Aug 24, 2018
साना तथा मझौला उद्यम व्यवसाय विकासको वातावरण बनाउन अध्यक्ष राणाद्धारा सरकारको ध्यानाकर्षण (२०७५/०५/०८)
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले साना तथा मझौला व्यवसायी महासंघ नेपालद्धारा आयोजित तीज महोत्सव तथा महिला उद्यमी मेला (Women SME Trade Fair) को आज एक विशेष समारोहका बीच ललितपुरमा उद्घाटन गर्नुभयो ।

हिन्दु नारीहरूको महान चाड तीजको अवसर पारेर महिला उद्यमीहरूलाई हौसला प्रदान गर्ने एवं उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन गर्ने उद्देश्यले याक प्यालेस, पुल्चोक ललितपुरमा आयोजित उक्त मेला तीन दिनसम्म संचालन हुने छ । उक्त मेलामा विभिन्न जिल्लाका साना तथा मझौला व्यवसायी महिलाहरूले आ–आफ्नो उत्पादनहरू प्रदर्शनीमा राखेका छन् ।



उद्घाटन कार्यक्रमलाई संबोधन गर्नुहुँदै अध्यक्ष राणाले मुलुकको आर्थिक विकास एवं समृद्धिको एक कडीको रूपमा रहेका साना तथा मझौला व्यवसाय त्यसमा पनि महिलाहरूले उत्पादन गरेको वस्तुहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेला यस क्षेत्रको विकासमा सहयोगी हुने धारणा राख्नु भयो । 

सरकारले यस क्षेत्रको विकासमा विशेष गरी सहज रूपमा ऋणको व्यवस्था, बजार पहुँच तथा प्रवद्र्धन र नविनतम तकनिकीमा उद्यमीहरूले सरकारको सहयोग खोजेको स्पष्ट पार्नुभयो । 

यो क्षेत्रलाई विस्तार हुने वातावरण बनाइदिन आवश्यक रहेको जसले गर्दा दिगो रूपमा व्यवसाय संचालनमा सहयोग पुग्ने धारणा अध्यक्ष राणाले राख्नुभयो । उद्यमशीलता प्रवद्र्धन मार्फत मुलुक भित्र रोजगारीको पर्याप्त अवसर सृजना गर्न सकिने अध्यक्ष राणाले बताउनु भयो । मेला महोत्सवले व्यवसाय प्रवद्र्धनमा ठूलो भूमिका खेल्नुका साथै विशेष गरि महिला दिदी बहिनीहरूलाई व्यवसाय संचालनमा थप उर्जा मिल्ने धारणा समेत राख्नुभयो । 



समय समयमा आयोजना गरिने मेला महोत्सव मुलुकभित्र साना तथा मझौला उद्यमको यथार्थ वस्तुतथ्य बाहिर ल्याउन कोषेढुंगा हुने विश्वास लिएको अध्यक्ष राणाले बताउनुभयो ।

उद्यमी व्यवसायीहरूको प्रयासमा निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ सदैव साथमा रहने विश्वास दिलाउनहुँदै अध्यक्ष राणाले मेलाको पूर्ण सफलताको कामना गर्नुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by