Dec 24, 2018
एफएनसीसीआई प्रतिनिधिमण्डल र उत्तर प्रदेशका मुख्यमन्त्री योगी भेटवार्ता - नेपाल भारत सीमा क्षेत्रमा पूर्वाधार विकास प्राथमिकतामा (२०७५/०९/१०)

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको एफएनसीसीआईको १९ सदस्यीय व्यवसायिक प्रतिनिधिमण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पौष ९ गते, भारतको लखनउमा भेटवार्ता गरेको छ । 



नेपाल र उत्तरप्रदेश बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण, पर्यटन प्रवद्र्धनमा सहकार्यका क्षेत्रहरूका सम्भाव्यता पहिल्याउन एफएनसीसीआई प्रतिनिधिमण्डल यतिखेर उत्तर प्रदेशको भ्रमणमा छ । महासंघसँगको भेटवार्तामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नती र भन्सार नाकामा भइरहेको ढिलाई कम गर्न आफ्नो सरकारले काम थालेको बताउनु भएको छ । 



हिजो साँझ मुख्यमन्त्रीको कार्यालय लखनउमा भेटगर्दै उत्तर प्रदेश र नेपाल बीचका सीमा नाकालाई सहज र गतिशील बनाउन आफ्नो सरकारले विशेष ध्यान दिएको उहाँले बताउनु भयो । हालै मात्र उहाँले त्यसका लागि आवश्यक निर्देशन समेत दिइसकेको सो अवसरमा जानकारी गराउनु भयो । 

“भैरहवा, नेपालगञ्जदेखि पश्चिम गौरीफन्टासम्म म आफै पुगेर त्यहाँ भइरहेको विकास तथा व्यापार सहजीकरणको काम अनुगमन गर्नेछु । नेपाल भारत बीच हालसम्मको साँस्कृतिक तथा सामाजिक सम्बन्धलाई अब व्यापारिक सम्बन्धमा विकास तथा विस्तार गर्नु आवश्यक छ,” नेपाली प्रतिनिधिमण्डलले राखेका समस्याको जवाफदिंदै मुख्यमन्त्री योगीले भन्नु भयो । भारतबाट नेपाल प्रवेश गर्ने मालबाहक गाडी १० मिनेट भन्दा बढी रोकिन नहुने उहाँको भनाई थियो । साथै, गौरीफण्टा र अलिगढवा सीमानाकाको स्तरोन्नतिमा पनि उत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने उहाँले बताउनु भयो । 

नेपालको विकासमा भारतको केन्द्र र उत्तर प्रदेश सरकारको सदैव साथ र सहयोग रहने बताउँदै योगीले नेपालगञ्ज-कैलाश तीर्थ यात्राको विकासका लागि आवश्यक सहयोग गर्ने बचन समेत दिनु भयो । “नेपालगञ्ज-कैलाश मार्ग बलियो बनाउनुस, आवश्यक सहयोग गर्न हामी तयार छौं,”उहाँले भन्नुभयो । त्यस क्षेत्रको धार्मिक पर्यटनलाई टेवा पुर्‍याउनका लागि आवश्यक प्रवद्र्धन गर्ने बचन दिंदै योगीले आगामी सीजनको तीर्थयात्राको उद्घाटन गर्न अध्यक्ष राणाले दिएको निम्ता समेत स्वीकार गर्नुभयो । 

नेपाल र भारत बीचको व्यावसायिक सम्बन्धलाई अझ उचाईमा पुर्‍याउन प्रतिनिधिमण्डलको आदान प्रदानलाई अझ घनीभूतरूपमा अगाडि बढाउनु आवश्यक रहेको पनि उहाँले बताउनु भयो । 

एफएनसीसीआईका अध्यक्ष राणाले दुई मुुलुक बीच भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गर्दै नेपालको धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा उत्तर प्रदेशको सहयोग महत्वपूर्ण हुने बताउनु भयो । “नेपालको आर्थिक समृद्धिमा भारत सदैव नजिकबाट जोडिएको छ । त्यसैले दुई मुलुक बीचमा व्यापार मात्र नभई पर्यटनका क्षेत्रमा पनि सहयोग आदान प्रदान हुन आवश्यक छ । खासगरी नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्र, विकासमा पछि परेको हुँदा त्यहाँको विकासमा हामीले उत्तर प्रदेश सरकारको सहयोगको अपेक्षा गरेका छौं,” अध्यक्ष राणाले भन्नुभयो । 



नेपालले सन् २०१९ को मार्चमा आयोजना गर्ने लगानी सम्मेलनमा आउन र नेपालमा लगानी गर्न पनि राणाले आव्हान गर्नुभयो । दुई मुलुक बीच पर्याप्त मात्रामा प्रशारण लाईन, क्षेत्रीय पूर्वाधार, विवाद समाधान संयन्त्र, ऊर्जा सहकार्य जस्ता क्षेत्रमा तत्कालै सहकार्य हुनु पर्नेमा पनि उहाँले जोड दिनु भयो । 

एफएनसीसीआईका अध्यक्ष राणाको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डलले मुख्यमन्त्री योगीसँग भेटवार्ता गरेको थियो । प्रतिनिधिमण्डलमा एफएनसीसीआईका कार्यकारिणी समिति सदस्यहरू कृष्णप्रसाद श्रेष्ठ, शंकर बहादुर बोगटी, एफएनसीसीआई प्रदेश नम्वर ५ का उपाध्यक्ष दिपककुमार पौड्याल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिनकुर्मी, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, होटल संघ नेपालका कार्यकारी सदस्य असित समशेर जबरा, एफएनसीसीआईका सहायक निर्देशक अरुणकुमार श्रेष्ठ तथा अन्य उद्योगी व्यवसायी र मिडियाकर्मीहरू हुनुहुन्थ्यो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by