Nov 11, 2018
चेन्नाईमा आयोजित कार्यक्रमलाई महासंघका विशिष्ट सदस्य ढकालबाट संवोधन: वातावरण परिवर्तनबाट हुन सक्ने असरलाई न्यूनिकरण गर्न दक्षिण एशियाली देशका सरकारहरूको दरिलो सहकार्यमा विज्ञहरूको जोड (२०७५/०७/२५)

भारतको चेन्नाईमा आयोजित रिजेलिएन्ट साउथ एशिया: रिजनल एजेण्डा फर क्लाइमेट चेन्ज कोअपरेशन (Resilient South Asia: Regional Agenda for Climate Change Cooperation)   विषयक सम्मेलनमा सहभागी विज्ञहरूले वातावरण परिवर्तन अहिले संसारकै लागि चुनौतीको विषय हुंदै गएकाले यसबाट दक्षिण एशिया पनि अछुतो रहन नसक्ने भन्दै यसलाई समयमै संवोधन गर्नुपर्नेमा जोड दिएका छन् । 

यस क्षेत्रका उद्यमी व्यवसायीहरू, लगानीकर्ताहरू, सरकारी तथा निजी क्षेत्रका पदाधिकारीहरूको सहभागीतामा आयोजित उक्त कार्यक्रममा सहभागी विज्ञहरूले यस क्षेत्रका सरकारहरूले समयमै यसको लागि दरिलो सहकार्य गर्नुपर्ने सुझाव समेत दिएका छन् ।  

सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce and Industry-SCCI) ले आयोजना गरेको उक्त सम्मेलनमा क्लाइमेट चेन्ज अडप्पशन: फ्रम इकोनोमिक टु सोसियल प्रस्पेक्टीभ (Climate Change Adaptation; from Economic to Social Perspective) सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष तथा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले गर्नुभएको थियो । 
सम्मेलन दक्षिण एशियाको लागि वातावरण परिवर्तन रणनीति तयार गर्नका लागि अवसर तथा आवश्यकता पहिचान गर्ने, वातावरण परिवर्तनका चुनौतीहरुलाई संवोधन गर्ने ढंगले नयाँ नयाँ व्यवसायिक उदाहरणहरू र असल अभ्यासहरूको आदान प्रदान गर्ने र यस क्षेत्रमा संचालित साना तथा मझौला उद्यम व्यवसायलाई सोही अनुसार प्रविधिगत रुपमा अद्यावधिक गर्न उपायहरूको पहिचान गर्ने र वातावरण परिवर्तनबाट पर्ने प्रभावका विषयमा सारोकारवालाहरूमा जागरण ल्याउने उद्देश्यले आयोजना गरिएको हो । 

क्लाइमेट चेन्ज अडप्पशन: फ्रम इकोनोमिक टु सोसियल प्रस्पेक्टीभ विषयक सत्रको अध्यक्षता गरिरहनु भएका श्री ढकालले वातावरण परिवर्तनबाट उत्पन्न हुन सक्ने चुनौतीहरूलाई सामना गर्ने क्षेत्रीय प्रयासमा नेपालको पनि दरिलो साथ रहने विश्वास दिलाउनु भयो । प्राकृतिक विपत्तिबाट वितेका दुई दशकमा ४.४ विलियन मानिसहरू प्रभावित भएको, २ ट्रिलियन अमेरिकी डलर वरावरको भौतिक तथा आर्थिक क्षति भएको र १.४ मिलियन मानिसहरूले ज्यान गुमाउनु परेको तथ्यांक प्रस्तुत गर्नुहुंदै त्यसमध्ये करिव ९५ प्रतिशत विकासशील देशका मानिसहरू मारिएका बताउनु भयो । 

साथै उहाँले प्राकृतिक विपत्तिको चपेटामा दक्षिण एशिया सवैभन्दा प्रभावित क्षेत्र भएकाले यसक्षेत्रको उत्थानका लागि यहाँ रहेको असिमित अवसरहरूबाट फाइदा उठाउन बढी भन्दा बढी लगानी आवश्यक रहेकोमा समेत जोड दिनु भयो । वातावरण परिवर्तनबाट आउने असरहरूलाई न्यूनिकरण गर्न तथा उक्त असरबाट आउने आर्थिक सामाजिक चुनौतीहरूसँग सामना गर्न सोही अनुसार उपयुक्त रणनीति, व्यवस्थापन र पूर्वाधार विकास गर्न यो सम्मेलन कोशेढुंगा हुने विश्वास समेत उहाँले प्रकट गर्नुभयो ।  

त्यसअघि हिजो चेन्नाईमा आयोजित संघको ७६ औं कार्यकारिणी समिति बैठकमा संघको विधान संशोधन समितिको सभापतिको तर्फबाट श्री ढकालले संशोधनका लागि सुझाव सहित धारणापत्र बैठक समक्ष राख्नु भएको थियो । बैठकमा नेपालका तर्फबाट मानव संशाधन समिति र पर्यटन समितिको जिम्मेवारी नेपाललाई दिन आग्रह भएपश्चात बैठकको सभापतित्व गरिरहनु भएका सार्क उवासंघका अध्यक्ष रूवान इडिरीसिंघे (Mr. Ruwan Edirisinghe, President, SCCI) ले ती दुवै समितिको नेतृत्व नेपाललाई दिने विश्वास दिलाउनु भयो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by