Feb 24, 2019
आगामी चैत्रको दोस्रो हप्ताबाट काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने (२०७५/११/१२)

नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष आयोजना गरिदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair-NITF) यस वर्ष आगामी चैत्र १४  देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि स्टल बुकिङ खुला भैसकेको र यस वर्षको मेलाका लागि चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बङ्गलादेशबाट ४० वटा र मेलामा नेपाली हस्तकला र एनटीआईएस बस्तुहरूको ५० वटा स्टल बुकिङ भैसकेको कुरा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह-आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०१९ आठौं संस्करण हो । 

मेलाका वारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष भवानी राणाले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न एक सशक्त माध्यम बन्दै गएको बताउनु भयो । 

अध्यक्ष राणाले यस पटक लगानी सम्मेलनमा आउने विदेशी प्रतिनिधि र सार्क क्षेत्रका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत मेला अवलोकनमा सहभागिता हुने र एनआइटीएफ मेलामा नेपालको औद्योगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कूल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । मेलामा नेपाल सहित सार्क मुलुकहरू, चीन, थाइल्याण्ड, म्यानमार लगायतका देशहरूको सहभागिता रहने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान लगायतका देशहरूबाट क्रेताहरू आउने अपेक्षा गरिएको छ ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् । 

महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रूपमा हेरिएको बताउनु भयो । 

महासंघको व्यापार मेला समितिका सभापति दिल सुन्दर श्रेष्ठले मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसंग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानी बारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिव १ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको बताउनु भयो । 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निर्देशक नविन शर्माले महासंघसंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुंदै नेपाल अन्तराष्ट्रिय व्यापार मेला अन्तराष्ट्रिय मंचमा एक स्थापित मेला बन्दै गएको धारणा राख्नु भयो । 

पत्रकार सम्मेलनमा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले धन्यवाद मन्तव्य दिनु हुंदै नेपालको निर्यात प्रवर्द्धनमा मेला सहयोगी हुने विश्वास प्रकट गर्नुभयो ।  

महासंघकै नेतृत्वमा यस वर्ष अघिल्लो वर्षहरूमा जस्तै मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं बस्तुगत गरी करिव ३० देखि ४० वटा मेलाहरू विभिन्न भागमा आयोजना हुदै आईरहेका छन् । केहि मेला सम्पन्न भै सकेका छन् भने केहि तयारी गर्दै रहेका छन् ।

महासंघले सफलतापूर्वक सम्पन्न गरेको अघिल्लो वर्षको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०१८ मा एकलाखभन्दा बढी स्वदेशी एवं विदेशी आगन्तुकहरूले अवलोकन गरेका थिए भने स्वदेशी विदेशी गरी ३ सय ४० जना प्रर्दशीकर्ताहरूबाट वस्तु तथा सेवाको प्रदर्शनी गरिएको थियो । मेलामा चीन, भारत, बंगलादेश, कोरिया, जापान, लगायतका देशबाट खरिदकर्ताहरू आएका थिए । मेलामा नेपाली निर्यात योग्य बस्तुहरूका साथै बहुराष्ट्रिय नेपाली कम्पनीहरूको समेत उल्लेख्य सहभागिता थियो । 

राष्ट्रिय अन्तराष्ट्रियतहमा एउटा विशिष्ठ पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने आशा एवं विश्वास महासंघले लिएको छ । मेलामा जेष्ठ नागरिक र फरकरुपले सक्षम नागरिकहरूलाई निःशुल्क तथा विद्यार्थीहरूलाई उनीहरूको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by