Jan 29, 2019
श्रम बजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धि गर्न आइएलओबाट सहयोग (२०७५/१०/१५)
 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (International Labor Organization-ILO) का देशिय निर्देशक रिचार्ड हवार्ड (Dr. Richard Howard, Country Director) बीच आज महासंघ सचिवालयमा भेटवार्ता भयो । 

सो अवसरमा महासंघ र आइएलओ नेपाल कार्यालय बीच श्रम वजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धि Employers' Capacity Building to strengthen labour Market Governence for Industrial Relation in Nepal सम्बन्धी परियोजना कार्यक्रम सञ्चालन गर्ने संझौता पत्रमा हस्ताक्षर समेत भएको छ । संझौता अनुसार महासंघ रोजगारदाता परिषदद्वारा संचालन गरिने परियोजना कार्यक्रम अन्तर्गत महासंघका सातवटै प्रदेश च्याप्टरहरूको क्षमता विस्तार, नयाँ श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन, सामाजिक संवाद लगायतका विषयमा चेतना अभिवृद्धि गरी औद्योगिक सम्बन्धको सुधारमा केन्द्रीत रहनेछन । सो अवसरमा महासंघ र आइएलओ बीचको सहकार्य, नेपालको पछिल्लो आर्थिक वस्तुस्थिति, रोजगारी, औद्योगिक श्रम सम्बन्ध, सामाजिक सुरक्षा तथा श्रम ऐन लगायत विषयमा समेत विस्तृत छलफल भयो ।

बैठकमा महासंघका अध्यक्ष राणाले आइएलओको सहयोगप्रति आभार प्रकट गर्नुभयो । सो अवसरमा महासंघका अध्यक्ष राणाले देशिय निर्देशक रिचार्डको स्वागत गर्नुहुंदै नेपालको आर्थिक विकास, श्रम सम्बन्ध सुधारमा आइएलओले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । अध्यक्ष राणाले नेपाली निजी क्षेत्र मुलुकभित्र औद्योगिक विकास मार्फत रोजगारी सृजनामा केन्द्रीत भएको, रोजगारदाता एवं श्रमिक बीचको सम्बन्ध सुमधुर बन्दै गएकोले मुलुक अब विस्तारै आर्थिक समृद्धितर्फ अगाडी बढ्ने आशा निजी क्षेत्रले गरेको बताउनु भयो । 

महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष ढकालले आइएलओबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुहुंदै महासंघ आइएलओसंग निरन्तर सहकार्य गर्न तयार रहेको र आइएलओबाट प्राप्त सहयोगबाट महासंघको स्थानीय प्रदेश च्याप्टहरुको क्षमता अभिवृद्धि भई स्थानीय तहमा श्रम सम्बन्धलाई थप मजवुद बनाउन सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो । 

सो अवसरमा देशिय निर्देशक हवार्ड (Dr. Richard Howard, Country Director, ILO) ले महासंघको आवश्यकताका आधारमा आगामी दिनहरूमा पनि थप प्राविधिक सहयोग एवं कार्यक्रमहरू विस्तार गर्दै जाने प्रतिवद्धता जनाउनु भयो । नेपालको औद्योगिक श्रम सम्बन्ध विकासमा महासंघ र आइएलओ निकै लामो समयदेखि सहकार्य गर्दै आएको र आगामी दिनहरूमा पनि निरन्तर सहकार्य गर्दै जाने विश्वास दिलाउनु भयो । 

सो अवसरमा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, उपमहानिर्देशक हंसराम पाण्डे र आइएलओका वरिष्ठ अधिकृत प्रकाश सर्माको उपस्थिति रहेको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by