Jun 14, 2018
१३ औं सीएसएबीएफ फोरम बैठक कुनमिङमा– बीआरआईसँग जोडिएका देशहरूमा खपत हुने बस्तुहरू उत्पादन गर्ने गरी नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरूलाई महासंघका अध्यक्ष राणाद्वारा आग्रह (२०७५/०२/३१)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले १३ औं चीन–दक्षिण एशिया व्यवसाय फोरम (13th China-South Asia Business Forum-CSABF) को बैठकलाई चीनको यूनान प्रान्तको कुनमिङमा आज संबोधन गर्नुभयो ।

अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषद (China Council for the Promotion of International Trade–CCPIT) यूनान उपपरिषद र सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce and Industry-SCCI) द्वारा संयुक्त रुपमा आयोजना गरिएको उक्त फोरमको बैठकमा भाग लिन महासंघका अध्यक्ष राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल चीनको यूनान प्रान्तमा रहेको छ ।

चीन तथा दक्षिण एशियाका व्यवसायिक नेतृत्वहरूको सो फोरमलाई संवोधन गर्नुहुँदै अध्यक्ष राणाले मित्र राष्ट्र चीन सरकारले अगाडी सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (Belt and Road Initiative-BRI) अभियानले रोजगारी सृजना, पूँजी बृद्धि, नविनतम प्रविधिको विकास मार्फत चीन तथा दक्षिण एशिया क्षेत्रका जनताहरूको जीवनस्तर उच्च बनाउने धारणा राख्नु भयो । 



नेपाल लगायत चीन, भारत, अफगानिस्तान, भुटान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेशका व्यवसायिक नेताहरू, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सहित पदाधिकारीहरू, बाह्य देशका प्रतिनिधिहरू सहभागी सो फोरमको यस बर्षको प्रमुख विषय सेपिङ फ्यूचर टुगेदर– इण्डष्ट्रियल कोअपरेशन अफ म्यूचियल ओपनिङ (Shaping Future Together–Industrial Cooperation of Mutual Opening) रहेको छ । कार्यक्रममा सार्क उवासंघका उपाध्यक्ष(नेपाल), महासंघका विशिष्ठ सदस्य, पूर्व अध्यक्ष चण्डिराज ढकालको पनि उपस्थिति थियो ।    

बीआरआई अभियान दक्षिण एशिया तथा चीन बीचको सम्बन्ध सेतुको रुपमा रही यस क्षेत्रको विकासका लागि कोशेढुंगा सावित हुने बताउनु भयो । चीन तथा दक्षिण एशियाली राष्ट्रहरूसँग दक्षिण पूर्वी एशिया, मध्य एशिया, यूरोप, अफ्रिका र बाँकी भूभाग बीच सम्पर्क स्थापित गरी यी देशका अर्थतन्त्रलाई जोड्ने शताव्दीकै महत्वपूर्ण आधार हुने विश्वास अध्यक्ष राणाले प्रकट गर्नुभयो । 

नेपालको मुख्य प्राथमिकतानै बाह्य मुलुकसँग प्रभावकारी सम्पर्क स्थापना हो, त्यो भौतिक रुपमा मात्र नभई पछिल्लो पटक उच्च गतिमा अगाडी बढीरहेको सूचनाको राजमार्ग मार्फत समेत आफूलाई विश्वसँग समाहित गर्न, त्यसबाट उच्च लाभ उठाउन नेपाल लालायित रहेको बताउनुहुँदै अध्यक्ष राणाले आर्थिक रुपान्तरणमा बीआरआई महत्वपूर्ण माध्यम हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । 

आफ्नो संवोधनको क्रममा अध्यक्ष राणाले भन्नु भयो–यस महत्वपूर्ण समारोहमा म चिनियाँ लगानीकर्ताहरुलाई चीन तथा बीआरआईसँग जोडिएका देशहरूमा खपत हुन सक्ने वस्तुहरू उत्पादन गर्ने गरि नेपालमा लगानी गर्न आग्रह गर्दछु । यसो हुन सकेमा नेपाललाई औद्योगिक क्षेत्रमा चाहेको लगानी मार्फत वाह्य देशसँगको सम्पर्क विस्तारमा समेत सहयोग पुग्दछ । 

आजको भूमण्डलीकरणको यूगमा राष्ट्रहरु बीचको प्रतिस्पर्धा भन्दा पनि आपसी सहकार्य एक महत्वपूर्ण विषयको रुपमा विश्व अर्थतन्त्रमा देखा परिरहेको छ । आर्थिक गतिविधिको विस्तारबाट अधिकतम फाइदा उठाउन हामी बीचको आपसी सम्बन्ध अझ बढी घनीभुत र आपसी सांस्कृतिक तथा जनस्तरको सम्बन्ध तीव्र हुनैपर्दछ । आपसी लाभका लागि अर्को महत्वपूर्ण उपाय भनेको राष्ट्रहरु बीच भोलीका कर्णधार यूवाहरुलाई एकत्रित गरी कार्यक्रम आदान प्रदान, शिक्षा स्वास्थ्य, विज्ञान र प्रविधि, साँस्कृतिक र पर्यटन जस्ता क्षेत्रमा सहकार्य गरी चीन तथा दक्षिण एशियालाई जोड्न सकिने बलियो सम्भावना रहेको अध्यक्ष राणाले आफ्नो संवोधनमा राख्नु भयो । आपसी सहकार्यका माध्यमबाट नयाँ नयाँ अवसरहरूको सृजना गरी यस क्षेत्रका वासिन्दाको जीवस्तर सुधारमा अग्रगामी सोंचका साथ अगाढी बढ्नु पर्नेमा जोड दिनुहुंदै अध्यक्ष राणाले यस सन्दर्भमा यस क्षेत्रका राष्ट्रहरुका बजारसम्म सहज पहुंच पुर्‍याउन सकियो भने विकास र समृद्धि टाढाको विषय नहुने बताउनु भयो ।

दक्षिण एशिया एक महत्वपूर्ण बजार हुँदा हुँदै पनि विभिन्न कारणले आर्थिक रुपमा आफूलाई सशक्त ढंगबाट अगाडी बढाउन सकेको छैन । पर्याप्त पूर्वाधार, आपसी सम्पर्क विस्तार तथा आर्थिक एकिकरणको अभावका कारण यो क्षेत्र यद्यपी निकै पछाडी पर्न गएको छ । अर्को महत्वपूर्ण पक्ष भनेको यस क्षेत्रका राष्ट्रहरूले अवलम्वन गरेका आर्थिक नीतिहरू एकअर्का बीच सामन्जस्यता नहुँदा पनि यो क्षेत्रलाई एक सशक्त आर्थिक ग्रुपको रुपमा अगाडी बढाउन नसकिएको धारणा अध्यक्ष राणाको थियो । 

यस क्षेत्रमा रहेको प्रचुर सम्भाव्यतालाई यथार्थतामा रुपान्तरण गर्न र सिंगो सार्क क्षेत्रलाई आर्थिक रुपमा सम्पन्न बनाउन संयुक्त सहकार्यमै अध्यक्ष राणाले जोड दिनु भयो । यस क्षेत्रमा रहेको वलियो यूवा जनशक्ति र पर्याप्त स्रोतहरुको अधिकतम प्रयोग मार्फत हाम्रा जनताको जीवनस्तर सुधार गर्न अव विलम्व गर्नुहुंदै अध्यक्ष राणाले भन्नु भयो –यसका लागि सिंगो सार्क राष्ट्र तथा चीन समेत एकजुट भई औद्योगिक विकासमा सहयोग र सहकार्यका माध्यमबाट अगाडी बढ्नु पर्ने खाँचो छ । यसका लागि अन्तरदेशिय लगानी तथा व्यापार प्रवद्र्धनलाई तिव्रता दिनु पर्ने अध्यक्ष राणाको जोड थियो । क्षेत्रीय आर्थिक विकासलाई निर्वाध अगाडी बढाउन सार्क विजनेश कन्क्लेभ तथा चाइना साउथ एशिया विजनेश फोरम जस्ता मंचहरुको महत्वपूर्ण भूमिका हुने र यस्ता कार्यक्रमबाट हाम्रा अपेक्षालाई साकार पार्न मद्दत पुर्‍याउने अध्यक्ष राणाले बताउनु भयो । 

सोही अवसरमा महासंघका अध्यक्ष राणाले बैठकमा भाग लिन आउनु भएका विभिन्न देशका उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू, वाह्य देशका प्रतिनिधिहरू लगायतका यूनानका उद्यमी व्यवसायीहरूसँग भेटघाट गर्नुभई नेपाल र ती देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा जोड दिनु भयो । ती भेटवार्तामा अध्यक्ष राणाले नेपाल अव स्थिरता तर्फ अगाडी बढेको र राजनीतिक एजेण्डा सकिएकाले सिंगो मुलुकनै समृद्धिको अभियानमा अगाडी बढेकाले नेपालमा लगानी गरि सहयोग गर्न आग्रह गर्नुभयो । 

बैठकमा महासंघको प्रतिनिधिमण्डलका सदस्यहरु, महासंघको कार्यकारिणी समितिका सदस्यहरू गुणनिधि तिवारी, शंकर बोगटी, किशोर आचार्य र प्रवलजंग पाण्डे, महासंघको व्यापार मेला समितिका सहसभापति सविन श्रेष्ठ, सार्क उवासंघका सदस्य वासुदेव गौतम, व्यवसायीहरू असित शंसेर जवरा र ज्योत्साना पाण्डे बोहोरा, जाँजरकोट उवासंघ, कोहलपुर उवासंघ, गैंडाकोट उवासंघ, कैलाली उवासंघ, लम्जुङ उवासंघ, दोलखा उवासंघ, तुलसीपुर उवासंघ, झापा उवासंघ, सिन्धुली उवासंघ, रामेछाप उवासंघ, वाग्लुङ उवासंघ, देउखुरी उवासंघ, पाल्पा उवासंघ, स्याङजा उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघका पदाधिकारी, महासंघका सहायक निर्देशकद्वय विष्णुराज ढकाल र अरुणकुमार श्रेष्ठ सहित नेपाली उद्यमी व्यवसायीहरूको सहभागिता रहेको छ ।

सोही अवसरमा कुनमिङमा आयोजना भएको चाइना आयात निर्यात व्यापार तथा दक्षिण एशियाली व्यापार मेला (China Import & Export Fair Kunming and South Asian Countries Trade Fair) समेत आयोजना भएको छ । उक्त मेलामा नेपालबाट १०० वटा स्टलहरु मार्फत नेपाली वस्तुहरूको प्रदर्शनी भैरहेको छ । उक्त मेलाको अध्यक्ष राणा सहित महासंघको प्रतिनिधिमण्डलले अवलोकन गर्‍यो । मेलामा विशेष गरी नेपाली हस्तकलाका सामाग्रीहरूको प्रदर्शनी गरिएको छ ।
(महासंघका अध्यक्ष राणाले दिनु भएको भाषणको पूर्णपाठ यसैसाथ संलग्न छ )

. Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by