Jan 12, 2019
सीआईआई साझेदारी सम्मेलनलाई महासंघका विशिष्ट सदस्य ढकालबाट मुम्बईमा संवोधनः जनशक्ति र प्राकृतिक स्रोतको सही सदुपयोग हुन सके अवको विश्व अर्थतन्त्रको नेतृत्व दक्षिण एशियाले गर्ने - ढकाल (२०७५/०९/२८)

नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले भारतीय उद्योग परिसंघ (Confederation of Indian Industries-CII) द्वारा आजदेखि भारतको आर्थिक नगरी मुम्वईमा आयोजना गरिएको सीआईआई साझेदारी सम्मेलन (CII-Partnership Summit-2019) लाई संवोधन गर्नुहुंदै प्राकृतिक स्रोतले धनी दक्षिण एशियामा रहेको अपार सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरी यस क्षेत्रका जनताको जीवनस्तर सुधार गर्नुपर्नेमा जोड दिनु भएको छ । 

दक्षिण एशियामा आर्थिक सहयोग-साझेदारी प्रवद्र्धन सम्बन्धी Enhancing Economic Cooperation in South Asia विषयक सत्रलाई संवोधन गर्नुहुंदै सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहनु भएका महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले यूवा जनसंख्याले धनी दक्षिण एशियामा रहेको बलियो जनशक्ति र प्राकृतिक स्रोतलाई एकाकार गराएर लैजान सकियो भने अवको विश्व अर्थतन्त्रको नेतृत्व यसै क्षेत्रले गर्ने दावी समेत गर्नुभयो । 

सीआईआई साझेदारी सम्मेलनमा भाग लिन महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल अहिले भारतको मुम्वईमा रहेको छ । सम्मेलनको भारतका उपराष्ट्रपतिले एक विशेष समारोहका बीच आज समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव, भारतीय सरकारका उद्योग वाणिज्य तथा नागरिक उड्डयन मन्त्री सुरेश प्रभु, महाराष्ट्रका मुख्य मन्त्री, सार्क राष्ट्रका मन्त्रीहरुको सहभागिता रहेको थियो ।  

विशेषगरी दक्षिण एशिया आर्थिक विकासका लागि प्रचुर सम्भाव्यता रहेको क्षेत्र भएकाले क्षेत्रीय सहयोग, सहकार्य र साझेदारी मार्फत आर्थिक समृद्धिमा कार्य गर्न सरकारहरू पछि पर्न नहुने धारणा राख्नु भयो । सम्मेलनले यस क्षेत्रको आर्थिक समृद्धिका लागि ऐतिहासिक दिशा निर्देश गर्ने पनि उहाँले विश्वास प्रकट गर्नुभयो । सिंगो सार्क क्षेत्रलाई आर्थिक समृद्धिको अभियानमा एक ढिक्का बनाई लैजान आवश्यक भएको भन्दै यसका लागि यस क्षेत्रका सरकारलाई साझेदारीको रणनीतिमा काम गर्न समेत उहाँले सुझाव दिनुभयो । 

सार्क क्षेत्रका सवै राष्ट्रमा लगानी सम्भाव्यता प्रवल रहेको भन्दै सार्क उवासंघका उपाध्यक्ष ढकालले नेपालमा लगानीका लागि निकै धेरै सम्भाव्यता रहेको र कतिपय क्षेत्रहरु यद्यपी पहिचान समेत हुन नसकेकाले नेपालमा लगानी गरी फाइदा उठाउन यस क्षेत्रका उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । नेपालमा लगानीका लागि यतिखेर अत्यन्त उपयुक्त समय भएको, वातावरण पनि लगानी मैत्री रहेको, आन्तरिक तथा वाह्य लगानी आकर्षणका लागि नेपाल सरकारबाट आवश्यक नीतिगत सुधार समेत भैरहेको जानकारी गराउनु हुंदै नेपालमा लगानी बढाई यस क्षेत्रलाईनै लाभान्वित बनाउने दिशामा अगाडी बढ्न समेत उहा“ले सुझाव दिनु भयो । नेपाल सरकारले, आगामी मार्चमा नेपाल लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी गराउनुहुंदै उक्त सम्मेलनमा सहभागिताका लागि सार्क व्यवसायिक नेताहरूलाई निम्तो समेत दिनु भयो । 

सार्क क्षेत्रका मन्त्रीहरू, सरकारी प्रतिनिधिहरू, उद्यमी व्यवसायीहरू, लगानीकर्ताहरू, संचारमाध्यमहरू, विकास साझेदारहरूको महत्वपूर्ण सहभागिता रहेको सो कार्यक्रममा नेपालमा, ऐतिहासिक राजनीतिक परिवर्तन पश्चात सबै प्रकारको निर्वाचन समेत सम्पन्न भई स्थिर सरकारले काम गरिरहेकाले नेपालको दीगो आर्थिक विकासका लागि आवश्यक पूर्वाधार क्षेत्र जस्तो हाइवे, रेल, उर्जा तथा त्यससम्बन्धी पूर्वाधार तथा यातायात क्षेत्रमा लगानीको आवश्यकता रहेको समेत उहा“ले जानकारी गराउनु भयो । 

संवोधनका क्रममा विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ(सीआइआई) बीचको आपसी सम्बन्ध अत्यन्त प्रगाढ रहेको, दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, नीतिगत सुधारमा समेत दुवै स“स्थाले विगतमा ऐतिहासिक भूमिका निर्वाह गरेको स्मरण गर्नुहुदै अव दुबै संस्था बीच आपसी सहकार्यका माध्यमबाट औद्योगिक विकास, लगानी आकर्षणमा समेत सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । 

पूर्व अध्यक्ष ढकालले सम्मेलनकै दौरान पर्यटन तथा सेवा क्षेत्र सम्बन्धी एउटा शत्रलाई संवोधन गर्दै सार्क क्षेत्रलाई जोडने अर्को महत्वपूर्ण माध्यम पर्यटन क्षेत्र भएको स्पष्ट पार्नुभयो । पर्यटन क्षेत्रको अधिक विकास मार्फत यस क्षेत्रका जनताको जीवनस्तर माथि उठाउन सकिने तर्क राख्नुहु“दै उहा“ले यसका लागि सार्क क्षेत्रभित्र स्वतन्त्र आवागमन र कनेक्टीभीटीमा जोड दिनु पर्ने धारणा राख्नु भयो । 



नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेकाले नेपालमा पर्यटन क्षेत्रमा लगानी गरी फाइदा उठाउन पनि उहाँले अनुरोध गर्नुभयो । पर्यटन क्षेत्र पनि नेपालमा लगानीका लागि ठूलो सम्भाव्यता भएको क्षेत्र हो भन्नुहुंदै पुर्व अध्यक्ष ढकालले सो अवसरमा नेपालमा पर्यटन क्षेत्रमा लगानीको सम्भाव्यता, क्षेत्र तथा पर्यटन उद्योगको हालको वस्तुस्थितिका वारेमा स्पष्ट पार्नु भएको थियो । साथै उहाँले सो अवसरमा भ्रमण वर्षका लागि सरकारले लिएका विशेष नीति तथा कार्यक्रम, नेपालको पर्यटन नीति, राष्ट्रिय पर्यटन रणनीति लगायतका विषयमा समेत क्षेत्रीय सम्मेलनमा स्पष्ट पार्नु भएको थियो ।

साझेदारी सम्मेलनमा भाग लिन गएको महासंघको प्रतिनिधिमण्डलका सदस्यमा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान र निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी पनि हुनुहुन्छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by