Jul 15, 2018
उद्यमी व्यवसायी र भारतीय राजदुत बीच नेपालगञ्जमा भेटवार्ता– नेपालगञ्ज–दिल्ली उडानपछि  प्रदेश ५ को विकासले फड्को मार्ने–अध्यक्ष राणा (२०७५/०३/३०)
नेपाल उद्योग वाणिज्य महासंघको सदस्य नेपालगञ्ज उद्योग वाणिज्य संघद्वारा महासंघका अध्यक्ष भवानी राणा, नेपालका लागि महामहिम भारतीय राजदुत मन्जिभ सिंह पुरी र स्थानीय अगुवा उद्यमी व्यवसायीहरू, संघका वर्तमान तथा पूर्व पदाधिकारीहरूको उपस्थितिमा नेपालगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । 

सो अवसरमा नेपालगञ्ज दिल्ली हवाई उडान, नेपाली गाडीलाई भारतमा सहज आवागमन, नेपालगञ्जको विकास निर्माण एवं नेपालमा भारतीय पर्यटक आकर्षणमा सहयोग लगायतका विषयमा छलफल भयो । 

बाँके र बर्दियाका उद्यमी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरुले नेपालगञ्ज दिल्ली हवाई उडान छिटो संचालन गर्नुपर्ने, नेपाली गाडीलाई भारतमा सहज आवतजावत हुनुपर्ने, नेपाली जडीवूटीको सहज निकास, सिटी हल एवं सुख्खा बन्दरगाह निर्माण जस्ता महत्वपूर्ण कार्यक्रमलाई समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए । 
कार्यक्रममा महासंघका अध्यक्ष राणाले महामहिम भारतीय राजदुतलाई नेपालगञ्जमा स्वागत गर्न पाएकोमा खुशी प्रकट गर्नुभयो । अध्यक्ष राणाले नेपालगञ्ज–दिल्ली उडानसँगै मानसरोवरको प्रवेशद्वार नेपालगञ्ज हुने भएकाले नेपालगञ्ज सहित सिंगो प्रदेश नम्वर ५ को विकासले फड्को मार्ने विश्वास प्रकट गर्नु भयो । 

अध्यक्ष राणाले दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप उचाईमा पुर्‍याउन र भारतले गरेको आर्थिक विकासबाट नेपालले पनि फाइदा उठाउन “कनेक्टीभीटी” महत्वपूर्ण हुने धारणा राख्दै नेपालगञ्ज लगायत नेपाल र भारतका मुख्य सहरहरू बीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिनु भयो । आयुर्वेद, कृषि, मत्स्यपालन, पर्यटन लगायतका क्षेत्रको विकासमा भारतीय सहयोग महत्वपूर्ण हुने धारणा राख्नु भयो । अध्यक्ष राणाले महासंघले निकट भविष्यमा काठमाडौंमा आयोजना गर्न लागेको नेपाल–भारत लगानी सम्मेलनमा सम्भावित संयुक्त लगानी, विकास निर्माणमा सहकार्य आदि विषयमा भारतीय अधिकारीहरुसँग ठोस छलफल हुने समेत विश्वास दिलाउनु भयो । 

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्य एवं संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, प्रदेश सांसद मो. याकुव अन्सारी, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, कोहलपुर उवासंघका अध्यक्ष चक्र अधिकारी, बर्दिया राजापुर उवासंघका अध्यक्ष कृष्णकुमार रेग्मी, नेपालगञ्जका पूर्व मेयर विजय गुप्ता लगायत व्यवसायीहरूले “ह्यापी बोर्डर”का लागि कस्टम लगायत सीमा सुरक्षामा रहनेहरूको व्यवहारमा परिवर्तन गरिनुपर्ने, प्रत्येक भारतीयलाई एकपटक नेपाल घुम्न जाने प्रेरणात्मक कार्यक्रम चलाउनु पर्ने लगायतका सुझाव समेत राख्नु भएको थियो । 

सो अवसरमा महामहिम राजदुत पुरीले मानसरोवर जाने भारतीयका लागि नेपालगञ्जलाई मुख्य बाटो बनाउन सकिएमा यहाँको विकासमा ठूलो सहयोग पुग्ने बताउनु भयो । उहाँले दिल्ली नेपालगञ्ज उडान भएपछि मानसरोवर जाने भारतीय पर्यटकका लागि नेपालगञ्ज मुख्य नाका हुने र त्यसबाट यहाँको विकासमा ढोका खुल्ने दावी गर्नुभयो । नेपालगञ्जको पूर्वाधार विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने विश्वास समेत दिलाउनु भयो । 

कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य राख्नुहुँदै नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्जको विकासमा सिटी हल लगायत अन्य पूर्वाधार निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । महामहिम राजदुत समक्ष प्रत्यक्ष रुपमा नेपालगञ्जको विकास निर्माण र नेपाल भारत सम्बन्ध विस्तारमा साक्षात्कार गर्न पाएकोमा अध्यक्ष वैश्यले खुशी समेत प्रकट गर्नुभयो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by