Aug 28, 2018
विश्व बैंकद्वारा महासंघसँग सहकार्य गर्ने इच्छा व्यक्त (२०७५/५/१२)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित महासंघका पदाधिकारीहरू र नेपालका लागि विश्व बैंकका कन्ट्रि म्यानेजर फेरिस हादाद जर्भस (Faris Hadad Zervos, Country Manager, World Bank ) बीच आज महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भयो । सो भेटवार्तामा विश्व बैंक र निजी क्षेत्र बीचको सहकार्यलाई पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास लगायतका क्षेत्रमा केन्द्रीत गर्नुपर्नेमा जोड दिइयो ।  

सो भेटवार्तामा महासंघका अध्यक्ष राणाले नेपालमा रहेका सम्भाव्यताहरूमा सहयोग गर्न विश्व बैंक समक्ष आग्रह गर्नुभयो । अध्यक्ष राणाले कनेक्टिभिटी, बैंकिङ, पूर्वाधार, आईटी, लगायतका विषयमा सार्वजनिक निजी साझेदारी (PPP) का साथै सार्वजनिक निजी संवादको अवधारणा अनुरूप अगाडी बढ्नुपर्नेमा जोड दिनु भयो । 
 
नेपालमा करमैत्री र लगानी मैत्री वातावरण निर्माणमा विश्व बैंकको महत्वपूर्ण भूमिका हुनसक्ने भएकाले त्यसका लागि सहजीकरणमा सहयोग गर्न अध्यक्ष राणाले आग्रह गर्नुभयो । निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था महासंघको देशव्यापी संजाल रहेकोले विश्व बैंक र महासंघ बीच अझ बढी सहकार्यको आवश्यकता रहेको अध्यक्ष राणाले औल्याउनु भयो ।



सो अवसरमा विश्व बैंकका कन्ट्रि म्यानेजर फेरिस हादाद जर्भस (Faris Hadad Zervos, Country Manager, World Bank) ले महासंघसंगको भेटवार्ता निकै महत्वपूर्ण रहेको र नेपालको विकास प्रयासमा निजी क्षेत्रसंग मिलेर कार्य गर्ने विश्वास दिलाउनु भयो । उहाँले विश्व बैंकको सहयोगको क्षेत्र र निजी क्षेत्रको अपेक्षा एकै किसिमका रहेकोले सहकार्यका लागि सहज हुने समेत बताउनुभयो । विश्व बैंकद्वारा नेपाल सरकार अर्थ मन्त्रालय समेतको सहभागितामा छिट्टै एक कार्यशाला आयोजना गर्ने कार्यक्रम रहेकाले उक्त कार्यक्रममा महासंघ लगायत अन्य सरोकारवालाहरूलाई सहभागी गराएर छलफलका माध्यमबाट योजना बनाउने समेत उहाँले जानकारी गराउनु भयो ।



उक्त भेटवार्तामा महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क चेम्बरका उपाध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर कुमार प्रधान र चन्द्र प्रसाद ढकाल, निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, विश्व बैंकका अधिकारी सहभागिता रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by