Mar 28, 2019
एनआइटीएफको सम्माननीय प्रधानमन्त्रीबाट समुद्घाटन, सरकारले स्वदेशी उद्योगलाई मुख्य प्राथमिकतामा राख्ने प्रधानमन्त्रीको प्रतिवद्धता (२०७५/१२/१४)

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair-2019) राजधानीमा शुरु भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मेलाको एक विशेष समारोहका बीच आज समुद्घाटन गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा मेला आयोजना गर्दै आएको छ ।

समुद्घाटन समारोहलाई संवोधन गर्नुहुंदै प्रधानमन्त्री ओलीले सरकारले स्वदेशी उद्योगलाई विशेष प्रोत्साहन दिने विश्वास दिलाउनु भयो । सरकारले स्वदेशी विदेशी दुवै उद्योग र लगानीलाई आकर्षण गर्नेमा कुनै कसर बाँकी राख्ने छैन, त्यसमा पनि स्वदेशी उद्योगलाई त झनै प्रोत्सान दिन्छ, त्यसमा तपाईहरु ढुक्क हुनुहोस–प्रधानमन्त्री ओलीले भन्नु भयो । 

मुलुकभित्र उद्योग व्यवसायको विकास विस्तार हुनुपर्छ, समृद्ध ल्याउनु पर्छ भन्नेमा म दृढ छु । प्रतिवद्ध छु र सरकार सोहीअनुसार अगाडी बढेको भन्दै प्रधानमन्त्री ओलीले सरकारको आर्थिक विकासको प्रयासमा महासंघको नेतृत्वबाट पाएको सहयोगको प्रशंसा पनि गर्नुभयो । समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सफल पार्ने मुख्य नेतृत्वकर्ता समेत निजी क्षेत्रनै भएको पनि स्पष्ट पार्नुभयो । भोली देखि आयोजना हुने लगानी सम्मेलनलाई सिंगो राष्ट्रनै मिलेर सफल पार्नुपर्ने पनि उहांले बताउनु भयो ।  

त्यसअघि स्वागत मन्तव्य राख्नुहुदै महासंघका अध्यक्ष भवानी राणाले नेपाल अन्तराष्ट्रिय व्यापार मेला मुलुकभिक्र आर्थिक त्रियाकलाप बढाउन एक महत्वपूर्ण माध्यम बन्दै आएको बताउनु भयो । अध्यक्ष राणाले नेपाल लगानी सम्मेलनको पूर्व सन्ध्यामा Show Casing Nepal and The Globe को मुख्य Theme मा Nepal International Trade Fair शुभारम्भ भएको बताउनु भयो । विश्व सामुन्ने नेपाललाई लगानीका लागि मुख्य आकर्षक गन्तव्यको रूपमा पहिचान गराई व्यापार तथा लगानी आकर्षण गर्ने मुख्य उद्देश्यले यो मेला प्रत्येक वर्ष यही समयमा आयोजना गर्दै आएका र यस वर्ष लगानी सम्मेलन पनि यही अवसरमा पर्न गएकाले मेलाको महत्व अझ बढ्न गएको पनि बताउनु भयो । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले मेलालाई नेपालको निर्यात क्षमता बढाउने, स्वदेशी उद्योग बढाउने र स्वदेशी र विदेशी उत्पादकहरु बीच सहकार्य, सहयोग र संयुक्त लगानी विस्तार गर्ने महत्वपूर्ण मंचको रुपमा विकास गर्दै जानुपर्ने सुझाव दिनु भयो । साथै उहांले सरकार पनि मेलाको आयोजक हुन पाएकोमा खुशी प्रकट गर्नुहुंदै सरकारको समृद्धिको अभियानलाई निजी क्षेत्रको पनि दरिलो साथ रहेको बताउनु भयो ।  

कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य दिनुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपाल अन्तराष्ट्रिय व्यापार मेलाले नेपाली उत्पादनहरुको अन्तराष्ट्रिय वजार प्रवर्द्धनमा समेत सघाउ पुरयाउनुको साथै नेपालको व्यापार घाटा कम गर्न मद्दत गर्ने धारणा राख्नु भयो ।  



महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य  एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्षहरु किशोर कुमार प्रधान, चन्द्र प्रसाद ढकालको पनि उपस्थिति रहेको समुद्घाटन समारोहमा महासंघको व्यापार मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठले मेलामा चीनबाट ९० वटा, भारतबाट १० वटा, बाङ्गलादेशबाट ४० वटा र बाँकी नेपाली स्टल रहेको बताउनु भयो । कूल २२५ भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने र मेलामा भारत, चीन, बंगलादेश पाकिस्तान लगायतका देशहरूको सहभागिता रहेको बताउनु भयो । सभापति श्रेष्ठले दिनु भएको मन्तव्यको पूर्ण पाठ यसैसाथ संलग्न छ । समुद्घाटन समारोहमा चिनिया व्यापार तथा वाणिज्य मन्त्रालयका उप–महानिर्देशक Han Shengjian, Deputy Director-General, Trade Development Bureau, Ministry Of Commerce of China ले पनि मेलामा शुभकामना मन्तव्य राख्नु भएको थियो । 

मेला समुद्घाटन समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, महासंघको कार्यकारिणी समितिका सदस्यहरु, राजदूतहरु, उद्यमी व्यवसायीहरु, वंगलादेश, भारतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । समारोहमा महासंघका अध्यक्ष राणाले प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री, माननीय उद्योग वाणिज्य मन्त्रीलाई मायाको चिनो उपहार समेत प्रदान गर्नुभयो । 

थप फोटोको लागि यहाँ क्लिक गर्नु होला ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by