Oct 29, 2018
म्याग्दीको टोलीलाई महासंघ सचिवालयमा स्वागत (२०७५/०७/१२)

नेपाल उद्योग वाणिज्य महासंघद्वारा म्याग्दी भ्रमण वर्ष २०७५ को प्रचारप्रसारको क्रममा काठमाडौं आएको म्याग्दी उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई आज एक समारोहका बीच महासंघ सचिवालयमा स्वागत गरिएको छ । “म्याग्दी घुम्न जाऔं, पर्यटकीय सौन्दर्यता रमाऔं, पर्यटकीय सौन्दर्यतामा रमाऔं, आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन गरौं” भन्ने मूल नारासाथ महासंघमा आएको भ्रमण टोलीलाई महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले स्वागत गर्नुभयो । 

टोलीलाई स्वागत गर्नुहुँदै उपाध्यक्ष श्रेष्ठले म्याग्दी उद्योग वाणिज्य संघको प्रयास प्रशंसनीय रहेको बताउनुहुँदै संघको प्रयासमा महासंघको सदैव साथ एवं समर्थन रहने बताउनुभयो । साथै, श्रेष्ठले संभावनाहरूले भरिएको जिल्लाको पर्यटकीय प्रवर्द्धनमा व्यक्तिगत तर्फबाट समेत सहयोग पुर्‍याउने विश्वास दिलाउनुभयो । 

कार्यक्रममा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले म्याग्दी जिल्ला संभावनाहरूले भरिएको मात्र नभई पूर्वाधारहरूको पनि निर्माण शुरुवात भैसकेकोले पर्यटन प्रवर्द्धनमा सहज हुने धारणा राख्नु भयो । धार्मिक, प्राकृतिक एवं पूर्वाधार लगायत बहुपक्षिय सम्भावना भएको समग्र जिल्लाको प्रवर्द्धनमा निजी क्षेत्र तथा स्थानीय निकायको सहकार्यमा थालनी गरिएको प्रयास प्रशंसनीय रहेको बताउनुहुँदै पूर्व अध्यक्ष ढकालले महासंघको तर्फबाट विगतमाझैं आगामी दिनहरूमा पनि सहयोग निरन्तर रहने बताउनु भयो । 

सोही अवसरमा महासंघ प्रदेश नं. ३ का अध्यक्ष एवं प्रदेश उवामहासंघका संयोजक दिनेश श्रेष्ठले भ्रमण टोलीको प्रयासको प्रशंसा गर्नुभयो । विदेशी मुलुकहरूले पनि पूर्वाधारको राम्रो व्यवस्थापन सहित प्रचार प्रसारको माध्यमबाट लाखौं पर्यटकहरू भित्राउनुका साथै अर्थतन्त्रको मूल आधार बनाएको उदाहरण दिनुहुँदै पर्यटक आकर्षणमा कुनै कन्जुस्याई नगर्न सुझाव समेत दिनुभयो । 

महासंघको कार्यकारिणी समिति सदस्यहरुको समेत उपस्थिति रहेको सो अवसरमा म्याग्दी उद्योग वाणिज्य संघ अध्यक्ष तथा मूल संयोजक उत्तमकुमार कर्माचार्यले जिल्ला समन्वय समिति, बेनी नगरपालिका तथा गाउँपालिकाहरू, अन्नपूर्ण, मालिका र रघुगंगा, म्याग्दी विकास मञ्च, म्याग्दी प्रवासी नेपाल संघ (मोला) तथा प्रवर्द्धन नेपाल पर्यटन बोर्ड एवम् नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं. ४ का साथै अन्य सहयोगी संघ/संस्थाहरु नेपाल पत्रकार महासंघलगायतको सहकार्यमा म्याग्दी भ्रमण वर्ष २०७५ आयोजना गरिएको जानकारी गराउनुभयो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by