Aug 12, 2018
नेपाली चलचित्र उद्योगमा विद्यमान कर राजस्व लगायतको  प्रावधानका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न (२०७५/०४/२७)
नेपाल उद्योग वाणिज्य महासंघद्धारा नेपाली चलचित्र उद्योगमा विद्यमान कर तथा राजस्व लगायतको प्रावधान विषयक आज एक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । कार्यक्रम चलचित्र उद्योगलाई पर्न गएको कर राजस्व लगायतका समस्या समाधानमा सघाउ पुरयाउने उद्देश्यले महासंघको चलचित्र तथा मनोरञ्जन फोरमको पहलमा आयोजना गरिएको हो । कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरु, चलचित्र क्षेत्रमा उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो । 



कार्यक्रमलाई महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले संवोधन गर्नुभयो । सो अवसरमा उपाध्यक्ष श्रेष्ठले स्वदेशी उत्पादनबाटै देश समृद्ध हुने बताउंदै स्वदेशी वस्तुको उपभोग राष्ट्रिय अर्थतन्त्र निर्माणमा अपरिहार्य रहेको धारणा राख्नु भयो । उपाध्यक्ष श्रेष्ठले अगाडी भन्नु भयो–यसमा पनि सिनेमाको त झनै ठूलो महत्व हुन्छ । सिनेमाले मुलुकलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा पहिचान दिलाउन निकै ठूलो भूमिका निर्वाह गर्दछ । सिनेमा कुनै पनि मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, भौगोलिक पक्षको ऐना हो ।
स्वदेशी उत्पादनको प्रवद्र्धन, स्वदेशी वस्तु तथा सेवाको उपभोग बढाउनु पर्ने टड्कारो आवश्यकता रहेको तर्फ धारणा राख्दै महासंघले सरकार प्रमुखलाई पनि यस विषयमा ध्यानाकर्षण गराएका बताउनु भयो । नेपाली चलचित्र उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने कुरामा सरकार पनि विशेष जागरूक रहेको आफूले पाएको उहांले बताउनु भयो । उपाध्यक्ष श्रेष्ठले भन्नु भयो –यतिखेर हाम्रो चाहना भनेको कर मैत्री वातावरण हो । कर करले होइन इच्छाले संकलन गर्ने वातावरण वनाउनै पर्दछ । यसमा हामीले नेपाल सरकार विशेष गरी अर्थ मन्त्रालयको टीमबाट सहयोग खोजेका छौं ।



उपाध्यक्ष श्रेष्ठले मुलुकको आम्दानीको मुख्य स्रोत भनेकै कर राजस्व रहेको र यसको मात्रा वर्षेनी वढ्दै गएकाले राज्यले संकलन गरेको राजस्व सही अर्थमा प्रयोग हुनुपर्ने र कर तिर्ने वातावरण निर्माण हुनुपर्नेमा जोड दिनु भयो । 

सो अवसरमा आन्तरिक राजस्व विभागका निर्देशक रमेश गौतमले चलचित्र उद्योग सम्बन्धी विद्यमान कर तथा राजस्व नीतिका बारेमा प्रष्ट पार्दै चलचित्र निर्माण प्रक्रियामा भएका व्यवहारिक समस्याका कारण बहन गरिरहनुपरेको नोक्सानका विषयमा विभागमै उपस्थितभै लिखित एवं मौखित रुपमा जानकारी गराई समाधाका लागि पहल गर्न सुझाव दिनुभयो । उहांले तपाईहरुलाई सहयोग गर्न विभाग तयार रहेको र कर संकलनलाई व्यवस्थित, सहज र पारदर्शी बनाउन सरकारले कर संकलन केन्द्रलाई दूर्गम ठाउंहरुमा समेत विस्तार गर्दै गएको स्पष्ट पार्नुभयो । उहांले चलचित्र उद्योगहरुका लागि थप छलफल कार्यक्रमको आवश्यकता रहेको समेत औल्याउनु भयो ।

त्यसअघि महासंघको कार्यकारिणी समिति सदस्य एवं चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकास अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै हालै लागु भएको बक्स अफिस मार्फत चलचित्र निर्माताहरु र चलचित्र प्रदशकहरुले बुझाउनुपर्ने कर प्रणालीमा भएका समस्याहरुको बारेमा जानकारी गराउनहुँदै त्यसको सहजीकरणका लागि पहल हुनु पर्नेमा जोड दिनुभयो । 



सभापति अधिकारीले नेपाली चलचित्रहरूको छायांकनका दौरान नेपाल अधिराज्यभरका स्थानमा पुग्नु पर्ने, तत्कालिन अवस्थामा सिनेमा छायाङ्कनका लागि आवश्यक सामानहरू खरिदका गर्दा भ्याट बील प्राप्त नहुने र सिनेमा छायांकन समाप्त भइसके पश्चात चलचित्रको लगानी भारी भएता पनि भ्याट बीलको तथ्याङ्कलाई आधार मान्दा चलचित्रको लगानी न्युन देखिने समस्या रहेको बताउनु हुंदै भन्नु भयो – जसले गर्दा चलचित्रले लगानी उठाउन नसक्दा वा सिनेमा फ्लप हुँदा पनि सो तथ्याङ्क अनुसार चलचित्रको मुनाफा देखिने हुँदा अधिकांश निर्माताहरू पूर्ण भ्याटमा आफ्नो कम्पनीलाई लैजान त्रसित भएको जानकारी गराउनु भयो । 

सोही समारोहमा महासंघले गतसाल आयोजना गरेको एफएनसीसीआई म्यूजिकल नाइटमा सहयोग गर्ने कम्पनी उद्योग प्रतिष्ठानहरु र महानुभावहरुलाई प्रशंसापत्रबाट सम्मान पनि गरिएको थियो । गत वर्ष आयोजना गरेको उक्त कार्यक्रममा सहयोग गर्ने टाईगर ब्रुअरी ई. प्रा.लि., विजय डिष्टीलरी प्रा.लि., सिताराम गोकुल मिल्कस प्रालि.,सुशिल वनस्पती प्रा.लि., नेपाल ईकरात ईन्जिनियरिङ कम्पनी प्रा.लि., युनिलिभर नेपाल प्रा.लि., नेविको प्रा.लि.,सयपत्री ज्वेलर्स प्रा.लि., हेरिटेज फ्लोरिङ कार्पेट प्रा.लि., इस्टर्न कसमस सिमेन्ट प्रा.लि., टीएसएन विजनेस ग्रुप (टीएसएन इनर्जी) प्रा.लि., यति पोलिकेम प्रा.लि. र महालक्ष्मी विकास बैंक प्रा.लि.लाई सम्मानपत्र प्रदान गरिएको थियो । 

सोही समारोहमा चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकास अधिकारीले कार्यक्रम आयोजनाबाट बचत भएको दुई लाख महासंघलाई वुझाउनु भयो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by