Mar 26, 2019
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सम्माननीय प्रधानमन्त्रीबाट चैत्र १४ गते समुद्घाटन हुने, तयारी सम्पन्न (२०७५/१२/१२)

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair-2019) चैत्र १४ गतेदेखि शुरुहुंदै छ । मेलाको सम्माननीय प्रधानमन्त्रीबाट विहीवार विहान ११ बजे भृकुटीमण्डपमा एक विशेष समारोहका बीच समुद्घाटन हुने कार्यक्रम छ । मेलाको सम्पूर्ण तयारी सकिएको महासंघद्वारा आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा मेला आयोजना गर्दै आएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सार्वजनिक निजी साझेदारीको रूपमा स्थापित भैसकेको जानकारी पत्रकार सम्मेलनमा गराइयो । 

पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुँदै महासंघका अध्यक्ष भवानी राणाले नेपाली वस्तुहरुको उत्पादन प्रवर्द्धन, आयात प्रतिस्थापन, निर्यात वृद्धि गर्नुनै मेला आयोजनाको मुख्य उद्देश्य रहेको जानकारी गराउनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु किशोर कुमार प्रधान, चन्द्र प्रसाद ढकालको पनि उपस्थित रहेको कार्यक्रममा अध्यक्ष राणाले महोत्सवको आयोजनामा अन्तराष्ट्रियस्तरीय प्रदर्शनीस्थलको अभाव रहेको बताउनु भयो । प्रदर्शनीस्थल निर्माणमा सरकारको तदारुकता जरुरी रहेको उहाँले औल्याउनु भयो ।  

मेलालाई राष्ट्रिय अन्तराष्ट्रिय रूपमा स्थापित बनाउन क्यालेण्डर इभेन्टको रूपमा आयोजना गर्दै आएको बताउनु हुंदै अध्यक्ष राणाले यस वर्ष मेलाको दौरानमा राष्ट्रिय महत्वको कार्यक्रम नेपाल लगानी सम्मेलन समेत हुने भएकाले मेलाको अझ बढी महत्व बढ्न गएको र सम्मेलनमा सहभागी हुन आउनु हुने विदेशी पाहुनाहरुलाई समेत मेला अवलोकनका लागि प्रयास गरिने जानकारी गराउनु भयो । 

महासंघको व्यापार मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठले मेलाको सम्पूर्ण तयारी सकिएको बताउनु भयो । मेला चैत्र १८ गतेसम्म चल्नेछ । मेलामा चीनबाट ९० वटा, भारतबाट १० वटा, बाङ्गलादेशबाट ४० वटा रहेको छ भने बाँकी नेपाली स्टल रहने छन् । कूल २२५ भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । मेलामा भारत, चीन, बंगलादेश पाकिस्तान लगायतका देशहरूको सहभागिता रहनेछ । 

मेलाकै क्रममा चैत्र १५ गते चीनबाट आएको व्यावसायिक फ्रतिनिधिमण्डलसँग महासंघद्वारा काठमाडौंमा वृहद अन्तरक्रिया, व्यवसायिक वार्ता तथा संयुत्त लगानीका लागि सहमतीपक्रमा हस्ताक्षर समेत गर्ने कार्यत्रम रहेको जानकारी गराइयो । सोही दिन देखि शुरू हुने लगानी सम्मेलनका क्रममा नेपालमा आएका विदेशी उच्च प्रतिनिधिमण्डलबाट समेत मेलाको अवलोकन गराउने कार्यक्रम छ ।    

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् । 

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानी बारे छलफल समेत हुने छ । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिव १ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ । 

राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ठ पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्‍याउने आशा एवं विश्वास महासंघले लिएको छ ।

पत्रकार सम्मेलनमा महासंघको व्यापार मेला समितिका सदस्यहरू, महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी सहित उच्च अधिकृतहरूको उपस्थिति रहेको थियो । मेलालाई चन्द्रागिरी हिल्स, ग्लोबल आइएमई बैंक, चाइना एक्जिविशन एण्ड फोरम कम्पनी लि., न्यूटेक्सको सहयोग रहेको छ । मेलाको अफिसियल आइएसपी मर्कन्टायल कम्पनी प्रा.लि., अफिसियल इन्स्योरेन्स अजोड, अफिसियल कार्गो गणेश एयर कार्गो प्रा.लि. रहेका छन् ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by