Mar 17, 2019

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको व्यवसायिक प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" समक्ष आज उहाँको निवास खुमलटारमा भेट गर्‍यो ।
 
महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकाल, वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी र सदस्यहरू समेत सहभागी रहनु भएको प्रतिनिधिमण्डलले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको निवासमा केही दिन अघि भएको विस्फोट र तत्पश्चात उत्पन्न व्यवसायिक सुरक्षाका विषयमा ध्यानाकर्षण गरायो ।

प्रतिनिधिमण्डलको तर्फबाट महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले अहिले व्यवसाय गर्ने वातावरण असजिलो भैरहेको बताउनुभयो । लगानी सम्मेलन नजिकिँदै गरेको अवस्थामा देशमा घटिरहेका विभिन्न किसिमका घटनाहरूले व्यावसायीहरू त्रसित भइरहेको उहाँले जानकारी गराउनुभयो ।

महासंघका उपाध्यक्ष ढकालले सुरक्षा लगायत विभिन्न कारणले वैदेशिक रोजगार व्यवसाय संचालन गर्न कठिनाई परेको जानकारी गराउनुभयो ।

सो भेटवार्ताका क्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङले घटनाबारे विस्तृत जानकारी गराउनुहुँदै व्यवसाय संचालनमा समस्या भैरहेको बताउनुभयो । भेटका अवसरमा प्रतिनिधिमण्डलका सदस्यहरूबाट व्यवसाय सुरक्षाको प्रत्याभुति हुनुपर्ने, व्यवसाय गर्न वातावरण सुधार गर्नुपर्ने लगायतका धारणा राख्नु भएको थियो ।

सो अवसरमा नेकपाका अध्यक्ष दाहालले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट समेत समस्याको विषयमा संबोधन गर्ने प्रयास भैरहेको जानकारी गराउनुभयो । सरकार व्यवसाय र व्यवसायीहरूको व्यवसायिक सुरक्षाको निमित्त सदैव संवेदनशील रहेको बताउनुहुँदै व्यवसायीहरूको नोक्सानीको क्षतिपूर्ति दिलाउनका लागि पनि सरकारसँग छलफल गर्ने आश्वासन दिनुभयो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by