Aug 07, 2018
वीरगंजमा महासंघको जिल्ला नगरउवासंघहरुको राष्ट्रिय भेला निजी क्षेत्रको प्रतिनिधिमुलक सँस्था महासंघको राष्ट्रिय अन्तर्राष्ट्रिय विशिष्ट महत्व छ–प्रचण्ड (२०७५/०४/२२)
नेपाल उद्योग वाणिज्य महासंघ–जिल्ला नगर उद्योग वाणिज्य संघहरूको राष्ट्रिय भेला आज वीरगंजमा सम्पन्न भयो । महासंघको आयोजना र वीरगंज उद्योग वाणिज्य संघको आतिथ्यतामा आयोजना गरिएको भेलाको पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज एक विशेष समारोहका बीच समुद्घाटन गर्नुभयो । 
व्यवसायीहरूको धारणा सुनिसकेपछि समुद्घाटन कार्यक्रमलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि पूर्व प्रधानमन्त्री प्रचण्डले नेपाली निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ आज राष्ट्रिय अन्तराष्ट्रिय रूपमा विशिष्ट पहिचान बनाउन सफल भएको बताउनु भयो । उहाँले भन्नु भयो– नेपालको आधिकारिक निजी क्षेत्रको स्थापित संस्था महासंघ हो । महासंघको राष्ट्रिय अन्तराष्ट्रिय विशिष्ट महत्व छ । 

मुलुकभित्र लामो समयपछि राजनीतिक स्थिरता आएको छ, नाफा कमाउने स्वतन्त्रता, उत्पादन गर्ने स्वतन्त्रता नहुन्जेल समृद्धि हासिल नहुने उहाँले बताउनु भयो । राष्ट्रिय पूँजीको सुरक्षा सहित मुलुकको समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको भन्नुहुंदै उहाँले मुलुकमा राम्रो वातावरण भएमा स्वदेशी विदशी लगानी आउने दावी गर्नुभयो । उहाँले वर्तमान सरकार लगानीको वातावरण बनाउन दिनरात लागीपरेको समेत स्पष्ट पार्नु भयो । 



पूर्व प्रधानमन्त्री प्रचण्डले सरल व्याजदरमा ऋण पाउनु पर्ने, नविकरण सरल गरिनुपर्ने, कर प्रणाली सहज बनाउनुपर्ने व्यवसायीहरूको माग जायज रहेको बताउनुहुँदै यसमा आफ्ना तर्फबाट पनि सहयोग गर्ने विश्वास दिलाउनु भयो । राष्ट्रिय पूँजीको सुरक्षा गरी समृद्धि हासिल गर्न सकिने धारणा राख्नुहुंदै उहाँले समयको गतिशिलतासँगै कार्य गर्नुपर्ने र रूपान्तरण हुनुपर्ने धारणा राख्नु भयो । 

६३ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरूबाट करिव ३ सय जना उद्यमी व्यवसायीहरूको वृहद सहभागिता रहेको उक्त सम्मेलनमा सहभागी उद्यमी व्यवसायीहरूले प्रमुख अतिथि समक्ष मुलुकभित्र उद्योग व्यवसाय गर्ने वातावारण बनाई दिन आग्रह गरे । स्थानीय, प्रादेशिक तथा संघीय गरी तीनै तहको सरकार क्रियाशिल रहेको अहिलेको अवस्थामा व्यवसाय गर्ने वातावरण सहज हुनुपर्नेमा झनै कठिन बन्दै गएको गुनासो उनीहरूले गरे । स्थायी सरकार हुँदाहुँदै व्यबसाय क्षेत्रमा झनै चुनौतीहरू थपिंदै गएको, व्यबसायिक वातावरण वातावरण बनाउने तर्फ तीनै तहको सरकार क्रियाशिल नदेखिएका, व्यवसायीहरूलाई करको भार थोपर्दै गएको, सहज वातावरणको सट्टा देशैभर व्यवसायीहरू समस्याबाट गुज्रिरहेका, बैंकहरूले मनलाग्दी व्याजर बढाएका, फर्म दर्ता नविकरणमा समस्या झेल्नु परेको गुनासो सहभागी उद्यमी व्यवसायीहरूको थियो ।  स्थानिय र प्रदेश सरकारबाट उठाउने करबाट उद्योग वाणिज्य क्षेत्रमा ठूलो असर परेकाले स्थानिय, प्रदेश सरकार र स्थानिय उद्योग वाणिज्य संघहरू बीच समन्वय गरी कर निर्धारणमा सहज वातावरण बनाउनु पर्न सुझाव सहभागी उद्यमी व्यवसायीहरुको थियो । 

उद्योग स्थापना गर्ने प्रक्रिया झंझटिलो रहेको हुंदा बिभिन्न निकायबाट लिनु पर्ने सिफारिश लगायतको कार्य एकै ठाउँबाट गर्नको लागि छुटृै कार्यालय स्थापना गर्नु पर्ने, संघीय, प्रदेश र स्थानीय सरकारले अनिवार्य रुपमा स्वदेशी उत्पादनहरूको प्रयोग गर्ने व्यबस्था हुनु पर्ने, बजार अनुगमन स्थानीय उद्योग वाणिज्य संघहरूको प्रतिनिधिको रोहवरमा मात्र कार्यविधी बनाई गर्ने व्यबस्था गर्नु पर्ने, एक्जीम कोड सम्बन्धमा साना व्यबसायीहरूलाई भंसार कार्यालयहरूमा भारतबाट सामान आयात गर्दा ३,००,०००।– (तीन लाख) धरौटी राख्नु पर्ने व्यबस्था भएको हुंदा समस्या सृजना भएकोले सो व्यबस्था हटाउनु पर्ने, स्थानीय उद्योग वाणिज्य संघहरूको सिफारिशमा फर्म दर्ता तथा नविकरण गर्ने व्यवस्था नभएको हुंदा तथ्याङक संकलन गर्न अप्ठेरो परेकोले स्थानीय उद्योग वाणिज्य संघहरूको सिफारिशमा मात्र फर्म दर्ता तथा नविकरण गर्ने व्यबस्था गर्नु पर्ने, देशमा व्याप्त सबै प्रकारको सिण्डिकेटको अन्त्य हुनु पर्ने सुझाव उनीहरूको थियो ।



कार्यक्रमका अतिथि एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले मुलुकभित्र सुशासन र वेथितिको अन्त्य गर्न वर्तमान सरकार लागीरहेको बताउनु भयो । फर्म दर्ता नविकरणको लागि थप तीन महिनाको समय दिने सोंच सरकारको रहेको स्पष्ट पार्दै एकद्वार प्रणालीलाई कार्यान्वयनमा लैजाने विश्वास दिलाउनु भयो । अन्तर मन्त्रालय समन्वयमा सुधार हुंदै गएको, दोहोरो तेहेरो कर नलाग्नेमा संघीय सरकार सचेत छ, व्यापाघाटा कम गर्न वस्तु उत्पादनमा जोड दिनुपर्ने बताउनुहुँदै मुलुकको समृद्धिका वारेमा निजी क्षेत्रसँग बसेर छलफल गर्ने मन्त्री यादवले स्पष्ट पार्नुभयो । 

कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष भवानी राणाले जिल्लामा उद्यमी व्यवसायीहरूले भोग्नु परेका समस्याका वारेमा छलफल गरी निचोड निकाली उद्योग व्यवसायको प्रवद्र्धनमा यो भेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । इतिहासकै शक्तिशाली सरकार आएको ८ महिनासम्म पनि उद्योगी व्यवसायीले यसको अनुभव गर्न नसकेको गुनासो गर्नुहुंदै अध्यक्ष राणाले विश्वमा जुन देशमा कर प्रणालीमा सुधार गरिएको छ ती देशले समृद्धि हासिल गरेकाले सरकारले समृद्धिको आधार तयार गर्नुपर्ने सुझाव दिनु भयो । 

महासघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोर कुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकालले कर दर वृद्धिको विरोधमा वीरगंजका व्यवसायीहरुले गरेको आन्दोलनको सराहना गर्नुहुँदै काला बजारी ऐन लगायतका ऐनहरू संशोधन हुनुपर्ने, बैकिङ व्याजदरमा सुधार हुनुपर्ने, बजार अनुगमनलाई थप व्यवस्थितर र मर्यादित बनाउनु पर्ने, करदातालाई सम्मान हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा महासंघका उपाध्यक्ष प्रधानले कार्यपत्र (यसैसाथ संलग्न) प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा महासंघका सातै प्रदेश च्याप्टरका अध्यक्षहरु, कार्यकारिणी समितिका सदस्यहरुको पनि सहभागिता रहेको थियो । 

बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले वीरगंजको मितेरी पुल पुुनरनिर्माण हुनुपर्ने, निर्यातमा सुहलियतको विधि स्पष्ट हुनु पर्ने, औद्योगिक करिडरसम्म भारी बोकेर आउने ४०० मे.ट.सम्मको कन्टेनर अमलेखगंजसम्म आउन सक्ने पूर्वाधार निर्माण तथा स्थानीय निकायहरुले व्यवसाय मैत्री वातावरण बनाउनु पर्ने लगायतका सुझाव राख्नु भयो । 


  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by