना भए पनि खोजी गर्न नसक्दा भएका प्राकृतिक सम्पदा त्यसैखेर गईरहेको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई लगानी गर्ने बातावरण बनाउन ऐन, कानून लगानी मैत्री हुनुपर्ने धारणा राख्नु भयो । ‘लगानी मैत्री कानून बन्यो भने निजी क्षेत्र लगानी तयार छ,’ उहाँले भन्नु भयो–‘लगानीको सुरक्षाको ग्यारेन्टी भए उद्योग संचालन गर्न समय लाग्ने छैन ।’

महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफुहरु राज्यलाई कर तिर्न लालयित रहेको र यसबाट विकास भएको हेर्न आतुर रहेको बताउनु भयो । ‘जतिसक्यो धेरै लगानी गरेर सोही अनुसार मुनाफा गर्दै सरकारलाई कर तिर्छाै, उहाँले भन्नु भयो–हामीले तिरेको करबाट हामी कर्णाली प्रदेश समृद्ध भएको हेर्न चाहन्छौं ।’ साथै उहाँले सम्भावना नै सम्भावना छ भनेर बसियो भने प्रदेशको विकास नहुनेमा सचेत गराउनु भयो । निजी क्षेत्रलाई सँगै लिएर नीति बनाउन सकियो भने कर्णाली प्रदेशको समृद्धि धेरै टाढा नभएको उहाँको भनाई छ । 

महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले लगानीकर्ताहरुलाई कर्णालीमा आउँनका लागि भौतिक पूर्वाधार विकास पहिलो सर्त भएको बताउनु भयो । लगानी गर्नका लागि सडक, बिद्युत, बैंकिङ सेवा, सुरक्षाको ग्यारेण्टी हुनुपर्ने उहाँको भनाई थियो । 

कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल काँडेलले निजी क्षेत्रले सहयोग गरे प्रदेश सरकारले लगानी मैत्री कानून निर्माण गर्ने बताउनु भयो । उहाँले कर्णाली प्रदेशको समृद्धिका लागि निजी क्षेत्रको सहयोग आवश्यक भएको औँल्याउँदै लगानीको वातावरण प्रदेश सरकारले मिलाउने धारणा राख्नु भयो । 

नेपाली काँग्रेसका तर्फबाट कर्णाली प्रदेशका सांसद हिम बहादुर शाहीले पनि कर्णाली प्रदेशमा प्रशस्त सम्भावना भएकोले निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रलाई अध्ययन गरेर लगानी गर्न सुझाव दिए । नयाँ पत्रिका दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक कृष्ण ज्वाला देवकोटाले कर्णाली प्रदेशको विकासमा टेवा पुऱ्याउन प्रादेशिक आर्थिक बहस कार्यक्रम आयोजना गरिएको बताउनु भयो । 

महासंघको कर्णाली प्रदेश अध्यक्ष पदमवहादुर शाहीले कर्णाली प्रदेशको विकासका लागि पर्यटन, खनिज, जल, बन र जडिबुटीको अधिकतम प्रयोगमा जोड दिनु भयो । यसमा लगानी गर्न सकिए कर्णालीको विकास टाढा नभएको शाहीको भनाई थियो । प्रदेश सरकारलाई यसतर्फ सचेत हुन पनि उहाँको सुझाव थियो । 

साथै सेजनका अध्यक्ष पुष्पराज आचार्यले प्रदेश सरकार र निजी क्षेत्रलाई जोड्न यो बहस कार्यक्रमले सहयोगी भूमिका खेलेको धारणा राख्नु भयो । उहाँले भन्नु भयो–‘आर्थिक सम्भाब्यताको अध्ययन गरि कार्यान्वयनमा ल्याउनु पर्ने भएकोले यस्ता बहस कार्यक्रम आवश्यक भएको हो ।’

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री नन्द बहादुर बुढा, प्रदेश सांसद, प्रमुख सचिव सुरेश प्रधान, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका जनप्रतिनिधिको समेतसहभागिता रहेको थियो । 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. नारायण प्रसाद पौडेलले कर्णाली प्रदेशको समग्र विकासका लागि ठूला पूर्वाधार निर्माणका लागि ठूलो परिमाणको लगानी आवश्यक बताउनु भयो । कार्यक्रममा जलस्रोत, बन, पर्यटन, खनिज पदार्थ, जडिबुटीमा लगानी आवश्यक भएको बताउनु भयो ।  

भौतिक पूर्वाधार सँगै सामाजिक क्षेत्रको विकास महत्पूर्ण रहेको बताउँदै उहाँले बेरोजगारी, शिक्षा, स्वास्थ्यको सहज पहुँच नहुँदा बसाई सराई समस्या दिन प्रतिदिन बढ्दै गएको बताउनु भयो । उहाँले खनिज पदार्थको अनुसन्धान र उत्खनन् गर्न अनुसन्धान केन्द्र स्थापना गरि रोजगारी सिर्जना गर्न सकिने जानकारी समेत दिनु भयो । 

पौडेलले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै मध्यपश्चिम विश्वविद्यालयका पूर्व प्राध्यापक पिताम्बर ढकालले कर्णाली प्रदेशको आर्थिक बृद्धिदर बढाउन निजी क्षेत्रको लगानी अपरिहार्य भएको बताउनु भयो । उहाँले निजी क्षेत्र नआएकै कारण कर्णाली प्रदेशको आर्थिक अवस्था सुदृढ हुन नसकेको धारणा समेत राख्नु भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by