Oct 30, 2018
साना तथा मझौला व्यवसाय विकासमा कार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय निगम बीच समझदारी (२०७५/० ७/१३)

नेपाल र कोरिया बीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने उद्देश्यले आज एक समारोहका बीच काठमाडौंमा समझदारीपत्र (Memorandum of Understanding-MoU) मा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय निगम (Small and Medium Business Corporation-SBC, Korea) बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझादारीपत्रमा महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छा र एसबीसी कोरियाका अध्यक्ष ली साङ जीक (LeeSang Jik, President, Small and Medium Business Corporation-SBC) हस्ताक्षर गर्नुभयो । 



अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने उद्देश्य रहेको कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ । यसबाट समग्रमा साना तथा मझौला व्यवसायलाई युग सुहाउँदो रूपमा विकास गरी त्यस मार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । समझदारीपत्रमा यसका उद्देश्य, सहयोगका क्षेत्र, समन्वय गर्ने अधिकारीको व्यवस्था, कार्यान्वयन इकाई, वित्तिय व्यवस्थापन लगायत गरी १५ वटा दफाहरू समेटिएका छन् । साना उद्यमीहरूलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिने, दुवै देशमा अवलम्वन गरिएका नीति तथा कानुन, प्रविधि, ज्ञान, शीपको आदान प्रदान, बजार प्रवद्र्धन, विद्यमान ऐन कानूनलाई समय सान्दर्भिक रूपमा संशोधन गर्न आ–आफ्ना सरकारलाई अनुरोध गर्ने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ । 



त्यसैगरी समझदारीपत्रमा दुवै सँस्थाको वेभसाइट मार्फत साना तथा मझौला व्यवसाय सम्बन्धी सूचना तथा जानकारी आदान प्रदान गर्ने, एकअर्का देशमा आयोजना हुने व्यापार मेलामा साना तथा मझौला व्यवसाय सम्बन्धी विशेष प्रर्दशनीको प्रवन्ध गर्ने, यस सम्बन्धमा छलफल अन्तरक्रिया आयोजना गर्ने, साना मझौला उद्यमी व्यवसायीहरूको अध्ययन भ्रमणको व्यवस्था समयसमयमा मिलाउने, दुवै देशले अवलम्वन गरेका प्रविधिहरूका विषयमा जानकारी सहित प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने आदि उल्लेख गरिएको छ । 



समझदारीपत्र हस्ताक्षर समारोहमा नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको साना तथा मझौला व्यवसायको विकासका लागि उद्यमशीलता र नविनता महत्वपूर्ण तत्व रहेकोमा जोड दिइयो । पर्याप्त वित्तिय पहुँचको अभाव, न्यून उद्यमशीलता, तालीम तथा व्यवसाय सुरु गर्ने जानकारीको अभाव, वजार प्रर्वद्धन तथा संस्थागत विकास हुन नसक्नुनै नेपालमा साना तथा मझौला व्यवसायले भोग्नु परेका प्रमुख समस्या रहेको औल्याउंदै दुवै सँस्था बीच भएको सहकार्य यस क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने विश्वास समेत सो अवसरमा प्रकट गरियो ।  



समझदारीपत्रमा हस्ताक्षर पश्चात साना तथा मझौला व्यवसायका लागि नेपाल कोरिया बीटुबी अन्तरक्रिया (Nepal-Korea B2B Interaction for SMEs) को समेत आयोजना गरिएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष गोल्छा, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक (H.E. Park Young Sik, Ambassador of Republic of Korea to Nepal), नेपाल कोरिया उद्योग वाणिज्य संघका अध्यक्ष किरण सा:ख, एसबीसीका अध्यक्ष ली साङ जीक र नेपाल कोरिया उवासंघका महासचिव सुनिल खेतानले मन्तव्य राख्नु भएको थियो । 

त्यसैगरी साउतीका अध्यक्ष डा. पोषराज पाण्डेले नेपालमा साना तथा मझौला व्यवसायमा लगानीको अवसर तथा साझेदारीका सम्भावना र एसबीसी कोरियाका जुङ हुवान मुन (Jung Hwan Moon,  Small and Medium Business Corporation-SBC) ले कोरियन साना तथा मझौला व्यवसायका विषयमा प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, नेपाल कोरिया उवासंघका सदस्यहरू, दुवै देशका उद्यमी व्यवसायीहरूको महत्वपूर्ण सहभागिता रहेको थियो । 

कार्यक्रममा नेपाल र कोरिया बीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारको अथाह सम्भावना रहेपनि दुवै देश बीचको व्यापार भने यद्यपी निकै सानो आकारमा रहेकाले आपसी व्यापार प्रवद्र्धनमा समेत यो सहकार्यबाट सघाउ पुग्ने विश्वास प्रकट गरियो । महासंघमा रहेको तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०१६/१७ मा नेपालको कोरियासँग ८२.६ मिलियन अमेरिकी डलर वरावरको व्यापार घाटा रहेको देखिन्छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by